Logo

अनलाइनपाना खोज

राजेन्द्र लिङ्देन माइक्रो बस चालक पनि हुन् !

राजेन्द्र लिङ्देनकाे जीवनी



राजेन्द्र लिङ्देनको जन्म विसं २०२२ मा पाँचथरको अमरपुरमा भएको थियो । सानैबाट राजनीतिमा चासो राखेका लिङ्देनको राजनीतिका पिता भने उनका आफ्नै बुवा रहेका छन् । उनका बुवा पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए । आफ्नै बुवाको सिको गदै उनी राजनीतिमा होमिएका हुन् ।

राजनीतिशास्त्रमा स्नातोकत्तर गरेका लिङ्देनको परिवार भने झापामा रहेको छ । राप्रपा दलको सङ्गठन देशभर बलियो छैन । तथापि लिङ्देनको ’शालीन र शिष्ट’ व्यक्तित्व र साङ्गठनिक कुशलताका कारण झापाका तीन स्थानमा राप्रपा दलले वडा तहको चुनाव जितेका उनका प्रतिद्वन्द्वी राजनीतिक दलका नेताले बताउने गरेका छन् । उनका प्रतिद्वन्द्वीहरू “उनको कमजोरी नेपाली जनताले अस्वीकार गरिसकेको विचार वा सिद्धान्त बोकेर हिँड्नु हो” भन्छन् । उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पदमा उठेर हारेका थिए।

२०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए। त्यस्तै उनी झापाको तत्कालीन गोल्धाप गाविसको वडा नं ३ वडाध्यक्ष भएका थिए।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले नै उनलाई जिविस झापाको सभापतिमा मनोनयन गरेका थिए । २०६२-६३ को जन आन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा राजावादी भएको आरोप लगाउँदै कालो मोसो दलिएको थियो । त्यतिमात्र होइन सशस्त्र द्वन्द्वकालमा माओवादीका कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनी गरेका थिए ।

घर ध्वस्त र जीर्ण भएपछि उनी र उनको परिवार त्यहाँबाट विस्थापित भएर झापाकै बिर्तामोडमा बसोबास गर्दै आएका थिए । पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा–भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको भन्ने कुरा उनको पारिवारिक स्रोतले बताउँदै आएको छ । केही महिना अघिदेखि मात्र उनी गोल्धापको घर मर्मत गरी त्यहीँ बसोबास गर्दै आएका छन् ।

०६२-६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा भने छोडेनन् । उनले आफ्नो भाषणमा राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रबारे कडा अभिव्यक्ति दिने गरेको पाइन्छ ।

त्यसो त लिङ्देन २०७४ सालको संसदीय चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । नेकपा एमालेको समर्थनमा उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्तरले पराजित गरेका थिए । एमालेले उनी उठेको क्षेत्रमा उम्मेदवार उठाएको थिएन । लिङ्देनले उक्त निर्वाचनमा ४४,६१४ मत प्राप्त गरेको र उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।

वर्तमान अधिवेशनमा राजेन्द्र लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याएका छन् । कमल थापाले जम्मा १ हजार ६ सय १७ मत ल्याएका थिए । जसमा चार सय १३ मत बदर भएसँगै राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन् । उनी यसअघि कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल केन्द्रीय समितिका महामन्त्री थिए ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १४:३४   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।