Logo

सम्पादकीय

चिसोले उब्जाएको समस्या



मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, वर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ । सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन् । मौसम अन्तर्गत ः हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन् ।

सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा वर्षाको गतिविधिको रूपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधिको अवस्थालाई जनाउँछ । सङ्क्षेपमा वातावरणमा हुने क्षण–क्षण को परिवर्तन नै मौसम हो । मौसम परिर्वतनको तुलनामा नेपालमा जाडो मौसममा समस्या धेरै नै आउने गरेको छ । वर्षाको मौसममा जनधनको क्षति धेरै हुन्छ भने जाडो मौसममा भने स्वास्थ्य सम्बन्धी समस्याहरू देखा पर्दछन् ।

जाडो मौसम सुरु भएसँगै मानिसको स्वास्थ्यमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्याहरू देखिन थाल्दछन् । विशेष गरी बालबच्चा, वृद्धाहरू र श्वास प्रश्वास सम्बन्धी समस्या भएकाहरूले विशेष ध्यान दिनु पर्दछ । जाडो मौसममा विशेषतः चिसोबाट जोगिनु पर्दछ । मानिसको उमेर बढेसँगै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । त्यसकारणले वृद्धावृद्धाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ ।

चिसो मौसममा धुवा धुलोले ब्याक्टेरिया इन्फेक्सनले गर्दा रुघाखोकी लाग्ने हुन्छ । साना बच्चाहरूलाई निमोनिया हुन्छ । त्यसकारण विशेष गरेर बच्चाहरूलाई जाडो मौसममा न्यानो बनाउने, तातो खानेकुरा खुवाउने, धुलो, धुवाबाट बचाउनु पर्दछ ।

विशेषतः सबै उमेरका मानिसहरूले चिसो मौसममा धुलो धुवाबाट बच्नु पर्ने हुन्छ । अनिवार्य रुपमा तातो खानेकुरा खानु पर्दछ । तातोपानी पिउने, न्यानो लुगा लगाउने र स्वास्थ्यमा समस्या आएमा चिकित्सकको सल्लाह लिएर औषधिको प्रयोग गर्नु पर्दछ । चिसो मौसममा खोकी लाग्ने, घाँटी दुख्ने, रुघा लाग्ने, श्वास फेर्न गाह्रो हुने, हाँच्छिउ आउने, जीउ दुख्ने समस्या देखिन्छ ।

त्यसो त अहिले कोरोना महामारीले गर्दा मानिसहरू धेरै त्रसित छन् । कोरोना रोगको लक्षण र सिजनल फूलु एकै प्रकारको हुने भएकाले मानिसहरूलाई सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भयो भनेर डराएको पाइन्छ । त्यसकारण यो समयमा मानिसहरू धेरै भिडभाड भएको स्थानमा नजाने, माक्सको प्रयोग गर्ने, न्यानो र सुरक्षित भएर आफ्नो दैनिकी कामकाज गर्नुपर्ने हुन्छ । जाडो मौसममा रुघाखोकी लागिरहन्छ । सामान्य रुघाखोकी लाग्दा आत्तिनु पर्दैन ।

चिकित्सकको सल्लाह लिने, औषधी सेवन गर्ने, नुन पानीले बाफ लिने, सकेसम्म घरेलु विधिले रोग नियान्त्रण गर्ने उपाय अपनाउनु पर्दछ । तातो खानेकुरा खानु पर्दछ । घाम ताप्ने हो भने पनि भिटामिन ‘डि’ को कमी हँुदैन र न्यानो पनि हुन्छ ।

जाडोमा हामीले गर्ने अर्को गल्ती नानाथरी क्रिम र लोसनको प्रयोग हो । छालालाई चिल्लो बनाउनु राम्रो भए पनि चिकित्सकको सल्लाहबिना जथाभावी मोस्चराइजेसन गर्नु उचित होइन । जथाभावी लोसन दल्दा छालाको एलर्जी हुनुका साथै छालासँग सम्बन्धित अन्य रोग लाग्न सक्छ । त्यसलै हर मौसममा हामी आफ्नो स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ११:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।