Logo

अनलाइनपाना खोज

कांग्रेस महामन्त्री शर्मा श्रीमतीसँग पनि माइन्युट नै गरेर गर्छन् मिटिङ !



नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेस भित्र कति लोकप्रिय रहेछन् भन्ने कुरा उनले प्राप्त गरेको मतबाट बुझ्न सकिन्छ ।

गगन थापाले महामन्त्रीमा जित्नु र विश्वप्रकाशले महामन्त्री जित्नुमा आकाश पातालको फरक छ भन्ने कांग्रेसजनहरु प्रशस्तै छन् । थापाले बलियो टीमबाट टिकट पाएका थिए । प्यानलको भोटमा आफ्नो लोकप्रिय मत मिसाउँदा उनको जित स्वाभाविक थियो तर विश्वप्रकाशले गुटको दायरा भत्काएर प्रतिनिधीको मन जितेर मत पाएका थिए ।

प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीका उमेदवार बनेका शर्माले आफ्नो प्यानलको सभापतिको उमेदवारले ३०० मत कटाउँन हम्मे परेका बेला झण्डै २००० मत ल्याएर महामन्त्रीमा बाजी मारेका छन् । व्यक्तिको व्यक्तित्वका अगाडि गुटको पर्खाल सजिलै भत्किन सक्ने रहेछ भन्ने कुराको प्रमाणित उनले गरेका छन् ।

शर्मालाई नेपाली कांग्रेस भित्र सानो विपीको नामले पनि चिनिन्छ । विशेश्वर प्रसाद कोइराला र विश्वप्रकाश शर्माको सटकट नाम विपी हुन्छ । त्यत्ति मात्रै होइन उनको आनीबानी र आचरण पनि विपी कोइरालासँग मिल्ने खालको छ । सादा जीवन र उच्च विचार राख्ने शर्मा आफ्नो राजनीतिक जीवनको आर्दश पनि विपी कोइरालालाई नै मान्छन् ।

विपी कोइरालालाई जेलमा राखिएको ठाउँ सुन्दरीजलमा गएर कांग्रेस महामन्त्रीको उमेदवारी घोषणा गरेका शर्माले महामन्त्रीमा बिजयी भएपछि सुन्दरीजलमै पुगेर विपीको आदर्श अनुरुप काम गरेर कांग्रेसको मात्रै होइन देशकै मुहार फेर्ने कसम खाएका छन् । मिठो आवाजमा बोलेर प्रभावित पार्न सक्ने बेजोडको खुबि उनीसँग छ ।

कांग्रेस पार्टीभित्र लोकप्रियताको पकड जमाउँन सफल शर्माको पारिवारिक जीवन पनि निकै रोचक र चाखलाग्दो रहेको पाइएको छ । व्यक्तिगत जीवन सुन्दर र सुखि हुन सक्यो भने त्यसले सामाजिक जीवनलाई पनी फरक पार्दछ भनिन्छ शर्माको परिवारले झट्ट सुन्दा अनौठो लाग्ने अभ्यास गरिरहेको छ ।

विश्वप्रकाश शर्माको परिवारमा माइन्युटनै गरेर मिटिङ बस्ने गरेको खुलासा भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी श्रीमती कविता शर्माले यस्तो रोचक खुलासा गरेकी हुन् । उनका अनुसार शर्मा परिवारमा एक महिना या दुई महिनामा आवश्यकता अनुसार पारिवारिक मिटिङ बस्छ त्यो पनि माइन्युट नै गरेर ।

महिना भरि एक अर्कालाई उसका बारेमा नराम्रा लागेका कुरा या कम्प्लेनहरु केहि छ भने अरु समयमा नभन्ने र मिटिङमा नै छलफल गर्ने गरेको विश्वकी श्रीमती कविताले बताएकी छिन् । कसको के कमजोरी भयो छलफल गर्ने र अब देखी यस्तो गल्ती नगर्ने भनेर लिखित निर्णय नै गर्ने गरिएको उनले बताएकी छिन् । यस्तो बैठकमा उनीहरुले आफ्नी छोरीलाई पनि राख्ने गरेका छन् ।

श्रीमती कविताका अनुसार श्रीमान श्रीमतीका मात्रै नितान्त व्यक्तिगत विषयमा भने एनिभर्सरी भन्दा अघि श्रीमान श्रीमतीको मात्रै छुट्टै बैठक बस्छ त्यसमा बर्ष भरिका तिता मिठा कुराहरु गर्ने र बाँकी एक बर्ष केहि गुनासो नगर्ने । यसो गर्दा घर परिवारमा केहि समस्या नहुने सँधै हाँसी खुशि परिवार रहने उनले बताएकी छिन् ।

घरमा श्रीमती सँग समेत लिखित रुपमा माइन्युट गरेर बैठक गर्ने शर्माले नेपाली कांग्रेसमा पनि माइन्युटनै गर्नुपर्ने जिम्मेवारी पाएका छन् अब उनले कांग्रेस कसरी चलाउँछन् भन्ने प्रतिक्षाको बिषय बनेको छ ।

प्रकाशित मिति : ३ पुष २०७८, शनिबार २१:११   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।