Logo

प्रमुख समाचार

मोर्डना खोप अभियान सुरू, मन्त्री खतिवडाले गरे हेटौंडाबाट उद्घाटन



१२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट खोप सुरू भएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।

नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । मन्त्री खतिवडा रहोवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्रा विनिताकुमारी र एक छात्र संगम खत्रीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ ।
देशभरका ५७ वटा जिल्लामा आजबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए । मकवानपुर मन्त्री खतिवडाको गृह जिल्ला पनि हो भने उनी सोही स्कुलमा अध्ययन गरेका थिए । देशभरको केन्द्रविन्दु बनाएर हेटौंडाको भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।

मन्त्री खतिवडाले हाल कोरोना विरुद्धको खोप प्रयाप्त रहेको तर खोप लगाउन मानिस नआउने गरेको गुनासो गरेका छन् । खोपले कसैलाई पनि हानी नगर्ने भन्दै उनले आफूलाई सुरक्षित राख्न खोप लगाउन पर्ने जिकिर गरेका छन् । हामीसँग प्रयाप्त मात्रामा खोप छ । कुनै पनि ठाउँमा खोप अभाव छैन । तर, खोप लगाउन मान्छे नै आउँदैनन् । सबै स्कुल स्कुलमा हामीले खोप कार्यक्रम पुराउँने संयन्त्र तयार पारेका छौं । तपाईहरु ढुक्क भएर खोप लगाउनुस् र घरमा गएर आफ्ना आफन्तहरूलाई जसरी पनि खोप लगाउन वातावरण बनाएर सरकारलाई सहयोग गर्नुहोला ।’ भन्दै उनले आग्रह समेत गरेका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आजबाट बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू भएको र अन्य जिल्लामा पनि छिटै नै खोप अभियान सुरु गरिने बताएकी छन् । सबै जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई खोप लगाउने उनले बताइन् । अहिले खोप पुगेका देशभरीका विद्यालयहरुमा मोर्डना खोप लगाउने कार्यक्रम भैरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १ : ३६ बजे