Logo

अनलाइनपाना खोज

अर्बपति विनोद चौधरीको राजनीति यात्रा (जीवनीसहित)



विनोद कुमार चौधरीको जन्म : वि.सं. २०१२ वैशाख १ मा काठमाडौँमा भएको हो । उनी एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन् । उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन् । त्यसो त उनका हजुरबुबा, भुरामल दास चौधरी एक उद्यमी थिए जसले कपडा व्यवसाय सुरु गरेका थिए । उनका बुबा पनि एक व्यवसायी थिए जसले आफ्ना बुबाको व्यवसायलाई अझै विकसित गरेका थिए । आफ्नो व्यापारिक जीवनको सुरुवातमा, चौधरीले पारिवारिक व्यवसायमा सामेल हुनुभन्दा थप शिक्षा लिने निर्णय गरेका थिए ।

वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो । वि.सं. २०६९ सालदेखि नै उनको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ ।

वितरण, खुद्रा, मनोरञ्जन र निर्माणमा केन्द्रित आफ्नो व्यवसायहरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र चलचित्र निर्माण समेत गरेका छन् । उनी फोर्ब्सको सन् २०१९ को अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा रहेका छन् । सञ्चार माध्यमहरूको अनुसार, उनी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ ।

उनका हजुरबुबा भुरामल दास चौधरी १९ औँ शताब्दीमा राजस्थान, भारतबाट नेपाल बसाइँ सरेका थिए । २० वर्षको उमेरमा उनी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरेका थिए । केही वर्ष पश्चात्, अर्थात् वि.सं १९९० को महाभूकम्पपछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए । उनका बुबा लुनकरन दास चौधरीले कपडा व्यवसायको विकासलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक भवन निर्माण कम्पनीको पनि स्थापना गरेका थिए ।

वि.सं. २०२४ सालमा लुनकरणदास चौधरीले खुद्रा भण्डार अरुण इम्पोरियमको स्थापना गरेका थिए जुन उनको सबैभन्दा सफल उद्यम थियो । अठार वर्षको उमेरमा विनोद चौधरीले चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले उनलाई उनका पिताले परिवारको व्यवसाय चलाउन असमर्थ रहने बताएका थिए । परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए ।

चौधरी ग्रुप कसरी सुरु भयो ?

चौधरी ग्रुप एक व्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए । यो व्यापारिक समूहद्वारा सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयारी चाउचाउको ब्रान्ड ‘वाइ वाइ’लाई यस कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ । चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए । थाइल्यान्डको कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भएको थियो ।

उनले चाउचाउ उत्पादन गर्नको लागि काठमाडौँमा एउटा उत्पादन कारखाना समेत निर्माण गरेका थिए । नेपालमा वाइवाई चाउचाउको बिक्री वितरण गर्नु अगाडि उनले थाइल्यान्ड भ्रमण गरेका थिए जहाँ उनले वाइवाइ चाउचाउ निर्माता कम्पनीसँग सम्झौता गरेका थिए । उनी कम्पनीसँग मिलेर काम गर्न चाहन्थे, तथापि मूल कम्पनीले वाइवाइलाई नेपालमा ल्याउने कुरामा विश्वस्त हुन सकेका थिएनन् । कम्पनीसँगको सहकार्यमा उनले चाउचाउ निर्माण प्रक्रियाको समेत अध्ययन गरेका थिए ।

सुरुमा उनले जापानको सुजुकी कार नेपालमा आयात गर्ने निर्णय गरेका थिए । एक युवा कपडा व्यवसायी भएकोले सुजुकीले उनीमाथि विश्वास नगरेको उनले लेखेका थिए र उनले कम्पनीलाई विश्वस्त बनाएको बताएका थिए । सुजुकी कम्पनीले उनीसहित अन्य चारजनालाई परिक्षणको रूपमा सुजुकीको कार नेपालमा बेच्ने निर्णय गरेको थियो । ६ महिनामा सबैभन्दा धेरै कार बिक्री गराउनेलाई सुजुकीले विक्रेता बनाउने निर्णय गरेको थियो । चौधरीले पछि, जापानी विद्युतीय बहुराष्ट्रिय कम्पनी पानासोनिकसँग एउटा सम्झौता गरेका थिए जुन उनको पहिलो बहुराष्ट्रिय सम्झौता थियो ।

वि.सं २०६९ सालमा, अमेरिकी पत्रिका फोर्ब्सले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए । सन् २०१९ मा, फोब्र्सले सार्वजनिक गरेको सूचीमा उनी १,३४९औँ स्थानमा उक्लिएका थिए । चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोर्ब्स एसियाको आवरण पृष्ठमा देखा परेका थिए । सन् २०१८ मा, उनको सम्पत्ति २० करोड अमेरिकी डलरले वृद्धि भएको थियो । उनका अनुसार, चौधरी ग्रुपमा ७,००० मानिसहरू आवद्ध रहेको र यसको सञ्जाल विभिन्न १९ देशहरूमा रहेको बताएका थिए ।

विनोद चौधरी लेखक पनि हुन् ?

वि.सं. २०६९ सालमा, चौधरीले “विनोद चौधरीः आत्मकथा” शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए । पछि पत्रकार सञ्जीव घिमिरेले यस पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए । पुस्तकलाई भारतमा एक ‘उँची उडान’ शीर्षक अन्तर्गत प्रकाशित गरिएको थियो। यस पुस्तकलाई चार वर्षभन्दा बढी समय लगाएर लेखिएको बताइएको थियो जहाँ यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ । उनले आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन् । नेपालय प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४ सय २५ रहेको छ ।

राजनीतिमा उनको यात्रा

सन् १९७९ मा उनको पहिलो बहुराष्ट्रिय सहयोगका लागि नेपाल सरकारको इजाजत पत्र आवश्यक परेको थियो त्यसबेला तात्कालिक समयमा सूर्यबहादुर थापा सत्तामा रहेका थिए । थापाले चौधरी र उनका बुवालाई “पञ्चायत शासन कायम गर्ने अभियानको लागि आर्थिक सहयोग गर्न” सल्लाह दिएका थिए भने उनीहरूले थापाको राजनीतिक अभियानलाई समर्थन गर्ने निर्णय गरेका थिए । उनको पतन पछि चौधरी धीरेन्द्र शाहको सम्पर्कमा रहेका थिए ।

वि.सं. २०४६ अर्थात् पहिलो जनआन्दोलनपछि उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा–एमाले) सहित संसदीय दलहरूसँग नजिक भएका थिए ।

वि.सं. २०५० मा उनी आर्थिक नीतिको मस्यौदामा काम गर्नमा संलग्न भएका थिए जसले गर्दा उनी वि.सं. २०६४ मा नेकपा (एमाले) पार्टीले मनोनित गरेको संविधान सभाको सदस्य बनेका थिए । उनी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा–एमाले) को प्रतिनिधित्व गर्दै नेपालको संसदको सदस्य थिए । वि.सं. २०६४ सालमा एमालेले उनलाई सभासद बनाएको थियो । प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उनी काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

वि.सं. २०७४ सालमा उनी एमाले छाडेर शेरबहादुर देउवाको नेतृत्वमा रहेको काङ्ग्रेसमा आवद्ध भएका थिए । संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए । नेपाली काङ्ग्रेसका अनुसार, यसमा आवद्ध भएका उनले दलमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

त्यसरी नै नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी विजयी भए । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा थिए । अर्बपति उद्योगपति चौधरीले दोस्रो स्थानमा रहँदै जित हाँसिल गरेका हुन् ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १४:४७   :  बजे

501
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।