Logo

अनलाइनपाना खोज

हिजो र आज : ‘हाम्रो पात्रो’ हामीहरूकै हो !

‘हाम्रो पात्रो’ तिथि मितिको सुपरर्माकेट



समयले कोल्टे फेरेको धेरै नै भयो । हामी अहिले अत्याधुनिक प्रविधिको सङ्घारमा छौँ । समयले हामीलाई उसकै गतिमा बगाउँदै लग्यो । हामी समयसँग हिँडेका होइनौँ हामीलाई त खासमा समयले आफ्नो नियमअनुसार हिँडाएको हो । यही हिँड्ने क्रममा बानर प्रजातीबाट हामी यहाँसम्म आइपुगेको तथ्य के कति सत्य हो भन्ने कुरा सायदै विज्ञानले जिम्मा लिएको छ ।

हजुरबुवाहरूझैँ नाति आजकाल छैनन् । नाङ्गो आँखाले घाम हेरेर समय भन्ने हाम्रा हजुरबुवो समय आज कुनै लोककथा जस्तो लाग्न थालेको छ । घण्टाघर बूढो भएको छ कारण उही हो आधुनिकता । समय पहिलेको जस्तो रहेन । समय अर्कै भयो । हामी त्यही समयको फेरो समाएर प्रविधिको टाउकोमा उक्लिएर संसार हेर्न सक्ने भएका छौँ । यो नै हाम्रो लागि गौरवको विषय रहेको छ ।

समयले हर कुरा ल्यायो । कति बज्यो भनेर आकाशको घामलाई हेर्दै अनुमान लगाउनु परेन । आज कुन बार भनेर कसैलाई सोभ्नु परेन । यतिसम्म कि पूर्णिमा र औँसी कहिले रहेछ भनेर गाउँको मुखिया वा जमिनदारको घर भएको भित्तेपात्रो हेर्ने समय सेलाएको धेरै भयो । अचम्म लाग्ला तपाईँलाई तर वास्तवमा गाउँमा यस्तै नै हुन्थ्यो । बार र गते कण्ठ भए पनि महिनाको फेरबदलमा गते कसरी छुट्थ्यो थाहा हुँदैन थियो ।

आएको हाम्रो जमात आजकाल ‘हाम्रो पात्रो’ मा आइपुगेको छ । ‘हाम्रो पात्रो’ भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा मोबाइलमा देखिने रातो कलरको एप्लिकेसन याद आउँछ ।

अँध्यारोले आफूलाई बाक्लो बनाउँदै लैजाँदा – औँशी आउन लागेछ र त्यही अँध्यारोले आफूलाई पातलो बनाएर उज्यालो छर्दै हिँड्दा पूर्णिमा आउन लागेछ भनेर अनुमान गर्ने समय अब बाँकी छैन । सकिएको छ । यति नै गते औँशी हो र यति नै गते पूर्णिमा हो भनेर तोक्नलाई चाहिँ कि मुखियाको घर कि पण्डितको घर पुग्नुपर्ने अवस्थाबाट गुज्रेको हाम्रो समाजले आजको प्रविधिलाई पनि सहजै स्वीकारेको छ ।

गोजी पात्रो, भित्ते पात्रो हुँदै परिस्कृत हुँदै आएको हाम्रो जमात आजकाल ‘हाम्रो पात्रो’ मा आइपुगेको छ । ‘हाम्रो पात्रो’ भन्ने बित्तिकै हाम्रो मस्तिष्कमा मोबाइलमा देखिने रातो कलरको एप्लिकेसन याद आउँछ । हरेक कुरामा सहजता पुर्याएको ‘हाम्रो पात्रो’ ले देशमा मात्र नभई विदेशमा पनि आफ्नो वच्र्वश कायम गर्न सफल रहेको छ । हजुरआमाको हातमा मोबाइल, अक्षर चिन्न जान्नुभयो भने पात्रो हेरिहाल्नु हुन्छ । हजुरबुवाको हातमा मोबाइल हेर्दै भन्नुहुन्छ “घाम हेर्ने दिन गए अब” । ‘हाम्रो पात्रो’ ले धेरै कुरा सहज बनाएको छ ।

यसरी धेरै कुरामा सहज बनाउने व्यक्ति भने शङ्कर राज उप्रेती रहेका छन् । नयाँ केही गर्नुपर्छ, नयाँ केही गर्नुपर्छ भन्ने कुरा मनमा लिएर केही नयाँ गर्ने लक्ष्य साँचेका उप्रेतीले आफ्नो सपनालाई भने सन् २०१० मा पूरा गरे । ‘हाम्रो पात्रो’ आजभन्दा १२ वर्ष अगाडि जन्मेको हो । इतिहासमै पहिलो पटक ५० लाख भन्दा बढी पटक अभिभारण भएको यो नेपालको सर्वाधिक लोकप्रिय एप्लिकेसन समेत हो ।

हाम्रो पात्रोले ‘यसमा सबै छ’ भन्ने नारालाई अवलम्बन गरेको छ । यसको एप खोल्दा साँच्चै नै यसमा सबै छ भन्ने महसुस हुनु कुनै नौलो कुरा भने होइन । वास्तवमा यस एपमा सबै नै रहेको छ ।

दूरदराजमा भएका युवा जो इन्टरनेटबाट टाढा थिए तर मोबाइलले उनीहरूलाई आफ्नो बनाइरहेको बेला सन् २०१८ फिफा विश्वकपको सम्पूर्ण खेलहरूको तालिकाको साथसाथै सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण गर्यो र सन् २०१९ क्रिकेट विश्वकपको सम्पूर्ण खेल अङ्कहरू प्रत्यक्ष रूपमा अद्यावधिक गर्यो त्यसपछि लगत्तै २०७४ को स्थानीय चुनावमा विशेष प्रस्तुति सुरु गरेपछि हाम्रो पात्रा धेरै युवाको नजरमा परेको थियो । यस एपले विशेष प्रायोजनका लागि द भ्वाइस अफ नेपालसँग पनि सहकार्य गरेको तथ्याङ्क छ । तत्काल सन्देश सेवा भाइबरले हाम्रो पात्रोसँग साझेदारी गर्दै ‘हाम्रो राशिफल’ प्रारम्भ गरेको थियो । जसका कारण राशिफलमा चासो राख्नेले यस एपलाई खुसीसाथ प्रयोग गर्दै आएका छन् ।

तर ‘हाम्रो पात्रो’ को कथा भने यत्तिकैमा सकिँदैन । ‘हाम्रो पात्रो’ले न्यूज २४ सँगको सहकार्यमा समसामयिक विषयको सान्दर्भिकता प्रस्ट्याउन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन ‘ताली वा गाली’ नामक जनमत कार्यक्रम सुरु गरेको थियो । जुन जनमत अत्याधिक रुचिाइएको थियो । त्यसैगरी यसले २०७७ बैशाखमा श्रव्य दृश्य मार्फत चिकित्सकहरूसँग परामर्श लिन एनसेल चिकित्सकलाई सम्पर्क गर्नुहोस् नामक सेवा सञ्चालन गरेर आम जनतालाई सेवा प्रदान गरेको थियो ।

नेपाल चिकित्सक सङ्घ र एनसेलसँग सहकार्यमा घरमै बसी कोरोना विषाणु सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव आदनप्रदान गर्न यो सेवा सुरु गरिएको थियो कुरा सम्पादक सुदिना गौतम बताउँछिन् । साथै हाम्रो पात्रोले चिकित्सकसँग परामर्श लिनको लागि समेत हाम्रो स्वास्थ्य अन्तर्गत काम गर्दै आएको कुरा गौतम थप्छिन् ।

विदेशमा बस्नेहरूको लागि हाम्रो रेमिट, हाम्रो रिचार्ज, हाम्रो गिफ्टको पनि सेवा हाम्रो पात्रोभित्र रहेको छ । सन् २०१० मा नै हाम्रो पात्रोको सुरुवात भए पनि सन् २०१२ मा मात्र एन्ड्रोइड संस्करणमा हाम्रो पात्रो निमार्ण भएको थियो । त्यसैगरी यस टोलीले सन् २०१६ मा, ‘हाम्रो नेपाली अङ्ग्रेजी शब्दकोश’ जारी गरेको थियो । जुन शब्दकोशले विद्यार्थी वर्गलाई अध्ययनको क्षेत्रमा अत्याधिक मदत गरेको थियो ।

हाम्रो पात्रोको प्रारम्भिक संस्करणभन्दा हालको संस्करण निकै फरक रहेको देखिन्छ । अमेरिकी कम्पनी गुगलले प्रतिपादन गरेको सामग्री बनोटलाई हाम्रो पात्रोले अनुसरण गरेको छ जसको मद्दतले यो सुस्त इन्टरनेटमा पनि राम्रोसँग कार्यहरू सञ्चालन गर्दछ । जसले गर्दा हाम्रो पात्रोको चर्चा गाउँ गाउँमा रहेको छ । एप्लिकेशनको फस्ट लुक्समा सबैभन्दा माथि आजको मिति, चाडपर्व, रेडियो तथा समाचार, राशिफल, विनियम दर आदि समावेश छन् ।

हाल ‘हाम्रो पात्रो’ मा मिति रूपान्तरक, राशिफल, अनलाइन ज्योतिष कुण्डली, विदेशी विनियम दर, नेपाली अङ्ग्रेजी शब्दकोश, तरकारीको दर, सुनचाँदीको भाउ पनि रहेको छ ।

पात्रो मात्रै देखाउने यस एप्लिकेशनमा हालसम्म धेरै सुविधाहरू थप गरिएको छ । हाल ‘हाम्रो पात्रो’ मा मिति रूपान्तरक, राशिफल, अनलाइन ज्योतिष कुण्डली, विदेशी विनियम दर, नेपाली अङ्ग्रेजी शब्दकोश, तरकारीको दर, सुनचाँदीको भाउ पनि रहेको छ । यसले नेपाली अङ्ग्रेजी शब्दकोशको नयाँ संस्करण पनि जारी गरेको छ । यसभन्दा अगाडि हाम्रो पात्रोले नेपाल लोडसेडिङ तालिका पनि सेवामा समावेश गरेको थियो तथापि, नेपाललाई लोडसेडिङ मुक्त घोषण गरेसँगै यसले उक्ति सुविधा हटाएको थियो । यसका अतिरिक्त यसले ८५ वटा समाचार वेबसाइट, ५०० भन्दा बढी रेडियोहरूसँग पनि सहकार्य गरेको छ । कहाँ कसले के भन्यो ? कहाँ कसले एक लेख्यो भनेर छानी छानी न्युज पोर्टल छान्ने झन्झट हाम्रो पात्राले मेटाइदिएको छ । समग्रमा नेपालीको लागि हाम्रो पात्रो सुपरर्माकेट झैँ छ ।

त्यतिमात्र कहाँ हो र, हाम्रो पात्रोमा कुन चार्ड वा दिवस कहिले पर्छ किन मनाइन्छ र कसरी मनाइन्छ भन्ने बारेमा विस्तृत जानकारी समावेश गरिएको छ । कुन चाड वा दिवस कति दिन पछि पर्छ भन्ने बारेमा पनि यसले जानकारी प्रस्तुत गर्दछ । विभिन्न चाडपर्व, महत्त्वपूर्ण मितिहरूको बारेमा विस्तृत जानकारी हाँसिल गर्न मिल्ने सुविधा यसमा समावेश भएको छ ।

भोलि घाम लाग्छ कि लाग्दैन वा पानी पो पर्ने हो कि भनेर टाउको उठाएर आकाश हेर्नुपदैन । बरु टाउको निहुराएर मोबाइलमा हाम्रो पात्रो हेरे पुग्छ किनकि हाम्रो पात्रोसँग नेपाल अधिराज्यका १५ हजार सहर समेटिएका छन् जहाँ मौसमको जानकारी दिइन्छ ।

सुनको भाउ बुझ्न छाता ओडेर बजारसम्म पुग्नु पर्दैन । तरकारी किन्न यति पैसा भए पुग्छ भन्ने अनुमान लगाउन हाम्रो पात्रो हेरे पुग्छ । ग्रह दशा किन यस्ता भए ज्योतिषलाई देखाउन हुन्थ्यो तर चिना हराएको छ भन्दै बस्नु पर्दैन किनकि हाम्रो पात्रोले नै चिना बनाएर तपाईँको ग्रहदशा हेर्छ । कुण्डली मिलान गर्छ । लगभग हाम्रो पात्रोमा ४ जना ज्योतिष त तुरुन्तै उपलब्ध रहने व्यवस्था छ । अनि छैन त सजिलो ?

यसैगरी यस सेवा मार्फत प्रयोगकर्ताहरूले नयाँ अथवा प्रयोग गरिएका सामान, सवारी साधन, मोबाइल, घर–जग्गा, घडी अथवा अन्य उपयोगी सामग्रीहरू खरिदबिक्री गर्न सक्दछन् । २०७६ मङ्सिर सम्ममा यसमा तीन हजार भन्दा बढी प्रयोगकर्ताहरू दर्ता भएका थिए भने त्यतिबेलासम्म यो सुविधा काठमाडौँमा मात्र सीमित थियो । प्रत्यक्ष रूपमा कुनै पनि सामान अथवा सेवा सिधै खरिदकर्ताले बिक्रेतासँग र बिक्रेताले खरिदकर्तासँग सम्पर्क गरी कारोबार गर्न सकियोस् भन्ने अभिलाषाका साथ यसलाई सृजना गरिएको थियो । यसलाई ‘हाम्रो मार्केट’ (अनुवादित – हाम्रो बजार) नामकरण गरिएको थियो ।

हाम्रो पात्रो बजारमा आएपछि हामीलाई हाम्रै लागि निकै सजिलो भएको छ । हाम्रो पात्रोमा ४० भन्दा बढी सदस्य कार्ययरत रहेका छन् । उनीहरू मिहेनतले यस एप्लिेकसनले आगामी दिनमा आम जनताको दैनिकीलाई अझ चुस्त बनाउने सम्भावना आजका दिनसम्मको प्रयोगले बताउँछ ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १३:१७   :  बजे

537
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।