स्थानीय सरकारको कार्यकाल अब लगभग अन्तिम चरणमा आइपुगेको छ । त्यसो त नेपालमा ७ सय ५३ वटा पालिका छन् । कतिपय पालिकाहरूले जनतालाई प्रतयक्ष लाभ हुने कामहरू गरेर विकाशमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केही पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथास्थितिमा छन् । पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारबाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिाणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ ।
सुर्खेत जिल्लाको सदरमुकामको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको पूर्वि क्षेत्रमा अवस्थित यो नगरपालिका जिल्लाको दोश्रो नगरपालिकाको रुपमा रहेको छ । यो नगरपालिका वि.सं. २०७१ साल मंसीर १६ को नेपाल सरकारको निर्णयअनुसार साविक छिन्चु, रामघाट र मैनतडा गाविसहरु मिलेर बनेको हो । भुपेन्द्र बहादुर चन्द यस नगरपालिकाका नगर प्रमुख हुन् ।
यसै सन्दर्भमा सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दसँग नगरपालिकामा यो कार्यकालमा भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
भेरीगंगा नगरपालिकामा विकास गति कसरी आगडि बढिरहेको छ ?
स्थानीय तहमा धेरै सानातिना विकासका कामहरू हुन्छन् । हामीले सिचाइँ, खानेपानी, सडक, पुल, शिक्षा, स्वास्थ्यजस्ता पुर्वधारहरू निर्माणमा जोड दिएका छौं । कतिपय योजनाहरू सम्पन्न भइसकेका छन् । धेरै योजनाहरू सम्पन्न हुने क्रममा छन् । हाम्रो नगरपालिकामा १३ वडाहरू रहेका छन् । सबैमा वडा कार्यलय भवनहरू बनाएका छौं । सबै वडाहरूमा स्वास्थ्य चौकी भवनहरू पनि हामीले बनाएका छौं । हाम्रो सबै वडाहरूमा सडक सञ्जाल जोडिएको छ ।
कोरोना महामारीको नियनत्रण कसरी गर्दै आउनुभएको छ ?
नगरपालिकाको विकास निर्माणमा कोरोनाले हामीलाई धेरै प्रभावित पारेको हो । हाम्रो पालिका कर्णाली प्रदेशको मुलद्वार नै हो । कोरोनालाई नियन्त्रण गर्न लागि पर्दा हाम्रो समय धेरै खर्च भएको छ । हामीले स्वास्थ्य सामग्री वितरण गर्ने, स्वास्थ्य नियमहरू पालना गरेर सतर्क रहन प्रचार प्रसार गर्नेदेखि पालिकामा नौ वटा क्वारेन्टाइन बनाएको हो । संक्रमण भएकाहरूलाई उपचार गर्न सबै व्यवस्थाहरू मिलाएको हो । कोरोना अस्पताल पनि हामीले तयार गरेका छौं । यसरी हामीले भेरी गंगा नगरपालिकामा कोरोना वृद्धि हुन दिएनौं । हामीले बचाउने कोसिस गर्दागर्दै पनि विदेशबाट आएका र यहाँका गरी २३ जनाको कोरोनाका कारण मृत्यु भयो । अहिले नगरपालिकामा संक्रमितको संख्या शून्य भएको छ ।
यो कार्यकालमा कस्तो चुनौतीको सामना गर्नुभयो ?
जनताको आकांक्षा धेरै हुन्छन् । स्थानिय सरकार भएपछि हामीले भेरीगंगालाई समृद्ध बनाउने सोचले हामी आएको हो । समृद्ध हुनको लागि आर्थिक पाटो नै बलियो हुन जरुरी हुन्छ । आर्थिक पाटो बलियो नहुँदा विकास गर्न धेरै समस्याहरू आउँदा रहेछन् । हाम्रोका आन्तरिक आयस्रोत एकदमै कम हुन्छ । त्यसो हुनाले केन्द्रबाट आएको बजेटले मात्रै चौतर्फी विकास गर्न धेरै चुनौती भयो । यी समस्याहरूलाई समाधान गर्दै हामीले राम्रो कामहरू गरेका छौं । म यो कार्यकालबाट पूर्णरूपमा भने सन्तुष्ट छैन् । कतिपय कामहरू बजेट अभावको कारणले चाहेर पनि गर्न सकिएन् । ठूला योजनाहरू गर्न सकिएन ।
प्रदेश सरकार, केन्द्र सरकार, स्थानीय जनता र अन्य संघसस्थाबाट यो कार्यकालमा कस्तो साथ सहयोग पाउनुभयो ?
संघ सरकारबाट सिमित बजेट मात्रै आयो । प्रदेश सरकारबाट बजेट त आएको हो । तर व्यक्ति विशेषमा आयो । पालिकासँग समन्वय गरेर आएन । हामीले माग गरेको कुनै पनि योजनामा बजेट आएन । यस अगाडिको नेकपाको प्रदेश सरकारले त्यसो गेरेको हो । अहिले सरकार फेरिएको छ । यो सरकारले कस्तो सहयोग गर्छ हामी प्रतिक्षामा छौं । संघसंस्थाहरूले पनि केही कामहरू राम्रो पनि गरेको छ । हामीले साझेदारी गरेर काम गरेका छौं । भेरीगंगा नगरपालिकाका जनताबाट राम्रो साथ र सहयोग मिलेको छ । म सबैलाई कृत्तज्ञता व्यक्त गर्दछु ।
संघीयताको अभ्यासमा यसरी नै अगाडि जाने की परिमार्जन गरेर जाने तपाईँको धारणा के छ ?
संघीयताको विषयमा म आफ्नो व्यक्तीगत धारणा राख्छु । यो संघीयता हाम्रो देशमा उपयुक्त छैन् । धेरै खर्चिलो भयो । किनभने बजेट प्रदेशमा जान्छ । प्रदेशले जनताको माग अनुसार काम गर्दैन् । स्थानीय तहले जनताको समस्या बुझेको हुन्छ । तर हामीसँग पर्याप्त बजेट हुँदैन् । सही तरिकाले संघीयताको परिमार्जन गरियो भने प्रभावकारी होला । तर विकास र जनताको समस्या समाधान गर्ने पक्षमा संघीयता बढो खर्चिलो व्यवस्था बनेको छ ।
स्थानीय सरकार आएदेखी गाउँ—गाउँमा भ्रष्टचार मौलायो भनिएको छ । यसमा के भन्नुहुन्छ ?
मैले छिमेकी पालिकाहरूमा पनि भ्रष्टचार भएको देखिएको छैन् । हाम्रो पालिकामा पनि त्यस्तो अनियमितता कत्ति पनि भएको छैन् । म भ्रष्टचारको विरोधी हो । त्यसैले हाम्रो नगरपालिकामा एकदमै पारदर्शी काम भएको छ ।
आगमी निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ जनप्रतिनिधिहरूलाई कसरी विकासका कामहरू अगाडि बढाउन सुझाउनुहुन्छ ?
हामीले गरेका कामहरूमा पुरा हुन बाँकी कामहरूलाई पूरा गर्न आग्रह गर्दछु । यहाँका जनताको माग र आवश्यक्ता अनुसार पारदर्शी ढंगले विकास गर्न आगामी निर्वाचनबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूलाई आग्रह गर्न चाहान्छु ।



















प्रतिक्रिया