नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भर्खरै सकिएको छ । नेपाली कांग्रेस अगामी निर्वाचनबाट देशको सबैभन्दा ठूलो दलको रुपमा निर्वाचित हुने सम्भावना छ । सम्भवत नेपाली कांग्रेसकै सरकार बन्ने अनुमान छ । नेपाली कांग्रेस आगामी निर्वाचनमा गठबन्धनलाई सँगै लिएर जान्छ या एक्लै जान्छ भन्नेमा पनि सबैको ध्यान खिचिएको छ । कांग्रेसको अबको यात्रा कस्तो हुन्छ । आगामी चुनाव, एमसीसी लगायतका अन्य राजनीतिक र समसामयिक विषयमा कांग्रेसको केन्द्रीय सदस्य डा.डिला संग्रौलासँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महिला तर्फको केन्द्रीय सदस्यमा बहुमतले विजयी हुनुभएको छ । अब तपाईँ पार्टीमा कस्तो भूमिका हुन्छ ? के विषयलाई पहिलो प्रथामिक्तामा राख्नुहुन्छ ?
म १४ औं महाधिवेशनमा अत्याधिक मतले विजयी भएको छु । १३ औं महाधिवेशनमा पनि धेरै मत ल्याएर नै यही भुमिकामा रहेको थिएँ । मैले जनताको समस्याको बिचमा बसेर काम गर्दै आएको छु । पार्टीको सुदृढीकरणको अभियान चलाएँ । पार्टीको संगठनमा सकृय भएकोले मलाईँ फेरि प्रतिनिधिहरूले त्यही भूमिका दिनुभएको छ । अब नयाँ उर्जा र तागत थपेर वैचारिक रूपमा पार्टीलाई बलियो बनाउने अभियानमा म पुनः जुट्ने छु ।
यो महाधिवेशनमा कांग्रेसको रुपानतरण भयो कि भएन ? कांग्रेसको अबको बाटो कता हो र उदेश्य केमा केन्द्रीत हुन्छ ?
१४ औं महाधिवेशनले कांग्रेसमा अवश्य रुपान्तरण भएको छ । कांग्रेसका सम्पूर्ण प्रतिनिधिहरूले लोकतान्त्रिक हिसाबले विकको प्रयोग गरेर नेतृत्व चयन गरेका छन् । उपसभापति, महामन्त्री जस्तो पार्टीको महत्वपूर्ण पदहरूमा युवाहरू आउनुभएको छ । पार्टीलाई सकृय बनाउने सबै पदाधिकारीहरूलाई एक बनाएर पार्टीलाई अब नयाँ ढंगले अगाडि बढाउन सभापतिमा पुनः शेरबहादुर देउवा दोहोरिनुभएको छ । यसले गर्दा कांग्रेसमा रुपान्तरण भैसकेको छ । अब गतिशील, मुलुकको समस्या समाधान गर्ने कांग्रेस जनताले खोजेको छ । अब कांग्रेस नेतामुखी होइन । संगठन र जनतामुखी हुने छ । यसरी एकदमै सकृय भएर अगामी निर्वाचनमा जनतासामु गएर बहुमत ल्याउने र संविधानको कार्यान्वयन, देशलाई समृद्धितर्फ लैजाने अब कांग्रेसको उदेश्य हो ।
सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय लिने गरेको अन्य नेताहरूको असन्तुष्टी छ । यसमा तपाईँको धारणा के छ ?
पार्टीमा १४ औं महाधिवेशनपछि अहिलेसम्म खासै केही त्यस्तो निर्णय भएको छैन । पहिलो बैठकमा धन्यवाद प्रस्ताव र राष्ट्रियसभाको लागि पार्टी दर्ता गर्ने प्रस्ताव पास भयो । दोस्रो बैठकमा राष्ट्रय सभाको उम्मेद्वारको पार्टीमा छलफल भयो । हामीले गठबन्धनमा पनि छलफल गर्यौँ । यस्ता कुरा बाहेक खसै अन्य विषयमा निर्णय नै भएको छैन । राजनीतिमा एक अर्कामा असन्तुष्टी जाहेर गर्ने किन भएन भनेर प्रश्न गर्ने स्वभाविक हो । केही असन्तुष्टिहरू आएको भने छ । त्यो उठेको आवजहरूलाई आगामी दिनमा सभापतिले सम्बोधन गर्नुहुन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई हराउन गठबन्धनले कस्तो तयारी गरेको छ ?
हामीले गठबन्धनमा सिटको बाँडफाँडसँगै राम्रो तयारी गरेका छौँ । यो निर्वाचनमा गठबन्धनको उम्मेदवारले नै जित्नेमा हामी निश्चित छौँ । सबैमा जित्नको लागि नै गठबन्धनबाट साझा उम्मेदवार बनाएका हौँ ।
नजिकिँदै गरेको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस एक्लै जान्छ कि गठबन्धनसँगै जान्छ ?
यो राष्ट्रिय सभाको निर्वाचनसम्म हामीसँगै जाने हो । त्यसपछि हाम्रो पार्टीमा यो विषयमा बृहत समिक्षा हुन जरुरी छ । कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरूले जनतासामु एक्लै जानुपर्छ भन्ने आवज बलियो रुपमा आइरहेको छ । मुलुकको हितको लागि गठबन्धनलाई पनि हामीले नकारी हाल्न मिल्दैन । त्यसो हुनाले यस विषयमा कार्यकर्ता र जनताको पनि सुझावलाई मध्यनजर गरेर कांग्रेसले निर्णय लिन्छ । मेरो व्यक्तिगत विचारमा कांग्रेस आगामी निर्वाचनमा गठबन्धन सहित होइन, एक्लै चुनवामा जानपर्छ । यो कुरा मैले पहिलैबाट भन्दै आएको छु । कांग्रेसले विधानको महाधिवेशन गर्न नै बाँकी भएकोले यस विषयमा पछि छलफल हुन्छ ।
गर्भिलो इतिहास बोकेको पार्टी सत्ता स्वार्थको लागि सिद्धान्त नमिल्ने पाटीहरूसँग पटक—पटक सहकार्य गर्दा जनविश्वास गुम्दैन ?
हामी यो राष्ट्रिय सभाको निर्वाचनसम्म मात्रै गठबनधनमा छौँ । त्यसपछि पार्टीले छलफल गरेर निर्णय लिन्छ । हामीले देशको परिस्थितिलाई हेरेर देश र जनतालाई महत्व दिएर संविधानको रक्षा गर्ने सवालमा अन्य पार्टीहरूसँग विभिन्न समयमा सत्ता साझेदार गर्न परेको छ । हामीले देशको लागि त्यसो गरेका हौँ । सत्ताको स्वार्थका लागि होइन ।
आगामी निर्वाचनमा कांग्रेसले जनतासामु भोट माग्न जाँदा मुख्य एजेण्डा के हुन्छ ?
हाम्रो मुख्य एजेण्डा भनेको समृद्ध नेपाल समुन्नत जनता हो । देशलाई समृद्ध बनाउने र जनतालाई समुन्नत बनाउने नै हाम्रो लक्ष्य हुनेछ । हामीले पटकपटक भनेका पनि छौँ । राजनीति राष्ट्र र जनताको लागि हो त्यसकारणले अबको पालो लोकतान्त्रिक सरकार नेपाली कांग्रेसको नै हुन्छ । हाम्रो देशमा पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म हेर्ने हो भने कर्णाली र सुदूरपश्चिम अझै धेरै विकट छ । विकाश चाहिएको छ । युवाहरूलाई रोजगारी चाहिएको छ । यस्ता कुराहरू अब हाम्रो एजेण्डा बनेको छ । वीपीले भन्नुभएको जस्तै सुन्दर नेपाल बनाउन कांग्रेस अगाडि बढेको छ । स्वास्थ्यलाई पहिलो प्रथामिकता दिने छौँ । अझै पनि कोभिडको खतरा कायम छ । यसलाई पनि हामीले ध्यान दिन जरुरी छ ।
नेपाली कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउने भनिरहँदा बहुमत ल्याउने आधारहरू के—के हो ?
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । हामी प्रतिपक्षमा हुँदा पनि लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको सर्वोच्चतालाई केन्द्रमा राखेर यसको संरक्षणमा जुटेको हो । यस अधिको नेकपाको केपि शर्मा ओलीको सरकारले संविधानको अपहेलना गर्नुको साथै लोकतन्त्रलाई धरापमा पारेको थियो । हामीले विभिन्न आन्दोलन गरेर प्रतिनिधि सभालाई ब्यूँताएका छौँ । लोकतान्त्रिक मुल्य र मान्यतालाई कायम गर्न, देशको विकाश गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्न नेपाली कांग्रेसको सरकार अपरिहार्य छ । सिहं दरबारलाई गाउँगाउँमा पुर्याउन, सुशासन कायम गर्न र समावेशिताको लागि पनि नेपाली कांगे्रस नै चाहिन्छ । यिनै आधारहरूमा हामीले बहुमत ल्याउछौँ ।
पछिल्लो समय राजनीतिमा र सर्वसाधारण जनतासम्म पनि एमसीसी विवाद चर्किएको छ । यसमा तपाईँको धारणा के छ ? पास या फिर्ता ?
यसमा म धेरै बोल्न चाहान्न । राष्ट्रको विकास र जनताको हितमा छ कि छैन भनेर बृहत छलफल गर्नै पर्ने भएको छ । अहिले यसको विरोधमा जनता सडकमा छन् । समग्रमा विभिन्न बुँदाहरूमा विवाद भएको हुनाले यसको पुनःअवलोकन हुन जरुरी छ । यसमा गठबन्धनको मात्र नभएर प्रतिपक्षको पनि सहमतीमा साझा धारणाबाट मात्रै अगाडि बढ्न पर्छ ।



















प्रतिक्रिया