स्थानीय सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । नेपालमा रहेका ७ सय ५३ वटा पालिकाहरू मध्य कतिपय पालिकाहरूले जनतालाई प्रत्यक्ष लाभ हुने कामहरू गरेर विकासमा लामो फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास भएको छ । तर केही पालिकाहरू भने भौगोलिक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसाबले काम नगरेका कारण विभिन्न समस्याहरू देखाएर यथास्थितिमा छन् ।
पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारबाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिणाम निकाल्ने हेतुले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ । यसै सन्दर्भमा दैलेख जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग गाउँपालिकामा यो कार्यकालमा भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :
गुराँस गाउँपालिकामा यो कार्यकाल भरिमा के—के कामहरू गर्नुभयो ? गाउँपालिकाको विकास निर्माणको कार्य कसरी अगाडि बढेको छ ?
गुराँस गाउँपालिकाको पुर्वाधारको क्षेत्रमा बिजुली सबै ठाउँमा पुग्नलाई अन्तिम चरणमा पुगेको छ । गुराँस गौरब मार्ग भनेर ५७ किलोमिटरको सडक बनाएको छौँ । त्यसले पालिकाको ८ वटा वडा मध्य ६ वटा वडालाई छोएको छ । त्यसैगरी ८ वटै वडालाई छुनेगरी गराँस चक्रपथ बनाउँदै छौँ । बाह्रै महिना वडाहरूमा जाने बाटो सञ्चालन गर्नेगरी काम भैरहेको छ । हाम्रो कार्यकालमा हामीले ३ सय ९ किलोमिटर बस्ती स्तरका सडकहरू निर्माण गरेका छौँ ।
पालिका भवन बनाउन सुरू गरेका छौँ । वडा कार्यलय भवन पनि वडा नम्बर ६ को मात्रै बन्न बाँकी छ । त्यो निर्माणधिन छ । हामीले रानीमत्तामा विशेषज्ञसहितको अस्पताल र रतिखोलामा पनि अस्पताल बनाउन सुरुवात गरेका छौँ । वडा नम्बर ८ मा कृषि क्याम्पस बनाउन काम अगाडि बढाएका छौँ । यसरी विकास निर्माणको पुर्वाधार विकासको काम अगाडि बढेका छन् ।
त्यसैगरी हामीले सामाजिक विकासको पक्षमा जीवन सुरक्षा कोष कार्यक्रम सञ्चालन गरेर सम्पुर्ण आमाबाबा नभएका बालबालिकाहरूलाई पालिकाको तर्फबाट २५ सयको कोष खोलेका छौँ । ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा सुरू गरेका छौँ । नेपालभरी मै लोपोन्मुख जाति राउटे हाम्रो पालिकामा छन् । उहाँहरूको लागि हामीले संरक्षणका कार्यक्रमहरू सुरुवात गरेका छौँ । यसरी सामाजिक विकासका धेरै कार्यक्रमहरू अगाडि बढेका छन् । जनताको चाहाना अनुसार नै उहाँहरूको आवश्यक्ता अनुसार काम गरेर हामी अन्तिम चरणमा पुगेका छौँ ।
कोरोना महामारीको सामना कसरी गर्दै हुनुहुन्छ ? नियन्त्रण गर्न अबको योजना के छ ?
कोरोना महामारी फैलिएको पहिलो वर्ष एकदमै समस्या भएको थियो । विदेशबाट आउने, नेपालकै पनि विभिन्न सहरहरूबाट आउने गर्दा हामीले उहाँहरूलाई चेकजाँच गरेर क्वारेन्टाइनमा राखेर १४ दिन पछि फेरि जाँच गरेर घर पठाउने गरियो । दोस्रो लहर आउँदा हामीले त्यसैगरी व्यवस्थापन गरियो । आइसुलेसन र अस्पताल, अक्सिजन र औषधी लगायतका व्यवस्थापनहरू गरियो । यस अगाडि धेरै ठूलो क्षति हुन नदिइकन नै हामीले नियन्त्रण गरियो । अझै पनि महामारीको खतरा कायमै छ । त्यसका लागि हामी सचेत छौँ । कार्यपालिकाको बैठकबाट छलफल गरेर अगाडि बढ्छौँ ।
यो कार्यकालमा गुराँस गाउँपालिकालाई कस्तो साथ सहयोग मिल्यो ?
हामीले, प्रदेश सरकारले र संघीय सरकारले विकास गर्ने जमिन र सेवा गर्ने जनता एउटै हो । प्रदेश र संघसरकारको केही योजनाहरू हामी र केही उहाँहरू नै कार्यन्वयन गर्नुहुन्छ । केही योजनाहरू डबल हुने समस्या पनि आएको थियो । तिनै तहको सरकारको साथ र सहयोग विना विकास हुँदैन् । पूर्णरूपमा साथ सहयोग र समन्वय अझै पनि भैसकेको छैन् । त्यसमा सुधारेर जान जरुरी छ ।
पालिका सरकार आए देखि गाउँ—गाउँमा भ्रष्टचार मौलायो भनिएको छ । यसमा तपाई धाराणा के छ ?
स्थानीय तहलाई यस्ता विभिन्न आरोपहरू लाग्नु स्वभाविक नै छ । किनभने जनताको नजिकको सरकार स्थानीय तह हो । त्यहाँ हुने विकासका कामहरू र विभिन्न भूमिकाहरू जनताले प्रत्यक्ष देखेका हुन्छन् । हाम्रो गाउँपालिकामा अनियमितता, भ्रष्टचारको कुरामा सुशासनलाई कायम गर्न भ्रटचारलाई निेषेध गरेर काम गरेको छ । हामीलाई जसले जस्तो आरोप लगाए पनि हामीले पालिकाको तर्फबाट निभाउन पर्ने भुमिकाहरू निभाएका छौँ । स्थानीय तहलाई गलत देखाउनको लागि, खारेज गर्नको लागि पनि यस्ता आरोपहरू लगाएको हुन सक्छ । कहीँ कतै यस्तो आरोपहरू मिल्न सक्छ । तर सबैखाले समस्याहरूलाई समाधान गरेर जान पर्छ । अन्य पालिकामाहरूमा यस्तो आरोप लागे पनि हाम्रोमा लागेको छैन ।
स्थानीय तह सरकारमा मेयर र अध्यक्षलाई धेरै अधिकार तर उपमेयर र उपाध्यक्षलाई अधिकारविहीन, कामविहीन बनाइयो भन्ने छ । यसमा तपाईँको बुझाई कस्तो छ ?
स्थानीय सरकार सञ्चालन एन २०७४ र संसोधन एन २०७५ ले स्थानीय सरकारका जनप्रतिनिधिहरूको अधिकार क्षेत्र निर्धारण गरेको छ । त्यो अधिकार क्षेत्रमा अध्यक्षले, उपाध्यक्ष, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि र कर्मचारीहरूले के—के गर्ने भनि रे कामको वितरण गरिएको छ । आफ्नो कर्तव्य र अधिकारभित्र रहेर काम गर्दा कसैले कसैको अधिकार बहन गर्न सक्दैन । पालिकाको उपाध्यक्षको हकमा अनुगमको, न्यायिक समिति लगायतको अधिकार क्षेत्र छ । हाम्रो गाउँपालिकामा जनप्रतिनिधिको अधिकारको सम्बन्धमा कहीँ कतै असजिलो अवस्था छैन ।
गराँस गाउँपालिका र त्यहाँको जनप्रतिनिधिविचको सम्बन्ध कस्तो छ ?
हामीले बजेट निर्माण गर्दा नै टोलदेखि आवश्यक्ताहरूको छलफल गर्छौँ । हामीले उहाँहरूको माग र आवश्यक्ताको आधारमा नै बजेट बनाउने हो । जनताको अपेक्षा सधैँ बढिरहन्छ । हाम्रो पालिकामा जनता र जनप्रतिनिधिबीचका सम्बन्ध राम्रो छ । जनताको बीचमा जाँदा हामीले असन्तुष्टी भएको छैन् र सन्तुष्ट भएको महसुस गरेका छौँ । त्यसो हुनाले हाम्रोमा जनता र जनप्रतिनिधिहरू विचको सम्बन्ध राम्रो छ । यदि कुनै पालिकाहरूमा त्यस्तो असन्तुष्टि भएका तपाईँहरू जस्तो सञ्चार माध्यमले थाहा पाउने कुरा हो ।
गुराँस गाउँपालिकामा विकासका काम धेरै गरेका छौँ, भन्नुभएको छ । त्यहाँका सर्वहारा वर्गलाई कसरी समेट्नुभएको छ ?
हाम्रो पालिकामा घर नहुने र जमिन नै नहुने जस्ता अत्यन्तै गरिबहरू छैन । केही पछाडि परेकाहरूको लागि हामीले पालिकाको तर्फबाट गरिबसँग अध्यक्ष स्वरोजगार कार्यक्रम मार्फत् सहुलियतका कार्यक्रम चलाएका छौँ । गुराँस रोजगार कार्यक्रम चलाएका छौँ । करिब ४०—४५ जना एकल महिलाहरू र आथिर्क अवस्था कम्जोर भएकाहरू गरी १ सय ६० जनालाई । जो अत्याधिक गरिबहरूले हाम्रो वडा कार्यलय मार्फत समन्वय गरेर उहाँहरू अवस्था बुझेर विभिन्न कार्यक्रम मार्फत् समावेस गरेर जान्छौँ ।
तपाईँले गुराँस गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा जनतासँग गरेको प्रविद्धताहरू कति पूरा गर्नुभयो ? यो कार्यकालबाट तपाई कति सन्तुष्ट हुनुहुन्छ ?
हामीले निर्वाचनको बेलामा पार्टीको तर्फबाट र आफ्नो व्यक्तिगततर्फबाट घोषणा पत्र जारी गरेका थियौँ । त्यो घोषणा पत्रलाई अगाडि राखेर नै हामीले बजेट निर्माण गर्ने गरेको हो । हामीले घोषणा पत्र र जनताको आवश्यक्ताको आधारमा कामहरू गर्ने गरेका छौँ । त्यसो हुनाले हामीले जनतासँग गरेको प्रतिवद्धताहरू पूरा भएका छन् । त्यो भन्दा पनि अन्य धेरै कामहरू गरेका छौँ । तर हामीले व्यक्तिगत रुपमा भनेका कुराहरू पुरा भए पनि विकास निरन्तर चल्ने प्रक्रिया भएकोले जनताको आकांक्षाहरू बढ्दै जान्छ । हामी जनप्रतिनिधिको पनि अझै धेरै गरौँ भन्ने चाहाना हुन्छ । त्यसो हुनाले अझै विकास गर्न पर्ने र सुधार्न पर्ने विषयहरू धेरै छन् ।
स्थानीय सरकारको यो पहिलो कार्यकाल हो । तपाईँले यो कार्यकालमा कस्तो समस्याहरूको सामना गर्नुप¥यो ?
हामी निर्वाचित भएर आउँदा समस्या नै समस्याको मध्यान्तरमा थियौँ । हामीसँग वडा कार्यलय भवनहरू थिएनन् । गाउँपालिका भवन कहाँ बस्ने भन्ने टुङ्गो थिएन् । स्वास्थ्य संस्था कहाँ बनाउने, विकासका कामहरू लथालिङ्ग थियो कहाँबाट सुरू गर्ने, कानुनी आधारहरू के—के हुन भन्ने जस्ता समस्याहरू थिए । यिनै समस्यालाई विशेष गरी हामीले छलफल, बहस र सुझावको आधारमा अगाडि बढायौँ । समाधान गर्दै गयौँ । यी समस्याहरूलाई छिचोल्दै—छिचोल्दै हामी प्रगतिको बाटोमा गएको छौँ । समस्याको समाधान गर्दै समृद्धिको यात्रा तय गरेका छौँ ।
गुराँस गाउँपालिकामा पर्यटनको सम्भावना कति छ ? पर्यटन विकासमा के—के गर्नुभएको छ ?
गुराँस गाउँपालिकालाई पर्यटकीय पालिकाको रूपमा विकास गर्ने हाम्रो योजना हो । त्यसैले हामीले व्यवसायिक पर्यटन भन्ने नीति पनि बनाएका छौँ । व्यवसायिक पर्यटनलाई व्यवस्थित गर्नका लागि हामीसँग पुँजी पनि न्यून रहयो । कोरोनाको महामारीले गर्दा पनि हामीले सोचे अनुरुप विकास गर्न सकेनौँ । नसके पनि अब भविष्यमा गुराँस गाउँपालिका पर्यटकीय गाउँपालिका हो भनेर चिनाउन हामीले पूर्वाधारको क्षेत्रमा प्रत्येक पालिकामा भएका पुरातात्कि कुराहरूको संरक्षण गर्ने, प्रत्येक पालिकामा भएका ठूला मठमन्दिरहरूको व्यवस्थापन गर्ने, ठू–ठूला हरियाली डाँडाहरूको संरक्षण गर्ने र भ्यु टावरको रुपमा विकास गर्ने, यहाँका गुफाहरू संरक्षणका कार्यक्रमहरू जस्ता विभिन्न कार्यक्रमहरूको सुरुवात गरेका छौँ ।
अहिले हाम्रो पालिकामा पर्यटकीय विकासको छलफल बहस हुन थालेको छ । अहिले पनि हाम्रो पालिकामा १५ सय पर्यटकहरू मासिक रूपमा आउने गरेका छन् । त्यसो हुनाले हामीले पर्यटन विकासको आधार खडा गरेका छौँ । अबको ५ वर्षमा हामीले गुराँस गाउँपालिकालाई कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय भूमिको रूपमा विकास गर्न अगाडि बढेका छौँ ।
आगामी स्थानीय तहको निर्वाचनबाट गुराँस गाउँपालिकामा आउने नयाँ जनप्रतिनिधिहरूलाई कसरी विकास गर्न सुझाव दिनुहुन्छ ?
हामीले अहिलेसम्म जति पनि कामहरू गरेका छौँ । यो एउटा अध्यक्षले, उपाध्यक्षले र वडा अध्यक्षले मात्र गरेको काम होइन । यो गुराँस सरकारले गरेको काम हो । सबै कामहरूलाई अझै व्यवस्थित गरेर निरन्तर अगाडि बढाउन आग्रह गर्छु । हामीले गर्न पर्ने सहयोग हामी गर्ने छौँ । अबको दिनमा जनताको आवश्यक्ता अनुसार थप विकास गर्दै जान सुझाब दिनेछौँ ।



















प्रतिक्रिया