Logo

प्रदेश

धमाधम बन्न थाले काभ्रेका स्थानीय तहमा प्रशासनिक भवन



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीयतहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् ।

रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । सो भवन कैसील बस्नेत–कामख्य–भगवती जेभीले निर्माण ठेक्का पाएको छ । भवन निर्माणका लागि गत मङ्सिर २८ गते सम्झौता गरी आगामी २०८१ जेठ ३२ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरीएको छ ।

भवनको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सोमबार शिलान्यास गरेका छन् । आफ्नै भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रशासनिक भवन निर्माणस्थलसँगै अस्थायी टहरा बनाएर सेवा प्रवाह गर्दै आएको छ ।

यसैगरी डाँडापारिस्थित महाभारत गाउँपालिकाले पनि आफ्नै पक्की प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । पालिका गठन भएपछि सामान्य टहरामा कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको महाभारत गाउँपालिकाले करिब दुई वर्षदेखि वडा नं ६ देवीटारमा अस्थायी भवन निर्माण गरी सेवा दिँदै आएको थियो ।

पछिल्लो समयमा बजेट व्यवस्थापन भएपछि देवीटारमा साढे चार तलाको पक्की भवन निर्माण हुने भएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासनिक भवनको शिलान्यास गरी निर्माण अगाडि बढाएका हुन् ।

कूल रु छ करोड १० लाख ४३ हजारमा निर्माण सम्झौता भएको भवन आगामी आव २०८०/८१ सम्ममा निर्माणसम्पन्न गर्ने गरी काम अगाडि बढेको अध्यक्ष जिम्बाले बताए ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार ११:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।