Logo

प्रदेश

रामेछापमा भयो सत्र हजार बढीको निःशुल्क मिर्गौला परीक्षण



रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाले छ वर्षभन्दा माथि उमेरका नागरिकको मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गएको गत पुस ११ गतेदेखि मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा पालिकाका बासिन्दाको निःशुल्क रूपमा मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत हालसम्म नगरपालिकाभित्रका १७ हजारभन्दा बढी नागरिकको मिर्गौला परीक्षण गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । मिर्गौला परीक्षणबाट एक हजार तीन सय जनाको मिर्गौला पुनः परीक्षण गर्नुपर्ने देखिएको स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले बताए । पुनः जाँच गर्नुपर्ने मध्ये गत पुस २८ र २९ गते दुई दिनमा ४७२ नागरिकको पुनः मिर्गौला परीक्षण गरिएको छ । पुनः जाँच गराइएका ४७२ मध्ये २८३ जनाको मिर्गौलाको अवस्था सामान्य देखियो, १६१ जनामा सुगर र पिसाबमा समस्या देखिएको र २८ जनाको मिर्गौलामा केही मात्रामा समस्या देखिएकाले काठमाडौँमा उपचारका लागि सिफारिस गरिएको उनले बताए ।

हाल नगरपालिकाभित्र ११५ वटा स्वास्थ्य केन्द्रमा मिर्गौला परीक्षण अभियान सञ्चालन भइरहेको छ । माघ ११ गतेसम्म सञ्चालन हुने अभियान कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर प्रत्येक खोप केन्द्रबाट दैनिक २५ जनाको दरले मात्र मिर्गौला परीक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख फुयालले बताए।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।