Logo

अनलाइनपाना खोज

देवर ‘सुब्बा’ भाउजू ‘मन्त्री’, सम्बन्धमा अल्झेको मन्त्रालय



देशका विभागीय मन्त्रालय मन्त्रीले चलाउँछन् । यो कुरा हामीलाई कसैले नभने पनि विदतै रहने कुरा हो । सिंहदरबारभित्रै रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुकमारी झाँक्रीले पाएको पनि सय दिन पूरा भएको छ । सा्रेतका अनुसार झाँक्री मन्त्री भए पनि मन्त्रालयमा हामीमुहाली भने अर्कैको चल्छ । भन्छन् मन्त्रालयकै एक सुब्बाले मन्त्रालयमा राज गरिरहेका छन् ।
पूर्वका सुब्बा युवराज गिरी लामो समयदेखि मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा कार्यरत छन् । तर उनलाई स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्छ ।

मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्छन् । अझ भन्दा, मन्त्रीको सबै कार्यक्रम उनैले तय गर्छन्, आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् ।

झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको रवाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो । तर, मन्त्रालयमै पूरै हालीमुहाली गर्न भने पाएन थिएनन् । यसपटक मन्त्रीको आगमनसँगै उनलाई यत्ति सजिलो भयो कि उनी सचिवालयका कर्मचारी, सचिव, सहसचिव सबैभन्दा माथिल्लो तहमा पुगेर काम गर्न थाले ।

‘उहाँको रवाफ नै ठूलो हुन्थ्यो, कुन्नी के छ त्यस्तो,’ यसअघिका मन्त्रीको सचिवालयमा रहेका भन्छन्, ‘सचिव र सहसचिव भन्दा उहाँको रजगज बढी थियो ।’

मन्त्रालयमा कार्यरत कर्मचारी पनि उनको हर्कतबाट असन्तुष्ट छन् । अधिकृत स्तरका कर्मचारी मात्र होइनन्, सचिव समेत उनको व्यवहारबाट दिक्क छन् भन्ने कुरा स्रोतले खुलाएको छ ।

गिरी २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निलम्बनमा पनि परेका थिए ।

पद सुब्बा, सुविधा सचिवको

गिरी सायद पहिलो व्यक्ति होलान्, जसले सुब्बाको पदमै सरकारी सवारी चढ्छन्, त्यो पनि ड्राइभर राखेर । सामान्यतया सरकारी सेवा रहेका उप–सचिव स्तरका कर्मचारीलाई मात्र मन्त्रालयले चारपांग्रे सवारी उपलब्ध गराउँछ । गिरीले सरकारी सम्पत्तिको चरम दुरूपयोग गर्दै सिंहदरबारमै बसेर ऐन र कानुनको खिल्ली उडाइरहेका छन् । तर, त्यत्ति हुँदा पनि उनलाई निलम्बन गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् ।

योजनामा सुब्बाको हात अगाडि

शहरी विकास मन्त्रालयमा पर्ने र पार्ने योजनाहरूमा सुब्बा युवराज गिरीकै हात हुने गरेको छ । कस्ता योजना पार्ने, कसको योजनामा लालमोहर लगाउने लगायतका सम्पूर्ण काममा गिरी पोख्त भइसकेका छन् । मन्त्रालयमा आएका फाइल, योजना र सरुवा बढुवामा समेत उनको हात रहने मन्त्रालय स्रोत बताउँछ ।

मन्त्रीले पनि छुन नसकेका सुब्बासाप

डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा कार्यरत छन् । उनलाई यसअघिका मन्त्रीले सरुवा गर्न नखोजेका पनि होइनन् । सुब्बासापको पावरको अगाडि कसैले केही पनि नचलेको स्रोतले जनाएको छ ।

आफ्नै घर

आफ्नो घर हुनु ठूलो कुरा होइन तर विगतलाई हेरेर उनको मुल्याङ्कन गर्ने हो भने उनको लाइभस्टाइल भने प्रश्न सोध्न मिल्ने छ । २०७८ साउन १ गतेदेखि बढेको तलबअनुसार सुब्बाको तलब ३२ हजार ८ सय १६ रूपैयाँ तोकिएको छ । ३२ हजार तलब खाने सुब्बाले काठमाडौंमा घर बनाएर बस्नु असम्भव रहेको वर्षौंदेखि सरकारी सेवा आबद्ध पूर्वकर्मचारीको भनाइ छ ।

मन्त्री झाक्रीसँगको सम्बन्ध

मन्त्री रामकुमारी झाँक्रीलाई सुब्बा गिरीले भाउजु सम्बोधन गर्छन् । मन्त्री झाँक्रीले पनि सचिव र अन्य कर्मचारीलाई भन्दा उनैलाई बढी महत्त्व दिने गरेकी छन् । सचिव र माथिल्लो तहका कर्मचारीको भन्दा सुब्बाको बढी भर गरेपछि उहाँमाथि पनि शंकाका आधारहरू सिर्जना भएका छन् ।

केही दिनअघि मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि मन्त्रीमाथि सचिवालयमा कर्मचारीको भूमिको सन्दर्भमा प्रश्न उठेको थियो । तर, मन्त्री झाँक्रीले उचित जवाफ दिन सक्नुभएन । उहाँले सबैले आ–आफ्नो स्थानमा रहेर काम गरेको दाबी गरे पनि मन्त्रालयमा त्यस्तो अवस्था देखिँदैन । यसअघि भएका मन्त्रीहरूलाई पनि गिरीले आफ्नो पक्षमा पार्न नखोजेका होइनन् । केही मानेनन् भने केहीले उनलाई टेरेनन् । तर, अहिले भने उनले मन्त्रालय नै आफूले चलाइरहेका छन् । मन्त्रालयका योजना, नीतिगत निर्णय र सरुवाबढुवा देखि अन्य निर्णयमा पनि उनको प्रत्यक्ष संलग्नता रहने गरेको मन्त्रालय उच्च स्रोत बताउँछ ।

सामान्यतया मन्त्रीले सचिव, उपसचिव र कर्मचारीहरूलाई खटनपटन गर्ने गर्छन् । तर, शहरी विकास मन्त्रालयमा भने मन्त्रीको पूर्ण समर्थन पाएर सुब्बासाप राज गरिरहेका छन् । उनलाई मन नपरेको र आफू अनुकुलका कर्मचारी नआए सरुवा समेत गराउने हैसियत गिरीले राखेको मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १४:०५   :  बजे

10.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।