Logo

टिप्पणी

अब घुम्तीमा भेटिदैनन् प्रेमध्वज



सदावहार प्रसिद्ध गायक प्रेमध्वज प्रधान भौतिक रुपमा अब हामी सामु रहेनन् । विहीबार उनको निधनको खबर आएलगत्तै सामाजिक संजाल आँशुले भिजेको छ । कला क्षेत्रका मात्र नभइ राजनीतिज्ञ, समाजसेवी, कुटनीतिज्ञ, खेलाडी, संचारकर्मी, उद्योगी व्यवसायी सबैले उनको निधनमा दुःख व्यक्त गर्दै अथाह पीडा पोखेका छन् । 

वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारा बजारमा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको सम्पन्न परिवारमा प्रेमध्वज प्रधानको जन्म भएको हो । प्रधानको परिवारमा जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने व्यक्ति भएका कारण उनीहरुले आफ्नो घरमा गोपाल नाम गरेका एकजना सङ्गीतकर्मीलाई राखेका थिए । त्यसकारण उनीहरुको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरु भइरहन्थे । घरको यस्तो वातावरणबाट प्रेमध्वज टाढा रहने कुरै थिएन, विस्तारै उनी पनि सङ्गीतप्रति चाख राख्न थाले ।
प्रेमध्वज प्रधानको बुबाको घर काठमाडौँको बाङ्गेमुढा, नघलटोलमा पनि भएको र बुबा यतै बसेर व्यापार व्यवसाय गर्ने भएका कारण केही वर्ष चौतारा बसेपछि प्रेमध्वज र आमा प्राणदेवी पनि काठमाडौँ आए । बाल्यकालको केही समय सुखसँग बिताएका प्रेमध्वजको जीवनमा विस्तारै दुःखका दिनहरु आउन थाले । प्रेमविवाह गरेपनि उनका आमा र बुबा विभिन्न कारणवश छुट्टिएर बस्न थाले ।

वि.सं. २००२ सालदेखि विश्व निकेतन मा.वि.बाट औपचारिक शिक्षाको शुरुवात गरेका प्रेमध्वजको नाम त्यतिबेला गणेशध्वज थियो । निकै सुन्दर र आकर्षक देखिने उनलाई यस्तो नाम सुहाएन भनेर उक्त स्कूलका प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम प्रेम राखेर प्रेमध्वज बनाइदिए ।

स्कुल पढिरहेकै बेला २००९ सालमा रेडियो नेपालमा स्वरपरीक्षा दिन गएका प्रेमध्वज प्रधान ’क’ श्रेणीमा उत्तीर्ण भए  । त्यसबापत् उनले तीनओटा गीत रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाउने मौका पाए । उनले पहिलोपटक रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा उस्ताद भैरबबहादर थापाको शब्द र सङ्गीतमा गाएका थिए ।

रेडियोमा गीत गाउन थालेपछि उनले साङ्गीतिक गतिविधिलाई पनि अझ तीब्र रुपमा अघि बढाउँदै गए । गीतकार राममान तृषितले खोलेको नवकला परिवार नामक संस्थामार्फत् उनी काठमाडौँका विभिन्न ठाउँहरुमा हुने साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुन थाले ।

वि.स. २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग १५ महिना शास्त्रीय सङ्गीतको शिक्षा लिएका प्रेमध्वजसँग शुल्क तिर्ने पैसा नभएका कारण त्यसको बदलामा दुवै आँखा नदेख्ने आफ्ना गुरु गणेशलाललाई उनको घरदेखि रेडियो नेपाल लाने ल्याउने काम गर्थे । आफ्नो स्वर बिग्रेला भनेर निकै चिन्तित हुने प्रेमध्वज स्वरलाई ठीक राख्न अनेक उपायहरु अपनाउने गर्थे । 

२०१० सालमा एसएलसी परीक्षा दिएका प्रेमध्वज संस्कृत विषयमा ४ नम्बर नपुगेका कारण फेल भए र पढाईमा निष्क्रिय जस्तै भए । यसबीचमा समय कटाउन उनी कि त बुबाको कपडा पसलमा बस्थे कि त साथीहरुको साथ लागेर दिल्ली बम्बई घुम्थे । आइ.एस्सी. पढ्न नसकेपछि उनी सरस्वती कलेजमा रातीको समयमा आइ.ए.मा पनि भर्ना भए । बुबासँग छट्टिएर बसेका कारण दुइ आमाछोरालाई घर खर्च चलाउन निकै गाह्रो थियो । 

प्रधानकी आमाले निकै दुःखकष्ट गरेर पुतली, गुडिया बनाई त्यसको बिक्रीबाट आउने पैसाबाट आफ्नो र छोराको जीवनयापन गरिरहेकी थिइन् । आमाले आफ्ना लागि यसरी दिनरात दुःख गरेका कारण प्रेमध्वजको मन रुन्थ्यो । त्यसकारण उनी चाँडै जागिर खाएर आमालाई सुख दिनका लागि चारैतिर जागिर खोज्न थाले ।

आफू गायक भएका कारण प्रेमध्वज रेडियो नेपालमा गायकको रुपमा जागिर खान चाहन्थे र यसका लागि उनले निकै प्रयास पनि गरे । मासिक तलब ९० रुपियाँ पाउने ठाउँमा ४५ मात्रै लिन्छु भन्दा पनि उनले रेडियोमा जागिर पाएनन् । जागिरको खोजीमा भौंतारिरहेका प्रेमध्वजले २०१७ सालदेखि अमेरिकी सूचना केन्द्रमा टाइपिष्टको जागिर पाए ।

अमेरिकी सूचना केन्द्रमा जागिर खान थालेपछि उनको जीवनमा सुधार आउन थाल्यो । यतिबेलासम्म गीत रेकर्डिङ गर्ने सुविधा नेपालमा नआइसकेका कारण गीत रेकर्ड गर्न भारत नै जानुपर्दथ्यो । त्यसैले २०१८ सालमा प्रेमध्वजले केही पैसा जम्मा गरी बम्बईको बम्बई लेबोरेटरीमा गई लङ्ग लेइङ्ग डिस्कमा ४ वटा गीत रेकर्ड गरे । उनले त्यहाँ रेकर्ड गरेको पहिलो गीत माया नमार मायालु थियो । बम्बईमा रेकर्ड गरेका गीत रेडियो नेपालमा बज्न थालेपछि उनले देशव्यापीरुपमा नाम कमाए । रेडियो नेपालमा प्रेमध्वज प्रधानका गीतको एकप्रकारले एकछत्र राज नै चल्न थाल्यो ।

सुमधर मखमली आवाजका धनी प्रेमध्वज प्रधानले २०२३ सालमा पहिलोपटक चलचित्र माइतीघरमा पाश्र्व स्वर दिने अवसर पाए । उनले बम्बइमा भारतीय गायिका उषा मंगेशकरसँग गाएको नमान लाज यस्तरी गीत नेपाली गायकले विदेशी गायिकासँग गाएको पहिलो गीत हो ।

चलचित्र माइतीघरमा अभिनय गर्न नेपाल आएकी त्यसबेलाकी चर्चित भारतीय नायिका माला सिन्हा उक्त चलचित्रका पाश्र्व गायक प्रेमध्वज प्रधानको स्वर र रुपबाट भुतक्कै भइन् । प्रेमध्वजलाई प्रेम प्रस्ताव राखिन् र बम्बइ गएर हिन्दी चलचित्रको गायक बन्न जोड गर्न थालिन् । त्यसबेला माला सिन्हा प्रेमध्वजप्रति कतिसम्म आसक्त भएकी थिइन् भने– उनको सुटिङ जहाँ जहाँ पथ्र्यो, त्यहीँ त्यहीँ प्रेमध्वज जानै पथ्र्यो । तर प्रेमविवाह असफल हुन्छ भन्ने छाप परेको प्रेमध्वजको कलिलो मस्तिष्कले माला सिन्हाको प्रेमप्रस्तावलाई स्वीकार गरेनन् ।

माला सिन्हा बम्बई फर्किंदा उनले प्रेमध्वजलाई पनि उतै आउने निम्तो दिएर गइन् । माला सिन्हाको निम्तो, बम्बइ गएर सङ्गीतमा केही सिक्ने र त्यहाँ नाम चलेका गायक सङ्गीतकारहरुसँग भेट्ने इच्छा भएका कारण प्रेमध्वजले अफिसमा १ वर्षजतिको बिदा मिलाएर बम्बई पुगे । त्यहाँ रमाइलोसँग आफ्ना दिनहरु बिताउन थाले ।

बम्बइमा माला सिन्हालाई भेटेपछि उनलाई खान बस्नको पीर भएन । त्यसकारण उनी निष्फिक्री रुपमा घुम्न र त्यहाँका कलाकारहरुलाई भेट्न थाले । सन् १९६९ मा भारतीय विद्याभवनमा सङ्गीत पढ्ने विचारले त्यहाँ पुगेका प्रेमध्वजले घुम्तीमा नआउ है र पारिदेखि जुनकिरी बोलको दुईवटा गीत सुनाएपछि यति राम्रो त यहाँका गायकले पनि गाउदैनन्, त्यसैले तिमीले सङ्गीत सिक्न आवश्यक छैन भनी प्रशिक्षकहरुले फर्काइदिए । माला सिन्हाको विशेष आग्रहमा उनले सन् १९७० को फिल्म फेयर अवार्डमा समेत् केही गीत सुनाएर त्यहाँ उपस्थित कैयौँ भारतीय कलाकारहरुलाई नेपाली गीतको परिचय गराए ।

प्रेमध्वजको स्वरको मीठासबाट प्रभावित भई जयदेव, कल्याणजी आनन्दजी र खैयामजस्ता केही भारतीय सङ्गीतकारहरुले उनलाई त्यहीँ बसेर हिन्दी गीत गाउन अनुरोध पनि गरे । तर यसै बीचमा उनकी आमा बिरामी भएको खबर नेपालबाट आयो र उनलाई नेपाल तुरुन्त नेपाल फर्किन पर्ने भयो । यदि अरु केही महिना उनी बम्बई बसेका भए उनले भारतीय चलचित्रहरुमा पनि गाउने निश्चितजस्तै थियो ।

परिवारको एक्लो छोरो भएको, नेपालमै राम्रो जागिर भएको र गायकको रुपमा पर्याप्त मात्रामा नाम कमाइसकेको हुनाले उनलाई फेरि बम्बई फर्किन मन लागेन र नेपालमै बसेर आफ्नो जागिर, गायन र अध्ययनलाई अगाडि बढाउन थाले । यसैक्रममा सन् १९६७ मा सरस्वती कलेजबाट स्नातक उत्तीर्ण भए । सबै कुराले भरिपूर्ण हुँदै गएका प्रेमध्वज यतिबेलासम्म लक्का जवान भइसकेका थिए । घरपरिवार र साथीभाईहरुमार्फत् उनलाई विवाह गर्ने उमेर जान लाग्यो भनेर करकर गर्न थाले ।

त्यसबेला प्रेमध्वजलाई मन पराउने थुप्रै यवती थिए तर प्रेमविवाहमा विश्वास नराख्ने उनले वि.सं.२०२८ साल फागुन ६ गते डिल्लीबजारकी किरण श्रेष्ठसँग मागी विवाह गरे । प्रेमध्वजको विवाहमा नारायण गोपाल, नातिकाजी, पुष्प नेपाली, माणिकरत्न, सिके रसाइलीजस्ता थुप्रै गायक–सङ्गीतकार साथीहरु जन्ती गएका थिए ।

प्रेमध्वज र किरणबाट प्रशन्नध्वज र कविरध्वज गरी २ छोरा जन्मिए । आफ्नो बुबाको बाटोलाई मध्यम गतिमा पछ्याइरहेका उनका छोराहरुमध्ये जेठा प्रशन्नले चाहीँ केही नेपाली गीतहरु गाइसकेका छन् ।  कान्छा कविरले पनि केही गीत गएका छन् । अलि लजालु स्वभावका प्रेमध्वज प्रधान खानामा त्यति शौखिन थिएनन् । उनी  एक्लै एकान्तमा बस्न बढी रुचाउँथे । 

कुनै समय एक से एक गीत गाएका प्रेमध्वज आफ्नो गायन जीवनको बीचतिर अलि कमजोर देखिए । जस्तासुकै गीतहरु गाउन अनुरोध गरे पनि नाई भन्न नसक्दा पछिल्लो समयमा उनी ओझेल परे । माइतीघर, अन्याय, मायालु, बदलिँदो आकास, फेरि फेटौँला, जीवनरेखाजस्ता १२ वटा चलचित्रहरुमा स्वर दिइसकेका प्रेमध्वज प्रधानले ४ ओटा जति लोकगीत र २०–२५ ओटा जति भजनहरु गाएका छन् । साङ्गीतिक भ्रमणको लागि अमेरिका मात्र पुगेका प्रेमध्वजले ७ सय बढी आधुनिक, राष्ट्रिय, लोक, भजन, नेवारी र चलचित्रका गीतहरु गाइसकेका छन् । त्यस्तै, उनी २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम, २०४४ सालमा गोरखा दक्षिण बाहु चौथा, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि–शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्डजस्ता सम्मान, पदक र पुरस्कारहरुले पनि सम्मानित भइसकेका छन् ।

अमेरिकी सूचना केन्द्रको जागिरपछि अवकाश जीवन बिताइरहेका प्रेमध्वज बिहान बेलुका केही क्षण रियाज पनि गर्थे । हरेक बिहान केही योग र प्राणायाम गर्थे । त्यसैगरि हरेक विहान कमलादी गणेशस्थान मन्दिर, भद्रकाली मन्दिरमा गएर पूजा गर्ने  र असनका गल्लीहरुमा १–२ घण्टाजस्तो हिड्ने गर्थे । 

पछिल्लो समय केही अस्वस्थ रहेका प्रधान केही दिनअघि मात्रै  सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना भएका थिए । छातीमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा विहीबार दिउँसो  निधन भएको हो । 

नेपाली सांगीतिक आकाशका उज्वल नक्षत्र श्रेष्ठ गायक प्रेमध्वजप्रति हार्दिक श्रद्धासुमन ! 

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।