पालिका सरकारको कार्यकाल अन्तिम चरणमा आइपुगेको छ । यो कार्यकालमा केही पालिकाहरूले उल्लेख्य काम गरेका छन् । जनतालाई सिंहदरबार गाउँमा आएको जस्तो भएको छ । तर केही पालिकाहरूले कर्मचारी अभाव, कोरोना महामारी, आन्तरिक विवादजस्ता समस्यामा फसेर पाँच वर्ष खर्चिएका छन् ।
देशैभरि रहेका ७ सय ५३ वटा पालिकाहरूमा विकासको गति कसरी अगाडि बढेको छ । हिजो स्थानीय हात नहुँदा र अहिले हुँदा के फरक भएको छ । भनेर पालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरिरहेका छौँ । यसै सन्दर्भमा गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्रप्रसाद धितालसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
अजिरकोट गाउँपालिकामा कोरोना महामारीको नियन्त्रण कसरी गर्दै आउनुभएको छ ?
अजिरकोट गाउँपालिकामा हामीले कोरोनाको भयावह हुन थालेपछि सचेत भएर आइसोलेशन बनाउने, क्वारेन्टाइन बनाउने टोल—टोलमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्ने जस्ता कार्यहरूबाट सुरू गरेको हो । स्वास्थ्य स्वयमसेविकाहरूलाई परिचालन गर्ने जस्ता कार्यहरू अझै निरन्तर छन् । हाम्रो पालिकामा अहिले पनि संक्रमित छन् । पछिल्लो समय मान्छेले परिक्षण गर्न नै छाडेका छन् । हामीले पहिले जसरी नै नियन्त्रण गरिरहेका छौँ ।
यो कार्यकालमा गाउँपालिकामा तपाईँहरूले विकासमा गर्नुभएको कामहरू के—के हो ?
हाम्रो पालिकाबाट भच्चेक बजार जानेबाटो पिच गरेका छौँ । डोँडेनीबाट सिम्जुङ हुँदै भच्चेक पुग्ने बाटो पनि पिचको प्रक्रियामा छ । त्यसैगरी खरिबोट हुँदै लम्जुङ जानेबाटो पनि पिचको प्रक्रियमा छ । भिरकुनामा पनि पिचको काम भैरहेको छ । हामी जनप्रतिनिधि भएर आउँदै गर्दा हाम्रो पालिकामा सबै भन्दा मुख्य समस्या बाटोको थियो त्यो सबै ठाउँमा भैसकेको छ । सबै वडाका बस्तीमा सडक सञ्जाल पुगेको छ ।
हामीले गाउँपालिका र पाँच वटै वडाको कार्यलय भवन बनाएका छौँ । आमा समुह र युवा क्लबहरूको मागमा टोलटोलमा २५ वटा सामुदायिक भवनहरू बनाएका छौँ । हाम्रोमा जनजातीको बस्ती धेरै छन् । सामाजिक कार्यहरू सबै यस्तो सामुदायिक भवनमा हुन्छ । त्यसैगरी हामीले वडा नम्बर ३ मा विपी कोइराला बहुप्रयोगात्मक खेलमैदान बनाउँदै छौँ । त्यो १ सय ३५ मिटर लम्बाई र ८५ मिटर चौडाइमा बन्दै छ । खेलकुदको विकासदेखि पर्यटन विकासलाई पनि जोड दिएर यो काम गरेको हो । त्यसैगरी हामीले पर्याटनको क्षेत्रमा हाम्रोमा दूध पोखरी, नाराद पोखरी, निम्चे पोखरी र नागे पोखरी जाने बाटो बनाएका छौँ , चर्पी सहितको बास बस्ने धर्मशालाहरू बनाएका छौँ । धार्मिक तथा पर्यटनको विकास गर्न भुमेथान मन्दिर र अजिरकोट पनि संरक्षण गरेका छौँ ।
हामीले जग्गा खोजेर गाउँपालिकाको भवन पनि बनाएका छौं । हाम्रोमा दुई वटा प्राविधिक विद्यालयहरूमा छात्रवृत्ति प्रदान गरेका छौँ । गाउँपालिकाले निजी स्रातले शिक्षकहरू राखेका छौँ । २ छोरी जन्माएर बन्ध्याकरण गरेकाहरूको छोरीहरूलाई उच्च शिक्षासम्म छात्रावृत्तिको व्यवस्था गरेका छौँ । बालशिक्षिकाहरूलाई १५ हजार तलबको व्यवस्था गरेका छौँ ।
त्यसैगरी स्वास्थ्यमा वडा स्वाथ्य चौकी र स्वास्थ्य एकाईहरू बनाएका छौँ । पालिदकाले नै आफ्नो नीजि स्रोतबाट स्वास्थ्यकर्मी राखेका छौँ । जेष्ठ नागरिकहरूलाई निशुल्क औषधीको व्यवस्था गरेका छौँ । हामीले कृषिमा अजिरकोट अर्गानिक कृषि कार्यक्रम भन्ने अन्तरगत हामीले अनुदानहरू दिएका छौँ । गाई सुत्केरी हँदा भत्ताको व्यवस्था गरेका छौँ । अर्गानिक रैथाने जातिलाई संरक्षण गर्ने गरेका छौँ । त्यसैगरी एउटा कोशेली घरबाट यहाँको उत्पादनलाई बिक्री वितरण गरिरहेका छौँ ।
यो कार्यकालमा तपाईँहरूले समाना गर्न परेको मुख्य समस्याहरू के—के हो ?
हामीले भोगेको मुख्य समस्या कर्मचारीको अभाव हो । समयमा कर्मचारी नआउने, लोकसेवाले समयमा नपठाउने, करारमा लिन पनि अनुमति नहुने जस्ता मस्याले हामीलाई धेरै अलमल भयो । अहिले केही समस्या समाधान भएको छ । जनतालाई सिंह दरबारको अधिकार सबै गाउँमा भनेर उत्साह जगायोपछि तर पछि हामीलाई धेरै अधिकारहरू दिइएन । त्यसले गलत बुझाई जनतामा पुगेको छ । अध्यक्ष र जनप्रतिनिधिहरूले अधिकार भएर पनि नगरेको जस्तो भएको छ । अहिले सबैले बिस्तारै बुझ्दै गएको छ ।
यो कार्यकालमा केन्द्र सरकार र संघ सरकारबाट के कस्तो साथ सहयोग पाउनुभयो ?
नीति अनुसार आउन पर्ने बजेटहरू आइ नै रहेका छन् । राजश्वका कुरा र कर्मचारी समायोजनका कुराहरू केन्द्र र प्रदेशले काउन्सिलीङ नगरेको अबस्था छ । प्रदेशमा धेरै कानुनहरू बन्न बाँकी भएकोले एन कानुनका अफ्ठेरोहरू धेरै छन् ।
संघीयताको हामीले पहिलो अभ्यास गरियो । अब संघीयतालाई कसरी अगाडि लैजाँदा ठीक हुन्छ ?
लुलो लङगडो जस्तो भए पनि बच्चा जन्माएपछि हुर्काउन पर्छ । हामीले संघीयतालाई सुधारेर लैजान पर्छ हाम्रो जस्तो मुलुकमा संघीयता खर्चिलो पनि भएको छ । यसमा हामीले कसरी हुन्छ कम खर्चिलो बनाउन जरुरी छ । तिनै तहको सरकार एकदमै सकृय भएर विकास गर्न जरुरी छ । धेरै एन कानुनहरू बनाउन बाँकी छ । संघीयतालाई राज्यले व्यवस्थित गर्न पर्छ । तत्र संघीयता असफल हुन्छ । सांसदले बजेट खर्च गर्न पाउने हुनाले आफुलाई मन लागेको क्षेत्रमा खर्च गर्ने गरेको छ । हाम्रो गाउँसभाले पालिकाले प्रथामिक्ता दिएको क्षेत्रमा भन्दा अन्य क्षेत्रमा प्रदेशले बजेट हालेमा पालिकाले ओनरसीप नलिने व्यवस्था गरेको छ ।
स्थानीय तहमा उपमेयर र उपप्रमुखहरूले अधिकार अत्यतै कम भयो भन्ने छ । यसमा के भन्नुहुन्छ ?
मुख्य कुरा उपप्रमुखहरूलाई न्ययाधिश बनाएको छ । अनुगमन र मुल्याङकनको जिम्मा पनि उपप्रमुखलाई छ । अन्य संसंस्थाहरूसँग पनि समन्वय गर्ने अधिकार छ । उप भनेको उप नै हो । अध्यक्षको जति अधिकार त हुँदैन् । अड्को पडको तेलको धुप भने जस्तो हो । संविधानले त्योकेको अनुसार काम गर्न पर्छ । तर हाम्रोमा उपाध्यक्षलाई मैले सबै कामहरू सिकाएर नै एक साथ विकास गरेका छौँ ।
अजिरकोट गाउँपालिकामा जनता र जनप्रतिनिधिविचको सम्बन्ध कस्तो छ ?
हाम्रो अजिरकोट बसाईसराईको चपेटामा छ । गाउँमा वृद्धाहरू बढि छन् । युवाहरू कुलतमा फँसेकाहरू मात्रै छन् । उपभोक्ता समिती बनाउन नै गारो छ । वडा अध्यक्षहरू केहि टाठा छन् । तर अन्य प्रतिनिधिहरू समावेसी आधारबाट आएका जनचेतना कम भएकाहरू छन् । यस्ता कुराहरूमा हामीलाई विकास गर्न केहि मुस्कील भयो । गाउँमा शिक्षीतहरू छैनन् । हामी जनप्रतिनिधिले जुनसुकै पार्टीबाट जिते पनि सबैको अभिभावक बनेर काम गरेका छौँ ।
अन्त्यमा केही भन्न पर्ने कुरा छन् ?
हाम्रो अजिरकोटमा सबै भन्दा खुशी कर्मचारीहरू थिए । म आफैँ कानुनको विद्यार्थी र पुरानो मान्छे भएकोले कर्मचारीहरूलाई मैले सिकाउथेँ । यो पुरै कार्यकालमा कर्मचारीहरूले मलाई अभिभावक मानेर काम गर्नुभयो । यो पुरै कार्यकालमा साथ दिएकोले यहाँका जनता र कर्मचारी सबैलाई म धन्याबाद दिन चाहान्छु । त्यसैगरी अब आउने नयाँ जनप्रतिनिधिहरूलाई पनि हामीले गरेको विकासको जगलाई टेकेर विकास गर्न अनुरोध गर्दछु ।



















प्रतिक्रिया