समय गलत हुन्छ कि व्यवहार ? मानिसको अयोग्यताको दोष किन समयलाई थोपरिन्छ ? समय भनेको प्रकृति हो । विश्वको घडी चौबीस घण्टामा कैद छ । साँच्चै भन्ने हो भने समय पानी हो । यसमा कुन रंग घोल्ने त्यो मानिसमा सर्वाधिकार छ । यही २४ घण्टालाई सही काममा उपयोग गर्दा सिंगापुर, फिनल्याण्ड, अमेरिका, स्वीटजरल्याण्ड, नर्वेजस्ता मुलुक बने ।
एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मुकेश अब्बानी, मार्क जुकरबर्ग विश्वकै विख्यात उद्यमी पात्र यही समयका सगुन हुन । यौटै आमाको कोखबाट जन्मिएका मुकेश प्रगतिको छक्का मारिरहेका छन् । उनका भाइ अनिल अम्बानी टाट पल्टिएर अस्तित्वको संकटमा छन् । दाइको भाग्यमा छक्का भाइको भागमा चौका कसरी लेखियो ?
समयको रेल विचित्र ढंगले दौडन्छ । कसका लागि कतिबेला यस्को यात्रा फाप्छ भन्न सकिदैन । एउटा फुच्चेबाट शुरु भएको मान्छेको परिचय हजुरबा भएर टुंगिएको मानिसले पत्तै पाउँदैन । आपतले संकटसंगै शिक्षा पनि बोक्छ । कोभिडको देशान रोग नभएर हामीलाई पाठ पढाउने समयको झापड भनेर बुझ्यौं भने अर्को पुस्ताका लागि सुन्दर राजमार्ग बनाउन हामी सफल हुन्छौं । एउटा पुस्ताले हतियारको धारमा जीवन यापन नगरेसम्म अर्को पुस्ताको विकास नहुने पक्का छ ।
आस्था विनाको जीवनले आफ्नो मूल्यबोध गर्न सक्दैन । जुन जीवनको मूल्यबोध हुँदैन, त्यो जीवन निरर्थक हुन्छ । आस्था हृदयमा पाक्ने बाली हो । यसलाई आफैंले भित्र्याउन सक्नुपर्छ । आस्थाविनाको हृदय पत्रे चट्टानको अर्को रुप हो । यस्तो हृदयमा न कसैसित प्रेम हुन्छ, न ममता हुन्छ, न दया हुन्छ, न त कसैप्रति श्रद्धा नै ।
आस्था नै प्रेमको मूल हो र विवेकको जननी । आखिर ढुंगालाई ईश्वरको कोटीमा पुर्याउने त्यही श्रद्धा र विश्वास नै होइन र ? सम्पूर्ण मानवीय जीवन भाव, भक्ति र समर्पणको एउटा खेती हो । समय नामको लगाममा हामीले यी तमाम कर्तव्यलाई मंसिरे खलो रित्याए भैंm रित्याएका हुन्छौं । जब कर्तव्य आडम्बर र पाखण्डपूर्ण सकुनी जालमा फस्छन, त्यतिबेला मानवीय जीवन आफूले रचेको चक्रव्यूहमा महाभारत पात्र अभिमन्यू जेलिएजस्तै जेलिन पुग्छ ।
सत्यभन्दा ठीकलाई हामीले हाम्रो आदर्श ठानेका छौं । आइतबार निश्चय नै हामीले मान्दै आएको शनिबारको भोलिपल्ट आउँछ । यो त मान्यता हो । तर पानीले आगो निभाउने यथार्थ माने पनि नमाने पनि शाश्वत सत्य हो । संसारमा जब विचारको अवसान हुन्छ, त्यहाँ जीवन निमिट्यान्न हुन्छ ।
अमेरिकी राष्ट्रपतिका प्रत्यासी अल गोरले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भनेको सत्य सम्झनलायक छ । उनले भनेका थिए– ‘नाराले कहिल्यै आगो बाल्दैन, आगो बाल्न त इन्धन चाहिन्छ ।’ कस्तो उत्तम विचार । सत्य बोल्न पनि आखिर साहस चाहिने रहेछ नि । हामीलाई आफ्नोपनमा पटक्कै विश्वास छैन् ।
अरुले राम्रो भनिदिएपछि ‘राम्रो’ को मापन हुन्छ । शान्त, सौम्य, पराक्रमी त्यसमाथि बुद्धका देशको जनताको नियति हो– जहाँ दूध किन्न लाइन लाग्नुपर्छ तर रक्सी पिउन र किन्न चौबीसै घण्टा छूट छ । आफ्नो ढिंडो खाएर गोञ्जालो, सद्दाम हुसेन, माओत्सेतुङ र पिडेल क्यास्ट्रोको जिन्दावाद मुर्दावादमा उफ्रिन सिकाउनु हाम्रो राजनीतिले सिकाएको संस्कार हो । तर यहाँ रोल्पाको रगत, जुम्लाको अभाव र तराईको डुबानले कसैलाई पोल्दैन ।
मानिस असल भए, नियत सङ्लो भए नागरिकताले देश नबोक्ने रहेछ । टोनी हेगनले खुट्याएको भूगोलमा अहिले हामी राष्ट्रियता उधिनिरहेका छौं । त्यो गुन नेपालीले सातजन्ममा तिर्न सम्भव छैन ।
हेर्नुस त बुद्ध, एरिस्टोटल, प्लेटो कसैको बाद थिएन । समूह थिएन । न त झण्डा नै थियो । तैपनि विचारका लागि बाँचेर उनीहरु पूज्य भए । जब राजनीतिमा विवेकको गुन्जायस हुन्न, त्यहाँ सुखद विहानी च्यातिने पक्का छ । धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दा राख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भएर एउटा दर्दनाक अवस्था आएको धार्मिक इतिहास साक्षी छ । स्वतन्त्रता र अधिकार कसैबाट बकसमा प्राप्त हुने वस्तु होइन ।
हामीले महाभारत, रामायण, बेद र पुराणका थुप्रै अध्याय सुन्यौं, पढ्यौं । तर त्यहाँभित्रका राम्रा पक्षलाई आफ्नो जीवनमा अनुवाद गर्न सकेनौं । हिंस्रक, पापी, असत्यवादी, निर्दयी व्यक्ति बुद्धको अनुहार लिएर जन्मदैमा उ शान्तिकामी बन्न सक्दैन । न त चार्ली च्याप्लिन र दुर्वासाको सहयात्रा कल्पना गर्न सकिन्छ ।
क्रियाशील जीवनबाट नै सार्थक उपलब्धि हात लाग्छ । जसरी चलिरहेको ढुंगोमा लेउ लाग्न पाउँदैन, मानव क्रियाकलाप पनि त्यस्तै हो । मुख बाउँदैमा अजिंगरको मुखमा हरिण आएर पस्दैन । त्यसका लागि प्रयास अपरिहार्य छ । नत्र भन्न नहुने कथा र गाउन नमिल्ने गीतको बन्धकभित्र सधैं बाँधिनुको विकल्प छैन् । त्यसैले भनिन्छ– कार्यशील जिन्दगी बगिरहने नदी हो ।




















प्रतिक्रिया