स्थानीय सरकारको यो पहिलो कार्यकाल सकिँदै छ । आगामी वैशाख ३० गते सरकारले स्थानीय तहको मिति घोषणा गरिसकेको छ । संघीयताको यो पहिलो अभ्यासमा स्थानीय सरकारको काम कारवाहीको समिक्षा गर्ने समय आएको छ । यो कार्यकालमा केही पालिकाहरूले राम्रो विकास गरेर जनतालाई सिंहदरबार गाउँमै आएको आभास दिलाएका छन् । भने केही पालिकाहरू आन्तरिक समस्या र विवादमा यो कार्यकाल खर्चिएका छन् ।
हामीले पछिल्लो २ महिनादेखि निरन्तर पालिकाहरू यो कार्यकालको समिक्षामा बहस गर्दै आएका छौँ । यसै सन्दर्भमा सिन्धुली जिल्ला स्थित तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरसँग अनलाइपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :
स्थानीय तहको यो कार्यकाल सकिँदै छ । यो कार्यकालमा तीनपाटनमा विकास कामहरू के—के गर्नुभयो ?
हामी निर्वाचित भएर आउँदा तीनपाटनको अवस्था लथालिङ्ग थियो । यो पालिका अत्यन्त दुर्गम पालिका हो । हामी निर्वाचित हुँदै गर्दा यहाँ सडक बनेको थिएन । हाम्रो पालिका भौगोलिक रुपमा पनि ठूलो पालिका हो । त्यसो हुनाले पनि हामीले धेरै कामहरू गर्न पर्ने थियो ।
अहिले तीनपाटनमा हामीले प्रत्यक वडाहरूमा १२ महिना नै सडक सञ्चालन गर्न सक्ने बनाएका छौं । त्यसैगरी पालिकाका सबै टोल—वस्तीमा सडक पुर्याएका छौँ । पालिकामा खानेपानीको राम्रो व्यवस्था गरेका छौँ । त्यसैगरी विद्युतमा पनि राम्रो विकास गरेका छौँ । अहिले सबै पालिकावासीले बिजुली बाल्न पाएका छन् ।
त्यसैगरी शिक्षा क्षेत्रमा विद्यालयका भवनहरू बनाएका छौँ । विद्यालयको पठनपाठनलाई पनि व्यवस्थित बनाउन पहल गरेका छौँ । गाउँपालिकाको भवन सम्पन्न हुन लागेको छ । हाम्रो पालिकामा ११ वटा वडाहरू छन् । सबैमा वडा कार्यलय भवन बनाएका छौँ । स्वास्थ्यको क्षेत्रमा हामीले सबै पालिकामा स्वास्थ्य कार्यलयका साथै टाडा पर्ने गाउँवासीहरूलाई लक्षित गरि ६ वटा स्वास्थ्य इकाईहरू पनि बनाएर सेवा सुरू भएको छ । कृषिमा विकास गर्नका लागि विभिन्न अनुदानहरू प्रधान गरेका छौँ । त्यसैगरी कृषि तालिमहरू पनि सञ्चालन गरियो । विकाश निरन्तर चल्ने प्रक्रिया हो । हामीले यो कार्यकालमा धेरै विकास गर्न नसके पनि गाउँपालिकामा विकासको लहर सुरू भएको छ । यस्तो दुर्गम ठाउँमा यति काम गर्नु राम्रो उपलब्धि मानेका छौँ ।
अहिले कोरोना महामारीको तेस्रो लहर चलिरहेको छ । कोरोना महामारीले तीनपाटनमा कस्तो प्रभाव पार्यो ? कसरी नियन्त्रण गर्दै हुनुहुन्छ ?
हाम्रो पालिकामा यो पटक भने त्यती भयावह भएन । हामीलाई पहिलो र दास्रो लहरमा भने नियन्त्रण गर्न निकै गारो भएको थियो । अहिले धेरै पालिकावासीहरूले कोरोना विरुद्धको खोप लगाई सकेकोले पनि मनोबल बढेको छ । हामीले पहिले पनि सबै स्वास्थ्यका मापदण्डहरू अपनाएर, स्वास्थ्य कर्मी र जनप्रतिनिधिहरू परिचालन गरेर नियन्त्रण गर्दै आएको हो । त्यसरी नै नियन्त्रण गरिसकेको छौँ । अहिले मानिसहरू पनि धेरै सचेत भएका छन् । त्यसले गर्दा पनि कोरोना महामारी त्यति धेरै नफैलिएको हो ।
तपाईँले अध्यक्षमा उम्मेदवार हुँदा जनतासँग गर्नुभएको प्रतिवद्धता पुरा गर्न नभ्याउनुभएको चै के—के हो ?
मैले अध्यक्षमा जिताउन जनतालाई मत माग्दै गर्दा गर्छु भनेका प्रतिवद्धताहरू प्रायः पुरा गरेको छु । केही कामहरू बजेट अभाव, कोरोना महामारी लगायतका समस्याले गर्दा पुरा हुन सकेका छैनन् । हामीले विद्युत, सडक, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा राम्रो विकास गरेका छौँ । तर तटबन्धनको काम भने यो कार्यकालमा गर्न बाँकी रहेको छ । हामीले लगभग जनतासँग गरेको प्रतिवद्धताको ७० प्रतिशत काम पुरा गरेका छौँ ।
यो कार्यकालमा तीनपाटन गाउँपालिकाले केन्द्र र प्रदेश सरकारबाट कस्तो साथ—सहयोग पायो ?
म यो कार्यकालमा राम्रो साथ दिएकोले केन्द्र सरकारसँग एकदमै कृतज्ञ छु । तर प्रदेश सरकारसँग भने हाम्रो विकासका काममा कहिल्यै पनि केही पनि समन्वय नै भएन् । प्रदेशले कार्यकर्ता मुखी हिसावले अगाडि बढेको छ । आफ्नो पार्टीले चुनाव जितेको पालिकालाई योजना दिएको छ । हामीले यो कार्यकालमा माग गरेका योजनाहरूलाई प्रदेश सरकारले वास्ता गरेन् ।
नेपालमा संघीयताको पहिलो अभ्यास पुरा हुन लागेको छ । संघीयताको तिन संरचनाहरूमा कस्तो सुधार गर्न पर्छ जस्तो लाग्छ तपाईँलाई ?
संघीयता हाम्रो देशको लागि निकै खर्चिलो भएको छ । हामी जस्तो विकासोन्मुख देशले यस्तो खर्चिलो प्राणाली अपनाउन हुँदैथ्यो । प्रदेश सरकार कै कारणले गर्दा संघीयता खर्चिलो भएको हो । देश विकासमा प्रदेशको कुनै भुमिका छैन् । प्रदेशले संघीयतालाई धरापमा पारेको छ । यो कार्यकालमा हामी स्थानीय जजनप्रतिनिधि र जनताले प्रदेश सरकारको भुमिका विचौलीयाको देखिएको छ । त्यसैले प्रदेशलाई खारेज गरेर संघीयतालाई नयाँ ढाँचामा लैजान पर्छ । त्यसो गर्दा समृद्ध नेपाल बन्न धेरै समय लाग्दैन् । यो जनताको भावना हो ।
स्थानीय तहमा उपाध्यक्षहरूले कम जिम्मेवारी दिइएको, सबै काम अध्यक्ष केन्दीत भएको भन्ने असन्तुस्टी आएको छ । यसमा के भन्नुहुन्छ ?
उपमेयर र उपाध्यक्षहरूले धेरै जिम्मेवारी पाएका छन् । न्यायिक समितिको जिम्मा उहाँहरूलाई छ । त्यसैगरी सबै अनुगमनको जिम्मा पनि उपाध्यक्षलाई नै छ । विकास गर्न र काम गर्न उहाँहरूको योग्यता, सिप र क्षेमताले पनि प्रभाव पार्छ । हाम्रो पालिकामा हामीले सबै कामहरू उपाध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरू एक भएर गरेका छौँ ।
तीनपाटनमा जनता र पालिका सरकारबीचको सम्बन्ध कस्तो छ ? यो कार्यकालमा कस्तो अनुभव गर्नुभयो ?
स्थानीय सरकार जनताको नजिकको सरकार हो । यो सरकार जनताले घर दैलोमा भेट्न सक्छ । हामीले यहिँ जन्मेर हुर्केर राजनीतिमा लागेर यहाँकै जनताले जिताएर जनप्रतिनिधि बनाएका हुन् । जनप्रतिनिधि र जनताबीच सबैसँग चिनजान छ । त्यसो हुनाले पनि सम्बन्ध राम्रो छ । यो पुरै कार्यकालमा कुनै अवरोध र विवादहरू आएनन् ।
स्थानीय सरकार आएपछि गाउँगाउँमा भ्रष्टचार मौलायो भन्ने छ । तीनपाटनमा पनि भ्रष्टचार भएको हो ?
हाम्रोमा सबै काम पारदर्शी ढंगले भएका छन् । हाम्रो पालिकामा भ्रष्टचार भएको छैन् । तर कहीँ पनि नभएको भने होइन् । केही पालिकाहरूमा भ्रष्टचार भएका छन् । निश्चित निकायले छानबिन गरेर कारवाहीमा ल्याउन जरुरी देखिएको छ ।
आगामी निर्वाचनमा तपाईँ तीनपाटनको अध्यक्षमा दोहोरिन चाहानुहुन्छ ?
यदि पार्टीले र यहाँका जनताले चाहान्छन् भने म दोहोरिएर यो विकाशलाई अझै राम्रो गर्न चाहान्छु ।
तपाईँको आगामी निर्वाचनमा तीनपाटनमा फेरी अध्यक्षमा उठ्दा मुख्य एजेण्डा के हुन्छ ?
म तीनपाटनमा कृषि क्षेत्रको विकासमा जोड दिन्छु । कृषि विकासकै माध्यमबाट रोजगारीको अवसर सृजना गर्छु । त्यसैगरी यी संरचनाहरूको निरन्तर्तामा जोड दिन्छु ।



















प्रतिक्रिया