नेपाल इन्जिनियर्स एशोसिएसनको (ने.इ.ए) ३३ आँै कार्यकारिणी समितिको निर्वाचन यही फाल्गुन २७ गते हुन गइरहेको छ । नेपाल इन्जिनियर्स एशोसिएसनले देशभरका इन्जिनियरहरुको हकहितको संरक्षण र पेशागत मर्यादाका लागि काम गर्दै आइरहेको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचमा पाच ओटा समुहहरु प्रतिस्पर्धामा छन् । पछिल्लो समय ने.इ.ए राजनिति गर्ने थलोको रुपमा परिवर्तन भइरहेको इन्जिनियरहरुको गुनासो देखिन्छ ।
यस निर्वाचनमा भाग लिने समुहहरु मध्य लोकतान्त्रिक इन्जिनियर समुह पनि एक हो । यसै सन्दर्भमा अनलाइनपानाकर्मी सिर्जना स्नेहीले लोकतान्त्रिक इन्जिनियर समुहबाट उपाध्यक्ष पदका उम्मेदवार ई. ऋषि कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश यसप्रकार रहेको छ ।
नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदारी दिइरहँदा, यहाँको एजेन्डाहरु केके हुन् ?
नेपाल इन्जिनियर्स एशोसिएसनको (ने.इ.ए) ३३ औँ कार्यकारिणी समितिको निर्वाचनामा हाम्रो लोकतान्त्रिक इन्जिनियर समुहबाट मैले उपाध्यक्ष पदको लागि उम्मेदारी दिएको छु । हामीले जहिले पनि इन्जिनियरहरुको हकहितमा काम गर्दै आएका छौँ । यो निर्वाचनमा हामीले मुख्य गरी इन्जिनियरहरुको लागि विभिन्न एजेन्डाहरू बनाएका छौँ । जसमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, सेवा सुविधा तथा क्षमता अभिवृद्वि, इन्जिनियरिङ क्षेत्रमा रोजगारी, इन्जिनियरिङ सम्बृद्व निजी क्षेत्रको विकास, इन्जिनियरको हकहितको संरक्षण लगायतका एजेन्डालाई प्राथमिकतामा राखेका छौँ । यो बाहेक इन्जिनियरिङसँग सम्बन्धित अन्य विषयमा पनि हामीले पहिलेदेखि नै काम गर्दै आएका छौँ र अब पहिलेको भन्दा पनि सुधारात्मक कामहरू हामी गर्ने छौँ ।
इन्जिनियर क्षेत्रमा पनि राजनीति धेरै भएको देखिन्छ । तर इन्जिनियरहरूको हकहितको लागि काम भने गरेको पाइँदैन, यो विषयमा के भन्नुहुन्छ ?
इन्जिनियर्स एशोसिएसनमा पक्कै पनि पछिल्लो केही समयता एशोसिएसनको मानमा आँच आउने तरिकाले कामहरु भए । तर हामीले देशभर नै इन्जिनियरहरुको लागि मात्रै काम गर्दै आएका छौँ र एशोसिएसनमा जुन प्रकारको राजनीति र एउटै विचार समुहको हाबी भएको छ । इन्जिनियर्स एशोसिएसन विचारको राजनीति गर्ने थलो हैन । यहाँ इन्जिनियरहरुको पेशागत विषयलाई प्राथमिकता दिनुपर्ने हो र हामीले, हाम्रो लोकतान्त्रिक इन्जिनियर समुहले यही गरिरहेको छ ।
यस निर्वाचनमा उपाध्यक्ष पदमा तपार्इँका अन्य ४ प्रतिस्पर्धी पनि छन्, इन्जिनियरहरुले तपाईँलाई नै मत किन दिने ?
यस निर्वाचनमा म बाहेक अन्य ४ जना उपाध्यक्षको लागि प्रतिस्पिर्धीहरु हुनुहुन्छ । उहाँहरु प्रति मेरो सम्मान छ । मैले विगत ६ वर्षदेखि नेपाल भ्यालुअर्स एशोसियसनमा महासचिव भएर काम गरेँ र ४ वर्षदेखि उक्त एशोसिएसनको अध्यक्ष भएर काम गरिरहेको छु । मेरो नेतृत्वमा बैकिङ्ग क्षेत्रको आन्दोलनको बेला कुमारी बँैकसँग आन्दोलन गर्यौँ । यो बाहेक राष्ट्र बैकमा पनि धर्ना दिएर इन्जिनियरहरुको हकहितको लागि काम गरेँ । कुनै संगठन र विचार नभनी अहिलेसम्म काम गरेको छु । अहिले इन्जिनियरङ्ग एशोसिएसनलाई निष्पक्ष रुपमा काम गर्ने, इन्जिनियरको लागि सही निर्णय लिएर उनिहरुलाइ यो पेशामा टिकाउन सक्ने क्षमता भएको पदाधिकारीको खाँचो छ ।
मैले पहिलेदेखि नै गरिआएको कामको बारेमा सबैलाई जानकारी छ । र म नेपाल इन्जिनियर्स एशोसिएसनमा उम्मेदवार हुँदै गर्दा इन्जिनियरहरुले भोगिरहेको बरोजगारीको समस्या, पेशागत सुरक्षा, पेशागत मर्यादा, शैक्षिक गुणस्तर लगायतको क्षेत्रमा काम गर्ने अठोट लिएको छ । देशव्यापी रुपमा रहेको निर्माण क्षेत्र, विभिन्न संस्थाहरु, हाइड्रो पावरहरुको पहिचान गरेर इन्टनसिपको व्यवस्थाका लागि सरकारसँग समन्वय गर्न पहल गर्नेछु । सबैमा सूचना आदान प्रदानको लागि पनि काम गर्ने छौँ । इन्जिनियरिङ कलेजहरुमा अध्ययनरतहरुको लागि पनि काम गर्ने छु । इन्जिनियरको वीमाको लागि, देशका युवा विदेश जाने र विदेशको इन्जिनियर नेपालमा आएर काम गर्ने परिपाटी बदल्न काम गर्ने छु ।
तपाईँले नेपाल इन्जिनियर्स एशोसिएसनको उपाध्यक्षमा जित्नुभयो भने, पहिलो काम के गर्नुहुन्छ ?
मैले नेपाल इन्जिनियर्स एशोसिएसनको उपाध्यक्षमा जितेँ भने, मैले गर्ने पहिलो काम भनेको समन्वय हो । इन्जिनियर्स एशोसिएसनसँग सम्बन्धित सबै निकाय र व्यक्ति चाहे त्यो जुनसुकै विचार समुहको भए पनि उहाँसँग हरेक क्षेत्रमा सम्मन्वय गरेर इन्जिनियरहरुको पक्षमा कसरी काम गर्ने भनेर सहकार्य गर्नेछु ।
र अन्त्यमा तपाईँलाई केही भन्नु छ ?
अब कुनै एउटा विचारधारालाई मात्रै लिएर अगाडि बढ्नु भन्दा, पूरै इन्जिनियर क्षेत्रको लागि काम गर्ने अवसर मिले यहाँको अपेक्षाहरुलाई पूरा गर्नेछु । त्यसैले मलाई आफ्नो अमुल्य मत दिनहुन अनुरोध गर्दछु ।





















प्रतिक्रिया