Logo

प्रवास

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ ।

अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।  थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।

संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ। नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदैछ ।

अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् ।

थापा जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बनेकी छिन् । विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन ।

नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन् । एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन ।

थापाको कार्यकालमा एनआरएनएमा महिला सहभागिता समेत बढेको थियो। उनको एक मात्र उद्देश्य छ–एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको छ । उनी यसका लागि आफू योग्य उम्मेदवार भएको दावी पनि गर्छिन। थापालाई ‘डेमोक्रयाट’ खेमाको समर्थन छ ।

अर्का प्रत्यासी केसी डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । केसी संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए ।

डा. केसीले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पुर्‍याउने दावी गरे। आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको केसीको दावी छ । सबैको साझा उम्मेदवार भनेर चिनिए पनि डा. केसी वामपन्थी निकट मानिन्छन् ।

यता अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने चुनावी मैदानमा सहभागी भएनन् । प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै आचार्यसहित निकटका केही उम्मेदवारले मनोनय नै दर्ता गराएनन् । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै कुमार पन्तसँग पराजित भएका थिए । दोस्रो पटक नेतृत्वमा आउने चाह राखेर तयारीमा जुटेका आचार्य अन्तिममा चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् । 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार २०:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।