हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटिया सानोगंगटेका विवेक सुवेदी अहिले बाख्रा फार्म तिरै व्यस्त छन् । ३१ वर्षका सुवेदी व्यवसायिक बाख्रापालनमा लागेको तीन वर्ष भयो । उनले बाख्रापालन गरी स्वरोजगार बनौं, आर्थिक हैसियत मजबुत बनाऔं भन्ने योजनाका साथ बी.बी.आर एग्रो प्रा.लि फार्म खोलेर अहिले बाख्रापालन गरिरहेका हुन् ।
अस्ट्रेलियाबाट ल्याइएको बोयर जातको बाख्रापालन गरिरहेका उनले लेयर्स कुखुरा पनि पालेका छन् । अहिले उनको खोरमा ४० वटा बोका, ४० वटा बाख्रा, ५० वटा बेच्न तयार भएका पाठापाठी र स–साना पाठापाठी गरी २४० वटा बोयर जातका बाख्राहरु छन् । पढाईको शिलशिलामा काठमाडौं गएका सुवेदी करिब १० वर्षजति काठमाडौंमा नै मोबाइल पसल चलाएर बसेका थिए । विभिन्न ठाउँमा घुम्ने क्रममा देखिएको बाख्रापालनपछि आफूलाई पनि यसैमा लाग्ने जाँगर चलेको उनी बताउँछन् । घरमा पहिल्यैबाट बाख्रापालन गरिएको भएपनि व्यवसायिक रुपमा बाख्रापालन गर्न थालिएको तीन वर्ष जति भएको उनले सुनाए ।
सुवेदीको मात्र होइन उक्त फार्ममा अरु दुई जनाको पनि लगानी छ । फार्ममा ४५ वर्षीय बद्रीनाथ ज्ञवाली र ४८ वर्षीय राजु पराजुली गरी तीन जनाको लगानी रहेको छ । अहिलेसम्म फार्ममा तीन करोड भन्दा बढी लगनी भैसकेको सुवेदीले बताए । उनको फार्ममा खरी जातको बाख्रा पनि पालिएको छ । त्यस्तै सात हजार कुखुरा अट्ने पोल्ट्री फार्म पनि रहेको छ । उक्त पोल्ट्री फार्ममा अहिले भने तीन हजार लेयर्स कुखुरा रहेको छ ।
सरकारले बेवास्ता गरेको गुनासो
पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरुको आकर्षण बढेपनि सरकारबाट वास्तविक कृषकहरुलाई साथ सहयोग नभएपछि कृषकहरु खिन्न छन् । आफूले ठूलो लागतमा व्यवसाय सुरु गरेको तर सरकारबाट कुनैपनि अनुदान प्राप्त नभएको सुवेदीको गुनासो छ ।
बागमती प्रदेश सरकारबाट प्रदान गर्ने अनुदान ‘सोर्सफोर्स’का आधारमा अरुलाई नै प्रदान गरिएको उनले आरोप समेत लगाए । विभिन्न चरणमा आफ्नो फार्म छनौट भएपनि अन्तिम चरणमा आफ्नो भन्दा कम नम्बर प्राप्त गर्ने फार्मलाई अनुदान प्रदान गरिएको उनले बताए । ‘हाम्रो फार्ममा लगानी ठूलो रहेको छ । हेटौंडा उपमहानगरपालिकाबाट प्राप्त अनुदान पर्याप्त नहुने भएकाले उपमहानगरपालिकामा भने अनुदानको लागि खासै पहल गरेनौं’, सुवेदीले भने । बाहिरी बजारसंग प्रतिस्पर्धा गरिरहँदा आफू जस्तै कृषकहरुलाइ निकै कठिन पर्ने उनको भनाई छ ।
‘उनीहरुले विभिन्न अनुदान र राहत लिएर व्यवसाय गर्दा लागत कम लाग्ने हुन्छ तर हाम्रो लागत बढी भइरहेको हुन्छ, यस्तोमा उनीहरुसंग प्रतिस्पर्धा गर्दा घाटाको व्यापार गरिरहनु परेको छ’, सुवेदीले थपे, ‘सरकारले कृषकहरुको भविष्य सुनिश्चित गरिदिए यो व्यवसाय थप फैलिँदै जानसक्छ । हामी संघर्ष गरिरहेका छौं ।’ उनले व्यवसाय सुरु गरेको पहिलो वर्ष नाफा आर्जन नभएको र गतवर्ष भने खर्च कटाएर केही नाफा भएको सुनाए ।
एउटै बोकाको दुई लाख ५० हजार
बी.बी.आर एग्रो प्रा.लिमा बोयर जातको बोका तथा माउ अहिले बीउको लागि बिक्री वितरण सुरु भएको छ । एउटा बोकाको मूल्य अहिले दुई लाख ५० हजार रुपैयाँ पर्ने गरेको सुवेदी बताउँछन् । अस्ट्रेलियाबाट आयात गरेको बोका तथा माउबाट उत्पादन गर्नुपर्ने भएकोले महँगो पर्ने गरेको उनले बताए ।
उनले फार्ममा चार जनालाई रोजगारी पनि दिइरहेका छन् । फार्मको सम्पूर्ण जिम्मेवारी फार्मका म्यानेजर तथा टेक्निसियन रञ्जन अर्याललाई दिइएको छ । बाख्राको लागि तीन बिगाहा क्षेत्रमा घाँस लगाइएको अर्यालले बताए । बारीमा सुपर नेपियर, जै, बार्सिम स्टाइलो, किम्बु लगायतको घाँसहरु लगाइएको छ । अहिले बोयर जातको बाख्रा मासुको लागि भने खासै बिक्री हुने गरेको छैन । नेपाल व्यवसायिक बाख्रापालन महासंघ मकवानपुरले प्रतिकिलो एक हजार दुई सय रुपैयाँ जिउँदोलाई पर्ने गरी प्रदेश सरकारलाई मूल्यसूची बुझाएको छ । महासंघका नवचिर्वाचित अध्यक्ष समेत रहेका सुवेदीले उक्त मूल्यसूचीमा बिक्री गर्दा पनि किसानलाई घाटा पर्न जाने जानकारी दिए ।
प्रदेश सरकारले भने उक्त मूल्य सूचीमा कुनैपनि प्रतिक्रिया दिएको छैन । घाँस तथा दानाको मूल्य दिनानुदिन बढेपनि मासुको मूल्य बढाउन सरकार हिचकिचाउने गरेको उनको आरोप छ । अहिले सरकारी निकाय तथा विभिन्न संघसंस्थाबाट बोयर जातको बोका तथा माउ किन्न आउने गरेका छन् । ‘बीउको लागि बाख्रा उत्पादन गरिएको भएर अहिले हाम्रो व्यवसायबाट त राम्रै नाफा भएको छ, तर समग्रमा बाख्रापालक कृषकहरुले घाटाको व्यापार गरिरहनुपरेको छ’, उनले भने, ‘सरकारले उचित अनुदान र राहतको व्यवस्था गरिदिए थप सहज हुने थियो ।’ भारतबाट आयात गरिएका खसी बोकाहरु उत्पादन गर्न उनीहरुलाई कम खर्च हुने हुँदा बजारभाउ पनि सस्तो देखिएको उनले बताए ।
उनले भने ‘भारतमा विभिन्न निकायबाट राहत तथा अनुदान लिएर व्यवसाय गर्छन्, जसबाट बजारभाउ सस्तो हुन्छ । तर हाम्रोमा लागत नै बढी हुने हुँदा बजारभाउ पनि बढाउनुपर्ने बाध्यता रहेको छ, यस्तोमा प्रतिस्पर्धा गर्न निकै कठिन परेको छ ।’





















प्रतिक्रिया