Logo

राजनीति

देउवाले ती ज्योतिषीलाई भेटे भने के भन्लान् ?



२०७४ सालको प्रतिनिधिसभाको निर्वाचन अभियानका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्योतिषीले ‘सात पटकसम्म प्रधानमन्त्री बन्नुहुन्छ’ भनेको कुरा निकै चर्चाको विषय बन्यो । 

ज्योतिषीले बोलेको कुरा सार्वजनिक सञ्चारमाध्यममा आएपछि विभिन्न टिकाटिप्पणीहरु भए । केही दिनअघि राष्ट्रपतिकहाँ उनले एक सय ४९ सांसदको हस्ताक्षर लिएर जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशस्त आधार नपुगेको र सांसदको हस्ताक्षर दुबैतर्फ भएको भन्दै नियुक्त गर्न अस्वीकार गरिन् । देउवा असफल भएपछि फेरि पनि ठूलो दलको हैसियतले केपी शर्मा ओली नै प्रधानमन्त्री भए । यही समयमा ती ज्योतिषीलाई भेटे देउवाले के भन्लान् भन्ने विषयलाई निकै चासोसाथ हेरियो । 

अहिले परिस्थिति फेरिएको छ । देउवा नेतृत्वको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र अरु पार्टी मिलेर सोमबार सर्वोच्च अदालतमा फेरि त्यही प्रधानमन्त्रीको दाबी गरे । १४६ सांसदहरु सशरीर नागरिकताको प्रतिलिपि लिएर भेला भए । २७१ सांसद रहेकोमा बहुमत पुगेर सरकार बनाउन १३६ भए पुग्छ, सर्वोच्चमा भेला भएको संख्या आवश्यकभन्दा १० बढी हो । कानुन अनुसार छिटै हुने हो भने देउवा केही दिनमै नेपालको ४४ औं प्रधानमन्त्री बन्दैछन् । उनको यो नयाँ यात्रा पाँचौपटकको लागि प्रधानमन्त्रीको हुनेछ । आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने र फेरि पनि संसदीय दलको नेता भएर आफैं प्रधानमन्त्री बन्ने दाउमा रहेका उनी त्यतिबेला पनि सफल भए भने ६ पटक प्रधानमन्त्री बन्नेछन्, यो नेपालको पहिलो इतिहास हुन्छ, अहिलेसम्म कोही पनि यति धेरै पटक प्रधानमन्त्री भएका छैनन् ।

पछि फेरि समयले साथ दिएर एकपटक मात्र प्रधानमन्त्री बने भने ती ज्योतिषीले भनेको कुराले सार्थकता पाउँछ । देउवाले निर्वाचनमा जाँदा कम्युनिष्टको सरकार बन्यो भने जनताले हाँस्न पनि पाउँदैनन् भनेका थिए, जुन अहिले सार्थक भएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ११ : ५१ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।