काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिको आजको बैठकले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको हो । पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल बाहिरबाट सिफारिसमा परेका हुन् । पौडेल हाल संचार मन्त्रालय अन्तर्गत कै राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।
स्रोतका अनुसार यी ३ मध्ये सुशील पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त हुने सम्भावना उच्च छ । उनलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्ने गरि छनौटको मापदण्ड नै परिवर्तन गरिएको स्रोतको दाबी छ ।
उता टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताए ।
टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उनले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताए । नेपाल टेलिकम नबुझेको मान्छेले यस संस्थालाई हाँक्न नसक्ने उनले बताए ।
उनले भने – ‘आज दुई दिन देखि नेपाल टेलिकममा एमडीको नियक्ति हुँदै गर्दाखेरी नेपाल टेलिकममा बिसौँ वर्ष, तिसौँ वर्षसम्म काम गरेका व्यक्तित्वहरु हुनुहुन्छ । सिनियर सर, म्याडमहरु हुनुहुन्छ । यो संस्थामा आफ्नो जीवनको सम्पूर्ण लगानीहरुपनि लगाइसक्नु भएको छ । संस्था बुझेको, संस्थामा भिजेको र संस्थामा लगानी गरेको मान्छे र संस्थालाई सबैतिरबाट बुझेको मान्छे संस्था प्रमुख हुनुपर्छ । र नेपाल टेलिकम एक नम्बर संस्था हुनका लागि आजसम्म आइपुग्दा जुन अभियानहरु उहाँहरुले आफ्नो संस्थामा लगानीहरु पनि गर्नुभएको छ ।
संस्था एक नम्बर हुनका लागि यहीँको संस्था प्रमुख भएर पनि आजसम्म कायम रहेको कुराको कारणले आज बाह्य हस्तक्षेपका कुराहरु पनि आएका छन् । विभिन्न किसिमका सेटिङका कुराहरु पनि आएका छन् । हामी के चाहान्छौँ भने नेपाल टेलिकममा बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई ड्राइभ गर्न सक्छ । संस्थाको उन्नति, प्रगतिको लागि र संस्थालाई दिगो जिवन्तता दिनका लागि पनि यहाँको सिनियर सर-म्याडमहरु यहाँको एमडी हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’
नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।





















प्रतिक्रिया