Logo

मकालु हिमालबाट सेनाले उठायाे ७ हजार किलो  फोहाेर



सफा हिमाल अभियानअन्तर्गत सङ्खुवासभाको मकालु हिमालबाट साढे ६ हजार किलोग्रामभन्दा बढी फोहाेर संकलन गरिएको छ। सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट ६ हजार ६ सय सात किलोग्राम फोहर गरेको छ।

मकालु हिमालको आधार शिविरबाट ६ हजार ६ सय सात किलोग्राम फोहर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका सेनानी रुपकजङ्ग थापाले जानकारी दिए। फोहर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गएको वैशाख १२ गते  मकालु हिमालको आधार शिविर पुगेको उनले जानकारी दिए।

टोलीले गएको जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो, र चौथो क्याम्प फोहर संकलन गरेको थियो। यस्तै सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाइ गरिएको टोलीले जनाएको छ।

सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहर संकलन हुने टोलीले जनाएको छ। सङ्खुवासभाको मकालु गाउँपालिका-२ मा पर्ने मकालु हिमालको उचाइ आठ हजार चार सय ६२ मिटर हो । अभियान टोलीले मकालु हिमालको ७ हजार ४ सय मिटर उचाइसम्मको फोहर सङ्कलन गरेको जनाएको छ। 

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहर सङ्कलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहर र १७ सय २५ किलोग्राम कुहिने फोहर सङ्कलन गरेको सेनानी थापाले जानकारी दिए। टोलीले सङ्कलन गरेको कुहिने फोहर मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेललाई हस्तान्तरण गरिएको सेनानी थापाले बताए। 

फोहर सङ्कलन टोलीले मकालु गाउँपालिकालाई कुहिने १७ सय २५ किलोग्राम फोहर बुझाएको छ भने अन्य नकुहिने फोहर काठमाडाैं लगिएको सेनानी थापाले बताए। सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ८ : ४३ बजे