पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्त्वको हरसिद्धिको नाच प्रदर्शन गरिँदै छ । श्री श्री श्री हरसिद्धि जलद्योः नाच मूल समितिका अनुसार तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको हो ।
जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नम्बर २८ बाट १०० जना देवगण आउने जानकारी गराइएको छ । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलीप वैद्यले जानकारी दिए ।
हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो । ११३३ सालमा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताए ।
अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो । जसलाई राजा प्रताप मल्लले फेरि सुरु गरेका हुन् । हरसिद्धिका स्थानीयवासी धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउँछन् ।
तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्त्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो । जात्रा सुरु भएको इतिहासअनुसार करिब दुई हजार वर्ष अघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताए ।
जात्रा चैत २५ गते पशुपति आई २७ गते बिदा हुने जनाइएको छ । जात्राका लागि २० लाख रुपैयाँ बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइने भएको छ ।





















प्रतिक्रिया