Logo

प्रमुख समाचार

स्थानीय तह चुनावमा मौलाएको परिवारवाद

शीर्ष नेताका श्रीमती, छोरी र छोरालाई महानगरमा उम्मेदवारको टिकट



यतिबेला सिंगो देश नै निर्वाचनमय भएको छ । यो लेख तयार गर्दै गर्दा स्थानीय तह निर्वाचन उम्मेदवारी मनोनयनको अन्तिम चरणमा छ । अहिलेसम्म २४ हजारको हाराहारीमा उम्मेदवारी दर्ता भएका छन् ।

पाँच दलीय विशाल गठबन्धनबाट जित निश्चितजस्तै देखिएको थियो । तर भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका लगायत सबै महानगर र उपमहानगरहरुमा भने पार्टी परित्याग गरेर स्वतन्त्रमा उम्मेदवारी परेको छ । यसले गर्दा गठबन्धनको भोट बाँडिएपछि नेकपा एमालेलाई जितको आस पनि पलाएको देखिएको छ ।

नेकपा एमालले उम्मेदवारको टुंगो लगाउने क्रममा जसरी पनि जित्ने उम्मेदवारलाई टिकट दिने रणनीति अपनाएको थियो । त्यसै अनुसार एमालले टिकट वितरण गरेको छ । पाँच दलीय सत्ता गठबन्धनले भने आफ्नो परिवारको सदस्यलाई टिकट वितरण गर्न प्रतिस्पर्धा नै गरेको छ ।

गठबन्धनबाट नेपाली कांगे्रसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको छ । कांगे्रसले काठमाडौंको मेयरमा नेता प्रकाशमान सिंहकी श्रीमती सृजना सिंहलाई टिकट दिएको छ । सृजनाले टिकट पाउनुको प्रसंग पार्टीको १४ औँं महाधिवेशनसँग जोडिएको छ । महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुँदा नेता सिंह पक्षको मत निर्णायक भएको थियो । तत्कालिन सभापतिका उम्मेदवार देउवाले नेता सिंहलाई प्रधानमन्त्री बनाउने भनेर आफूलाई सभापतिमा जिताउन प्रस्ताव राखेको भन्ने हल्ला आएको थियो । तर देउवाले नेता सिंहको त्यो गुन अहिले सृजनालाई मेयरको टिकट दिएर तिरेको प्रस्ट भएको देखिन्छ । राजनीतिक अ‍ैँचो पैँचोमा राम्रो सारतार गर्न चतुर देउवाले सिंहलाई टिकट दिन पार्टीमा दवाव पैदा गरेका थिए ।

नेपाली कांगे्रसमा नेतृत्व परिवर्तनको खोक्रो भाषण दिने नेता सिंह पदीय मोहमा चिप्लिएर फेरि देउवालाई नै सभापति बनाउन राजी भएका थिए । अब कुरा गरौँ जितको, काठमाडौंमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालले काठमाडौंका पुर्व मेयर तथा बागमती प्रदेशका मन्त्री समेत भैसकेका नेता केशव स्थापितलाई उठाएको छ । त्यसैगरी युवा, कलाकार तथा इन्जिनियर बालेन साहले स्वतन्त्रमा उम्मेदवारी दिएको छ । यो पटक काठमाडौंमा सिंह, स्थापित र साहबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जनतालाई गठबन्धनको, युवाको र अनुभवीको प्रभाव कति पर्छ त्यो अनुमान अहिले नै गर्न सक्ने अवस्था छैन् ।

अब चर्चा गरौँ भरतपुर महानगरको गठबन्धनका दलहरुलाई भरतपुर महानगरको विवादले गर्दा भागभन्डा मिलाउन हम्मे हम्मे परेको थियो । स्थानीय आवश्यक्ताको आधारमा गठबन्धन गर्ने भन्ने तर्क र गत स्थानीय तहको निर्वाचनमा जसले जहाँ जितेको छ त्यहाँ त्यही दलले उम्मेदवार उठाउने भन्ने तर्क आफसमा बाँझिदा पछिल्लो तर्क अनुसार भागभन्डा भएर नेकपा माओवादी केन्द्रको भागमा भरतपुर परेको छ । अझ जनताले सहजै बुझ्ने भाषामा भन्न पर्दा प्रचण्डको पोल्टामा भरतपुर महानगर पालिका गठबन्धनले हाल्दिएका छन् । चितवन कांगे्रसको लामो विरोध पश्चात पनि केन्द्रले जनाधारको महत्वलाई पाखा लगाएर माओवादीलाई भरतपुर दिएको छ । चितवन कांगे्रसका नेता, कार्यकर्ता र जनताको भावनाको केन्द्रले कदर नगर्दा अहिले चितवनमा बागी उम्मेदवार उठेका छन् ।

नेकपा माओवादीमा भरतपुरको मेयर हुने हैसियतका कोही थिएनन् ? आखिर प्रचण्ड पुत्रि रेणु दाहाल नै किन ? भन्ने प्रश्न यतिबेला भरतपुरवासीमा उब्जिएको छ । नेकपा माओवादी केन्द्रमा क्रान्तिकारी विचार आइलाउँदै गएको छ, भने परिवारवाद मौलाउँदै गएको देखिएको छ । छोरीलाई मेयर, बुहारीलाई मन्त्री, ज्वाईँलगायतका आफन्तलाई जागिर र बढुवा गर्ने परिवारको मात्रै हितका लागि काम गर्ने आरोप प्रचण्लाई लाग्दै आएको छ । उनले फेरि पनि छोरीलाई भरतपुरको मेयरमा उठाएका छन् । त्यहाँ गत स्थानीय निर्वाचनमा पनि कांगे्रस र माओवादीको गठबन्धनको उम्मेदवार रेणु थिइन् । उनले नेकपा एमाले र राप्रपाको गठबन्धनका उम्मेदवार देवी ज्ञवालीलाई झिनो मतान्तरले पराजित गरेकी थिइन् । रेणुले भरतपुरमा स्थानीय सरकार आएदेखि देशकै सबै भन्दा राम्रो विकास भएको पालिका भनेर दावी गर्दै आएकी छन् । उनको यो भनाई दावीमा नै सीमित हुन्छ या प्रमाणित नै हुन्छ । त्यो आगामी बैशाख ३० पछिको मत परिणामले निर्कौल गने छ ।

गठबन्धनकाे भागभण्डा अनुसार जनता समाजवादी पार्टीकाे भागमा परेकाे विराटनगर महानगरपालिकामा पनि अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरालाई उपमेयरमा टिकट दिएका छन् । नेता महन्थ ठाकुरा पक्ष टुक्रिएर लोसपाको पार्टी बनाएपछि मधेशमा कमजोर भएको जसपाले विराटनगरको उपमेयर जित्न मुस्किल देखिएको छ । गठबन्धनका कार्यकर्ताले त मतदान गर्ने नगर्ने कुनै निश्चित छैन् । जनताले गठबन्धनले भनेको भरमा मतदान गर्ने छैनन् भन्ने राजनीतिक विश्लेषकहरुले भन्दै आएका छन् ।

निर्वाचन पछि बहुमत नआएमा गठबन्धन गरेर सरकार बनाउनु राम्रो पक्ष हो । तर लोकतन्त्रमा फरक विचार र सिद्धान्त लिएर राजनीति गरिरहेका दलहरुले यसरी गठबन्धन गर्दा जनताले राम्रो उम्मेदवार चुन्न चुक्न हुँदैन् । नत्र विकास पाँच वर्ष पछाडि धकेलिने मात्र होइन, हुँदै आएको विकासको सिलसिलाम पनि विग्रन्छ ।

यो निर्वाचनमा सबै जसो दलहरुले गठबन्धन गरेको देखिएको छ । गठबन्धनको प्रभावमा नपरी सही विचार, सही एजेण्डा र लक्ष्य लिएका उम्मेदवारलाई जिताउन पर्छ । मतदान गरेर सही नेतृत्व छनोट गर्नु हामी सबैको दायित्व हो । हाम्रालाई होइन राम्रालाई मतदान गरौँ । किनकि स्थानीय चुनाव स्थानीनिकट रहन्छ ।

प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार  ७ : ४० बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।