प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी नेपाल ९जसपा०का महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई सरकारमा सहभागी गराउँदै मन्त्रिमण्डल विस्तार गरेका छन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले गठन गरेको १७ सदस्यीय मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । ओलीले आफ्नै पार्टीबाट सरकारमा सामेल मौजुदा मन्त्रिपरिषद्का १ उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई बिदा गरेका छन् । सरकारमा सहभागी चार जना मन्त्रीलाई भने यथावत् राखिएको छ ।
ओलीले जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा र यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट हटाइएका रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
त्यस्तै, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अनिलकुमार झालाई खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी, विमलप्रसाद श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियालाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री ओलीले एमालेबाट शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गरेका छन् भने जसपाबाट चन्द्रकान्त चौधरीलाई ऊर्जा र रेनुका गुरुङलाई महिला बालबालिका राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, वन तथा वातावरण, कृषि, उद्योग वाणिज्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैंसँग राखेका छन् ।
मन्त्रीमण्डलबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे हटेका छन् ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि हटाइएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई पनि बिदाइ गरेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लीलानाथ श्रेष्ठले भने निरन्तरता पाएका छन् ।
कसको जिम्मेवारी के ?
१ -केपी शर्मा ओली : प्रधानमन्त्री, रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, कृषि, उद्योग वाणिज्य र संघीय मामिला तथा सामान्य प्रशासन ।
२ -विष्णुप्रसाद पौडेल : उपप्रधानमन्त्री, अर्थ
३ -रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
४ -राजेन्द्र महतो : उपप्रधानमन्त्री, सहरी विकास
५ -शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ
६ -कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि
७ -अनिलकुमार झा : मन्त्री, खानेपानी
८ -शेरबहादुर तामाङ : मन्त्री, स्वास्थ्य तथा जनसंख्या
९ -लक्ष्मणलाल कर्ण :मन्त्री, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण
१० -वसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
११ -लीलानाथ श्रेष्ठ : मन्त्री, कानुन न्याय तथा संसदीय मामिला
१२ -विमलप्रसाद श्रीवास्तव : मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा
१३ -उमाशंकर अरगरिया : संस्कृति पर्यटन तथा नागरिक उड्ययन
१४ -चन्दा चौधरी : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१५ -एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
१६ -चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ
१७ -रेणुका गुरुङ : राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
यो समाचार आजको राजधानी दैनिकमा छ ।



















प्रतिक्रिया