Logo

विचार / ब्लग

दुःखले कमाएको सम्पत्ति लहैलहैमा लागेर नडुबाऔ !



सधैं भीडभाड हुने मालपोत र यातायात कार्यालय केही समययता सामसुम भएको छ । घरजग्गा र गाडी किन्ने सर्वसाधारणको संख्या स्वाटै घटेपछि यी दुई कार्यालय रित्तिएको हो । जबसम्म बैंकफाइनेन्सले कर्जा दिइएको थियो तब यी कार्यालयमा खुट्टा टेक्ने ठाँउ हुदैनथ्यो । तर, अहिले वित्तिय संस्था आफै टाट पल्टिएको छ भने कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैन् ।

जसका कारण मालपोत र यातायात सुनसान भएको बुझिएको छ । व्यक्तिसंग भएको पैसा घरमै लुकाउन थालिएको छ । वित्तिय संस्थामा लगेर पैसा जम्मा गर्ने शून्य बराबरमा झरेको छ । जसले गर्दा जग्गा र सवारी साधन कारोबारमा मन्दी आएको हो । तीन महिनाअघि एउटा मालपोतमा दैनिक थुप्रै घरजग्गा नामसारी हुन्थ्यो । तर, अहिले तीन भागमा एक भाग पनि नामसारी नभएको बताइन्छ । जसले गर्दा राजस्वमा समेत ठूलो धक्का लाग्ने देखिन्छ ।

सास फेर्न भ्याइनभ्याइ नहुने मालपोत र यातायातका कर्मचारी फुर्सदिलो भएका छन् । खाजा खानसमेत समय नहुने ती कर्मचारीहरु अहिले कामविहिन बनेका छन् । मालपोत र यातायातमा निवेदन लेख्ने लेखनदासहरु समेत भौतारिरहेका छन् । काम नपाएर उनीहरु शिथिल भएका छन् । कोही आइहाल्छन् भन्ने अपेक्षाले निहुरो अनुहार पारेर बसेका छन् ।

छेउछाउ भएका खाजाघर, फोटो स्टुडियो, किराना पसलेको व्यापार पनि स्वाटै ओरालो लागेको छ । ग्राहक नै नभएपछि उनीहरुको व्यापारमा पनि मन्दी आएको हो । ग्राहकहरुको सहजीकरणका लागि खुलेका लेखनदासहरुको आम्दानी ठप्प भएको छ । आम्दानी नहुँदा अफिस भाडा तिन नसकेको उनीहरुको गुनासो छ । यता, घरजग्गा र सवारी साधनको मूल्य घटेकाले प्रायजसो चिन्तित भएका छन् । बैंकबाट लिएको कर्जा कसरी तिर्ने होला ? भन्ने पीरले उनीहरुलाई पिरोलिरहेको छ । आफ्नो लगानी डुब्ने हो कि भन्ने डर उनीहरुको अनुहारमै देखिन्छ ।

अहिले घरजग्गा बेच्ने यत्तिकै छन् तर किन्ने कोही पनि छैनन् । यता, मालपोतका कर्मचारीहरु अंशबण्डा गर्ने फाट्टफुट्ट मात्र मालपोतमा आउने गरेको बताउछन् । जग्गा किनबेचकै लागि भनेर कोही नआएको उनीहरुको भनाइ छ । व्यवहारिक कुरा मिलाउने मात्रमालपोतमा आउने गरेको लेखनदासहरु बताउछन् । घरजग्गाको किनबेच नै ठप्प भइसकेको छ, उनीहरुले भने । जग्गा दलालीहरु पनि कामविहिन भएका छन् ।

बीचमा बसेर पुलको काम गर्ने जग्गा दलालीहरु कमाइ नभएर रन्थनिएर हिडेका छन् । पहिले पो यता र उता दुवैतिरबाट कमिशन खान पाइथ्यो । अहिले त कारोबार नै छैन, कहाँबाट कमिशन खानु ? ६ महिना अघिसम्म एउटा घरजग्गा मिलाएबापत तीनदेखि १० लाखसम्म कमिशन खान्थे । तर, अहिले कमाइ नभएसम्म उनीहरुसंग चिया खाने पैसा पनि छैन् । जग्गाका ठूल्ठूला कारोबारीहरु ऋण तिर्न नसकेर लुकेर हिडेका छन् । जग्गा प्लानिंग गर्ने अहिले खोजेर पनि भेटिदैनन् । केही महिनाअघि प्रतिआना एक करोडसम्म बिक्री भएको जग्गालाई २५ लाख लगानी गर्ने पनि कोही पनि छैनन् ।

जग्गाको मूल्य अझ घट्छ भनेर पैसा हुनेले समेत किन्न खोजिरहेका छैनन् । यता, अर्थविद्हरुले बैंकमा तरलता अझै लम्बिन सक्ने अनुमान लगाएका छन् । चुनावपछि मुलुक थप आर्थिक संकटको दलदलमा फस्ने उनीहरुको भनाइ छ । सर्वसाधारणले आफुसंग भएको पैसा वित्तिय संस्थामा लगेर राख्नेवाला छैनन् । बैंकसंग थप कर्जा लगानी गर्न सक्ने क्षमता छैन् । त्यसैले, घरजग्गाको मूल्य अझ पनि घट्छ । बिचको केही वर्षमा घरजग्गाले राम्रो मूल्य पायो ।

बैंकले नाफा हुनुञ्जेल घरजग्गामा जथाभावी लगानी गप्यो । तर, देशमा आर्थिक संकट देखिन थालेपछि वित्तिय संस्था आफै टाट पल्टियो । जसले गर्दा घरजग्गाको किनबेचमा कमी आयो भने बैंकलाई आफ्नो लगानी उठाउनसमेत हम्मेहम्मे परेको छ । घरजग्गा कारोबार फेरि उही गतिमा आउन अझ १० वर्ष लाग्ने आंशका गरिएको छ । बैंक र सहकारीलाई कडाइ गर्न नसक्दा जथाभावी लगानी गर्ने काम भयो । नेपाल राष्ट्र बैंक, सहकारी विभाग र अर्थ मन्त्रालय हातमा हात बाँधेर बस्दा मुलुक नै तहसनहस बन्यो ।

पहिल्यै अंकुशे लगाइदिए भए यसरी आँखा चिम्लेर लगानी गर्ने काम हुदैनथ्यो । रातारात धनी बन्नका निम्ति बैंक र सहकारीले निकै गलत काम गप्यो । बुवाआमाले छोराछोरीलाई आफ्नो अधिनमा राखेनन् भने छोरीछोरी बिग्रिन्छ । बैकफाइनेन्सलाई सरकारले आफ्नो अधिनमा राख्न नसक्दा उनीहरु पनि गलत बाटो हिडे । गलत बाटोमा हिडिसकेको वित्तिय संस्थालाई अब सरकारले कसरी ट्रयाकमा ल्याउछ ? बैंक र सहकारीले कर्जा उठाउन सकिरहेको छैन् । उता, धितो लिलाम गर्नलाई किन्ने व्यक्ति पनि कोही छैनन् ।

मनलाग्दी कर्जा प्रवाह गर्दा बचतकर्ताहरु डुब्ने अवस्थामा आइपुगेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर किस्तामा लैजान आग्रह गरिरहेका छन् । राख्ने कोही छैन् निकाल्ने यत्तिकै छ । हिजो बढी व्याज दिन्छु भनेर प्रलोभन देखाई जनताको पैसा लियो । तर, अहिले फिर्ता गर्न सकिरहेको छैन् । बजारबाट पैसा उठाउन नसक्दा सहकारीबाट खटाइएका जनप्रतिनिधिहरुको जागिर गइसकेको छ । सहकारीले सबैभन्दा बढी रकम उठाउने भनेकै बजारबाट हो । बजारबाट पैसा उठ्न छाडेपछि सहकारीहरु पनि बन्द हुने अवस्थामा आइपुगेका छन् ।

बैंक र सहकारीको कूल पुँजीको आधाभन्दा धेरै हिस्सा घरजग्गाले ओगटेको छ । घरजग्गाको मूल्य चकिदै जान्छ, हामी रातारात धनी बन्छौ भन्ने अंहकार सोचाइले आज उनीहरुलाई नै डुबाएको छ । बजार सधैं एउटै दिशामा हिड्दैन् । आज बढेको सामानको मूल्य भोलि घट्न सक्छ भनेर वित्तिय संस्थाहरुले सोचेनन् । यस्तै पाराले अबको एक वर्षमा धेरै वित्तिय संस्थाहरु बन्द हुने निश्चित छ ।

सरकारले पाँचसय र दुई हजारको नोटमा प्रतिबन्ध नलगाउदा अर्थतन्त्र थप जटिल हुने देखिन्छ । ठूला नोटमा प्रतिबन्ध लगाउने हो भने कालो धन सबै बाहिर आँउछ । उता, व्यक्तिले आफ्नो सिरानमुनि लुकाएर राखेको पैसा पनि बजारमा आँउछ । तरपनि, अर्थ मन्त्रालय र राष्ट्र बैंक गुपचुप बसेको छ । व्यापार घाटा बढेको र जनताले कर तिर्न छोडेको कुरा लुकाएर लुक्दैन् । पहिले एक वर्षमा हुने व्यापार घाटा अहिले आभा वर्षमै हुन्छ । उता, सरकारी कर्मचारी तलब र सेवासुविधा आधा कटौती गर्नुपर्ने बेला भएको छ । जेष्ठ नागरिकलाई दिने भत्तामा पनि अंकुशे लगाउने पो हो कि ?

विदेशी ऋण झन्झन् बढिरहेको छ । ऋण लिएर तलबभत्ता, सरकारी गाडी र सेवासुविधा रोकौ । प्रत्येक दिन नेपालीको टाउकोमा ऋणको भारी थपिदै गएको छ । अझै पनि ऋण लिएर तलबभत्ता दिने हो भने नेपाल नै नरहने दिन आउन सक्छ । अब जनता पनि चनाखो हुनुपर्छ । सरकारले गरेको गलत कामको विरोधमा जनताले औलो उठाउनुपर्छ । च्याउ उम्रेजसरी वित्तिय संस्था खोल्न दिदाँ लाखौ सर्वसाधारण सडकमा आउने भए । एक दर्जन वित्तिय संस्था भए पुग्ने ठाँउमा हजारौ खोल्ने अनुपति दिने सरकार हो । सरकारले गरेको गल्तीको भर्पाइ हामी नेपालीले भोग्नुपर्छ ।

आफ्नो खातामा भएको पैसा नपाउदा बचतकर्ताहरुको ‘दिनको भोक र रातको निद्रा’ दुवै हराएको छ । बैंक र सहकारीले विश्वासनियता गुमाइसकेको छ । होडबाजीमा खोलिएको वित्तिय संस्थाका कारण धेरैको उठीबास हुने कुरा छोपेर छोपिदैन् । बढी व्याज दिने लोभमा नेपाली जनता नपरौ । व्याजको लोभमा साहु नै जोखिममा पर्ला । घरजग्गा, सेयर र निजी सवारी साधनको मूल्य बढ्छ भनेर जग्गा दलालीले फसाउन सक्छन् । उनीहरु आफु बच्नका निम्ति नयाँको खोजीमा छन् । आम नागरिक हरु आफैले पनि ख्याल गर्ने बेला आएको छ । रगतपसिना गरेर कमाएको सम्पत्ति दलालीको पछाडि लागेर नडुबाऔ । डुबिसकेपछि त्यो फर्केर आउदैन् । त्यसैले, सबैजना यसमा होसियार रहौ ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  १ : ४९ बजे