सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट आज मंगलबार विश्वासकाे मत लिने भएका छन्। एमाले ओली समूहले सुदूरपश्चिम प्रदेश सरकारबाट भट्टलाई हटाउन चाहेकाे छ। तर माधव नेपाल पक्षबाट नेताहरु मन्त्री बनिसकेका छन्। सुदूरपश्चमिमा माओवादी केन्द्र नेतृत्वमा एमालेसहितको सरकार छ।
जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको जेठ १२ गते बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए।
विपक्षमा मतदान गर्न ह्वीप
एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदलाई ह्वीप जारी गरेकाे छ। याे निर्णय ओली पक्षीय एमालेले गरेकाे हाे।
प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई यस्ताे निर्देशन दिइसकिएकाे छ।
प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखेर पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिएका हुन्। स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए।
अंकगणित
५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ।
अहिले प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् ।
पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन्। कांग्रेसले अहिलेसम्म पक्षविपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन । कांग्रेसले बिहान बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा। रणबहादुर रावलले जानकारी दिए। जसपाका दुवै सांसद महन्थ ठाकुर पक्षका हुन्।















प्रतिक्रिया