Logo

राजनीति

सुदूरपश्चिममा मुख्यमन्त्रीले पाउलान् त विश्वासकको मत ? यस्तो छ अंकगणित 



सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिने लागेका छन् । नेकपा (एमाले) को ओली समूहले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्विप लगाउन संसदीय दललाई निर्देशन दिएको छ ।एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन् ।

उक्त पत्रको विषयमा विवाद भएपछि सोमबार मन्त्रालयमै मन्त्री र एमाले सचिवबीच कुटाकुटसमेत भएको थियो । 

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ । सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन् । त्यहाँ एमालेको नेपाल समूह बलियो छ । नेपाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन् ।

यस्तै माओवादी केन्द्रका १४ सांसद रहेकामा एकजनालाई कारबाही गरिएपछि अहिले १३ जना मात्रै छन् । माओवादी केन्द्रबाट विजयी अछामका झपडबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो । यस्तै प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छन् । माओवादी केन्द्रले आफ्ना पक्षमा २८ मत आउने दाबी गरेको छ । एमालेको नेपाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्नेमा विश्वस छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता आह्वान गर्दै पार्टीलार्य २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेको अवस्थामा नेपाल समूह संस्थापन पक्षको निर्णय मान्न तयार भए मुख्यमन्त्री भट्टले विश्वासको मत नपाउने सम्भावना छ । तर यस्तो हुने सम्भावना न्यून रहेको नेपाल समूहकै सांसद दाबी छ । 

नेपाल समूहले धोका नदिएको अवस्थामा सुदूरपश्चिमा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।