Logo

माछा मार्न गएका व्यक्ति चार दिनदेखि सम्पर्क विहीन  



तनहुँ : त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । 

आँबुखैरेनी गाउँपालिका-४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । वर्षायाम भएकाले नदीले बगायो कि भनेर खोजी गर्दै जाँदा नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको उनले बताएका छन् ।

मुग्लिनबाट करिब पाँच किलोमिटर दूरीसम्म खोजी गरिए पनि फेला पार्न नसकिएको र मातहतका प्रहरी कार्यालयमा पनि यस विषयमा जानकारी गराइएको उनले बताएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।