Logo

फास्ट ट्र्याकमा काम गर्ने मजदूरलाई ज्याला नदिँदा मजदूर समस्यामा



सुदूरपश्चिम : निर्माणाधीन खुटिया-दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुनासो गरेका छन् । 

 “ज्याला दिन आग्रह गर्दा हुन्छ भन्छन् तर एक वर्षभन्दा बढी समय भइसक्दा पनि ज्याला दिएका छैनन्, अब त फोनसमेत उठाउन छाडिसके”, आचार्यले भने, “काम गरेको ज्याला नपाएर १२५ मजदूर पीडित बनेका छौँ ।” निर्माण कम्पनीबाट काम गरेबापतको झण्डै ३५ लाख रुपैँया पाउन बाँकी रहेको मजदूरको भनाइ छ । 

फास्ट ट्र्याकको नयाँ कटिङको काम हुँदा जाली बनाउने र त्यसमा ढुङ्गा भर्ने जस्ता काम गराइएकामा कामको ज्याला नपाउँदा बिचल्लीमा परेको अर्का मजदूर मीनबहादुर रोक्कामगरले बताएका छन् । निर्माण कम्पनीका रोशन आचार्यले भने मजदुरले काम गरेबापतको ज्याला नदिने मनसाय आफूहरुको नरहेको बताए । उनले सडकमा काम गराउने जिम्मा लिएका नाइके ठेकेदारमध्ये एउटा टोलीलाई भुक्तानी दिन बाँकी रहेको नौ लाख रुपैँया ज्याला रकम आगामी केही दिनमा भुक्तानी गर्न लागिएको बताएका छन् ।

 कोरोना सङ्क्रमणको जोखिमका कारण केही महिनादेखि खुटिया-दीपायल फास्ट ट्र्याक निर्माणको काम प्रभावित भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी-दीपायल-चैनपुर-उरै नाका सडक आयोजनामार्फत यो सडकको निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।