भारतले महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रे^) आनन्द स्वरूपलाई नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न आग्रह गरेका हुन् ।
सीडीओ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराइसकेको भए पनि गतिविधि भने नरोकिएको अनलाइनपानालाई जानकारी दिएका छन् । पत्रमा भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई भनिएको छ । यसको जवाफ उताबाट आइनसकेको छैन
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर सडक डुबाउनुका साथै भत्काएको विषय प्रशासनबाट पत्राचारमार्फत जानकारीमा आएको पुष्टि गरेका छन् । उनले यसलाई कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतको ध्यानाकर्षण गराइने जानकारी दिए । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो मंगलबार पारिपट्टि निर्माणाधीन धारचुला–लिपुलेक सडक विस्तार गर्दा चट्टान खसेर भत्किएको थियो ।
त्यसको दुई दिनपछि बिहीबार प्रजिअ जोशीले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाएका हुन् । नदीमा खसेको चट्टानलाई पन्छाएर पानीको बहावलाई पूर्ववत् प्राकृतिक धारमा फर्काउन भारतीय पक्षसँग आग्रह गरिएको छ ।
भारतले सडक विस्तारका क्रममा महाकालीपारि गर्वाधार क्षेत्रमा चट्टान फुटाउन बम विस्फोट गराएको थियो । यो सडक निर्माणका क्रममा तावाघाटदेखि बुदीसम्म महाकाली किनारको नेपालतर्फको जमिन तीव्र रूपमा कटान गरिरहेको छ । त्यसप्रति नेपाल सरकारले उचित कदम चाल्न सकेको छैन । मंगलबारको विस्फोटबाट खसेको चट्टान महाकाली नदीमा खसेर बहाव रोकिनुका साथै त्यसकै असरले वारिपट्टि नेपालको बाटो भत्केको छ ।
बाटोमा नदी पसेपछि मानिसको आवागमन नरोकियोस् भनेर दुम्लिङस्थित सशस्त्र प्रहरीको बीओपी र प्रहरी चौकीबाट जनशक्ति खटाएर वैकल्पिक गोरेटो खुलाइएको छ । जुन बाटो अहिलेको भन्दा २ घण्टा बढी समय लगाएर पार गर्नुपर्छ ।















प्रतिक्रिया