Logo

लकडाउन खुकुलो पार्ने तयारी, कुन-कुन क्षेत्र हुन्छन् खुकुलो ? 



कोरोना भाइरसको संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लकडाउन जारी गरिएको हो । कोरोना संक्रमणको ‘चेनब्रेक’ लागि गरिएको लकडाउन प्रभावकरी भएको उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुको ठहर छ । यसलाई फेरि केदि दिन थपेर केही क्षेत्रहरु खुकुलो पार्ने विषयमा छलफल गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ । 

निषेधाज्ञाको मारमा परेका विपन्न, मजदुर, यातायात व्यवसायी, स्थानीय तहले निषेधाज्ञा खुकुलो बनाइ काम गर्ने वातावरण मिलाइदिन माग गरेका कारण केही खुकुलो पार्ने तयारी भइरहेकोसमेत जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्ने बताएका छन् ।  एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरि संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिएको छ । जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् ।

जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्‍न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइने भएको छ ।  निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने मोडालिटी ल्याइनेछ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिनेछ ।  यस विषयमा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर औपचारिक निर्णय गर्ने भनिएको छ ।  

उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदैछ । यसर्थ निषेधाज्ञामा कुन-कुन क्षेत्र खुकुलो बनाउने र कुन मोडालिटीमा जाने भन्‍ने विषयमा आइतबार नै निर्णय हुने भएको छ । खेति गर्ने महिना भएकाले यसबारे सहजीकरण गर्नका लागि स्वास्थ्य मापदण्ड अपनाएर बिउ, मल ढुवानीलाई खुकुलो पारिने भएको छ । 

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आईतबार  ११ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।