Logo

टिप्पणी

भुइँकटहरले पाएको भोट एमालेलाई आउने थिएन !



एमाले उम्मेदवार विजय सुवेदीलाई जाने कांग्रेसका असन्तुष्ट भोट जगन्नाथ पौडेलको भुइँकटहरमा गएको टिप्पणी गरिरहेका वेला देवी ज्ञवाली भन्छन्, “भुइँकटहरले पाएको भोट कांग्रेसकै हो, त्यो भोट एमालेमा आउने थिएन ।”

भरतपुर महानगरपालिकाको मेयरमा ‘भूइकटहर’ चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले साढे चार हजारभन्दा बढी मत पाइसकेका छन् । मेयरमा नेकपा -माओवादी केन्द्र_की रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच थोरै मतको अन्तर छ ।

यस्तो वेला स्वतन्त्र उम्मेदवार पौडेलले पाएको भोटका विषयमा विभिन्न थरी आकलन भइरहेका छन् । कतिपयले एमाले उम्मेदवार सुवेदीलाई जाने कांग्रेसका असन्तुष्ट भोट भूँइकटहरमा गएको बताइरहेका छन् । कतिपय माओवादी उम्मेदवार दाहालले पाउने भोट भूँइकटहरले काटेको बताइरहेका छन् ।

माओवादी उम्मेदवार दाहालसँग गत निर्वाचनमा २०३ मतले पराजित भएका देवी ज्ञवालीको विश्लेषण भने फरक छ । “अहिलेको मतको अवस्था पनि पहिलेको जस्तै छ,” ज्ञवालीले भने, “मेरो पुरानो अनुभवका आधारमा हेर्दा अहिले मतान्तर हुनु कुनै नौलो र आश्चर्यजनक होइन ।”

अहिले भूँइकटहर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार पौडेलले पाएका भोट कांग्रेसकै भएको ज्ञवालीको भनाइ छ । “अहिले भूँइकटहरमा गएका भोट कांग्रेसकै हुन् । ती सबै हामीलाई आउने भोट थिएनन्,” ज्ञवालीले भने, “यदि ती भोट माओवादीलाई गएको भए धेरै ठूलो मतान्तर हुने थियो ।”

अहिले माओवादी उम्मेदवार दाहालले अग्रता लिएकी छन् । उनलाई एमाले उम्मेदवार सुवेदीले पछ्याइरहेका छन् ।

भरतपुरका २९ मध्ये ६ वटा वडाको मत गणना सकिएको छ । गणना भएका २७ हजार ४४८ मतमध्ये दाहाल एक हजार ७१२ मतले अगाडि छिन् । उनले नौ हजार ९७० मत पाएकी छन् भने एमालेका सुवेदीको आठ हजार २५८ मत छ ।

भरतपुर–५ सम्मको नतिजा सार्वजनिक हुँदा दाहाल र सुवेदीबीच तीव्र प्रतिस्पर्धा थियो । वडा नं। ६ मा भने दाहालले धेरै मत पाएकी छन् । उनले दुई हजार ४९९ मत पाउँदा सुवेदीले एक हजार १६० मत पाए ।

गत निर्वाचनमा एमाले उम्मेदवार ज्ञवालीले वडा नं. ६ सम्म गणना हुँदा माओवादी उम्मेदवार दाहालभन्दा ७९३ मत बढी ल्याएका थिए । ज्ञवालीले वडा नंं १, २, ३ र ५ मा बढी मत ल्याएका थिए । यो निर्वाचनमा एमाले उम्मेदवार सुवेदीले वडा नं. २ र ३ मा मात्र केही मत मात्रै बढी ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार पौडेलले वडा नं.१ मा ४३० मत पाए । जुन खसेको मतको १३.१२ प्रतिशत हो । उनले वडा नं. २ मा १०.२७ प्रतिशत, वडा नंं. ३ मा १९.९८ प्रतिशत, वडा नं. ४ मा २०.६ प्रतिशत र वडा नंं ५ मा १७.७४ प्रतिशत मत पाएका छन् । यसलाई हेर्दा कांग्रेसको पकड रहेको वडाबाट पौडेललाई राम्रो मत आएको देखिन्छ। अहिलेसम्म गणना भएका ६ वटै वडाबाट चार हजार ५०४ मत पाएका छन् ।

गत निर्वाचनलाई आधार बनाउँदा भरतपुरमा सबभन्दा धेरै भोट कांग्रेसको छ। त्यसकै हाराहारीमा एमालेको र तेस्रोमा माओवादीको मत छ । त्यसैले कांग्रेसको मत तान्ने उम्मेदवार नै विजयी हुनेछन् । एमाले उम्मेदवार कांग्रेसका असन्तुष्ट मत पनि पाउने विश्वास गरेका थिए, तर यस पटक त्यस्ता मत स्वतन्त्र उम्मेदवार पौडेललाई पनि गएका छन् ।

मत गणना सकिएका वडा नं. ३, ५ र ६ एमालेका लागि उत्साहप्रद रहेनन् । वडा नं.३ मा एमालेका वडाध्यक्षले ५१.३६ प्रतिशत मत ल्याउँदा मेयरमा सुवेदीले भने ३१.७२ प्रतिशत मात्रै मत पाए । त्यस्तै, वडा नं. ५ मा एमालेका वडाध्यक्षले ४२.४७ प्रतिशत मत पाउँदा मेयर सुवेदीले ३०.६७ प्रतिशत मात्रै मत पाए ।

ज्ञवाली अहिले नै निश्कर्ष निकाल नहुने बताउँछन् । आधाभन्दा बढि मत गणना भएपछि देखिने मतान्तरको आधारमा नतिजा आंकलन गर्न सकिने उनको भनाइ छ । “मैले पनि वडा नं. ६ मा कम मत पाएको थिएँ । त्यतिवेला म पनि माइनसमा पुगेको थिएँ,” ज्ञवाली भन्छन्, “अहिलेको चुनावमा पनि यस्तै भएको छ, त्यसैले यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।”

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।