मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने हतारोमा गरिएको गल्तीका कारण असार १ गतेदेखि दुई महिना मेलम्चीबाट काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि पूरा गर्न सुरुङमा मंगलबारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।
असार १ देखि पानी भर्न बन्द गरे पनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्ने भएकोले करिब दुई महिना पानी नआउने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भए पनि उद्घाटनको हतारोका कारण काम पछि सारेर सुरुङ परीक्षणविनै पानी पठाइएको थियो । मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो ।
खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक
मेलम्चीबाट खानेपानी आउन बन्दे भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण कार्यतालिका फेरबदल गरेको छ । मेलम्चीको पानी नआउञ्जेलसम्म ग्राहकहरुलाई वितरणका लागि हुने खानेपानी परिमाणको कमीलाई पूरा गर्न तालिका फेरबदल गरिउको खानेपानी लिमिटेडले जनाएको छ ।
नयाँ तालिका अनुसार महाँलचौर, मिनभवन, अनामनगर क्षेत्रमा सात दिन बिराएर, बाँसबारी र पानीपोखरी क्षेत्रमा पाँच दिन बिराएर, बालुाजुमा नौ दिन बिराएर, किर्तिपुरमा दुई दिन, ललितपुरमा १२ दिन, भक्तपुरमा चार दिन बिराएर पानी वितरण गरिने भएको छ ।


















प्रतिक्रिया