नेकपा एमाले विभाजन भएर बनेको दल नेकपा एसले आफ्नो लालकिल्ला दावी गर्दै आएको ठाउँमानै लज्जाजनक हार बेहोरेको छ ।
एमाले विभाजनपछि सुदुरपश्चिम प्रदेश सभाका धेरै प्रदेश सांसदहरु एमाले छोडेर नेकपा एसतीर लागेका थिए । प्रदेश सांसद धेरै जना पाएपछि उक्त पार्टीका अध्यक्ष माधव कुमार नेपालले सुदुरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल हामी हौँ भन्दै निकै भाषण गरे तर स्थानीय तहको निर्वाचनमा उनको पार्टीको हरिबिजोगनै भएको छ ।
नेकपा एसले सुदुरपश्चिमा अहिले सम्म जम्मा दुई वटा स्थानीय तहमा मात्रै प्रमुख जितेको छ । बरु ५ महिना अगाडि मात्रै दर्ता भएको रेसम चौधरीको पार्टीले ४ वटा तह जित्न सफल भएको छ । सुदूरपश्चिम प्रदेशमा एमालेसँग विभाजन भएर दर्ता भएको माधव कुमार नेपालको पार्टी भन्दा धेरै स्थानीय तहमा जित हासिल गरेको छ ।
रेसम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा विजय हासिल गर्दा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहमा मात्रै विजय हासिल गरेको छ ।
अहिले सम्म सुदूरपश्चिम प्रदेशका ८१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । मत गणना सम्पन्न भएका पालिकाहरू मध्ये नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।
उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ । यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ । अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ ।





















प्रतिक्रिया