पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्री खनाललाई बुधबार साढे १२ बजे नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको हो । उनलाई यसअघि स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिकमा तीन दिन उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि बुधबार परिवारका सदस्यहरुको सल्लाहमा दिल्ली लगिएको हो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
उनको ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।
उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो । दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको पनि अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया