पूर्वीनेपालको झापाको पूर्वी भागमा अवस्थित मेचीनगर नगरपालिकाका मेयर हुन् विमल आचार्य । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित आचार्यले चुनावीताका नागरिकहरुलाई स्वास्थ्य, शिक्षा, बाटो, बिजुली, खानेपानी, उत्पादन विकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाएका थिए । नेपालको पूर्वी सिमानाको प्रवेशद्वार समेत मानिने मेचीनगरका मेयर आचार्यले स्थानीय तहको जिम्मेवारी सम्हालेपछि के-कस्ता कामहरु भएका छन् ? नगरबासीले परिवर्तन महसुस गरेका छन् कि छैनन ? भन्ने विषयमा अनलाइनपाना सहकर्मी सुजाता अम्गाईले गरेको कुराकानी :
कोरोना नियन्त्रणका लागी के-कस्ता काम गर्नुभएको छ ?
मेचीनगर सुदूरपूर्वको भारतसँगको सिमाना जोडिएको ठाउँ हो । भारतबाट आउने मानिसहरुको कारण कोरोना संक्रमितको संख्या यहाँ बढ्दो थियो । तर, अहिले भने अलि नियन्त्रणमा आएको छ । हामीले कोरोनाबाट बच्न र बचाउन सक्दो प्रयास गरेका गरेका छौँ र गरिरहन्छौं । यहाँ कोरोना संक्रमण नियन्त्रणको मुख्यकारण भनेको नेपाल सरकार र मेची नगरपालिकाको महत्वपूर्ण सहकार्य र भूमिका रहेको छ ।
कोरोना आइसकेपछि बनाइएको आइसोलेसन कक्षहरु हामीसँग अहिले पनि यथावत नै छन् । जुन ३२ बेडको छ । हामीले कोरोना संक्रमितको लागि नि:शुल्क एम्बुलेस सेवा प्रदान गरेका छौं । घर-घरमा गएर आवश्यक औषधीहरु वितरण गरेका छौं । कारोना संक्रमितका परीवारलाई आवश्यक खाद्यान्न साम्रगी वितरण गरेका छौं । कोरोना संक्रमितको मृत्यु भएका परिवारको सहजीकरणको लागी हामीले नि:शुल्क शववाहन एम्बुलेन्सको सेवा प्रदान गरेका छौँ । यतिमात्र नभई मेचीनगरकै अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारीसमेत गरिरहेका छौं ।
विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहनु भएको छ ?
अहिले अलिकति समस्या छ । समस्याको मुख्यकारण भनेको नै कोरोना भाइरस हो । कोरोना भाइरसले विश्व नै आक्रान्त बनाइरहेको बेला सबै क्षेत्र अस्तव्यस्त त छँदै छन् । तर पनि यसले हाम्रो विकास निर्माणको गतिलाई बाधा पुर्याएको छ । अहिले हामी असारको चटारोमा छौं, आगामी बजेटको चटारोमा छौं । यद्पि हामीले विकास निर्माणका कामलाई निरन्तरता दिने विषयमा नै छलफल गरिरहेका छौं ।
स्थानीय तह र नागरिक बीचको सम्बन्ध कस्तो छ ?
स्थानीय तहले सक्दो कोशिस गरेको छ । कसरी राम्रो गर्न सकिन्छ, कुन मोडलको विकास गर्न सकिन्छ भनेर यो मेरो पाँच वर्षको अवधिमा मैले आफ्नो तर्फबाट विकासका कामहरुको लागि सक्दो कोशिस गर्दा पनि कतै चुकेको छु । सामान्यतया यहाँ नागरिकहरुको जनगुनासो त छँदैछ ।
चालु आर्थिक वर्षमा कति बजेट खर्च गर्नुभयो ?
चालु आर्थिक वर्षको अवधिमा ८० प्रतिशत जति बजेट खर्च भएको छ । उक्त बजेटकै कामहरु अझै रोकिएका छन् । जुन हामी अर्को वर्ष सम्ममा पूरा गर्छौं । कोरोना भाइरसको कारण विभिन्न योजना र कार्यक्रमहरु स्थगित गरिएका छन् । हाम्रोमा करिब एक अर्ब करिब ४५ करोडको थियो, जुन स्कुल, अस्पताल जस्ता विभिन्न विकास पूर्वाधारहरुको निर्माणमा कामहरुमा लागइयो । अबको हाम्रो लक्ष्य डेढ अर्बको रहेको छ ।
आगामी योजना के-के छन् ?
आगमी योजना धेरे छन् । कोरोनाको कारण रोकिएका कामहरु अस्त व्स्त छन् । त्यसलाई पूरा गर्नुपर्ने छ । हामीसँग अहिले नयाँ दीर्घकालीन योजनाहरु धेरै छन् । हाम्रो लक्ष्य भनेको उत्पादन, स्वास्थ, शिक्षामा हामीले जोड दिने भएका छौं । अब चुनाव नजिक आइरहेको छ । क्षणिक कुरामा हामी जादैनौं । हामीले दीर्घकालिन विकासको लागि अगाडि बढ्ने योजना बनाएका छौं ।
प्रदेश सरकार र संघ सरकारको कस्तो सहयोग छ ?
प्रदेश १ को कुरा गर्दा साह्रै दु:ख लाग्छ । अत्यधिक बजेटको गलत प्रयोग भइरहेको छ । आफ्ना नजिक र पालिकाको लागि र आफूलाई पछि चाहिने मान्छेको लागि बजेट प्राथमिकतामा राखेको छ । देशलाई चिनाउने र सम्मान दिने मेचीलाई नै हरेक कुरामा पछाडि पारिएको छ । जसलाई भेदभाव नै हो भनेर भन्दा पनि फरक नपार्ला । यतिमात्र होइन, हामीलाई केन्द्रबाट सहयोग भन्ने केहि छैन । प्रधानमन्त्रीदेखि सरकारकै कारण हामी विकासबाट वञ्चित भएका छौं ।
कार्यकाल सकिँदै छ ! यो समय अवधिभरी प्रतिबद्धता गरेको काम के-कति बाँकी रहेजस्तो लाग्छ ?
चुनाबी बेलामा जनतासँग गरेका प्रतिबद्धता मैले पुरा गरिरहेको छु । केहि बाँकी छन्, त्यो पनि पूरा हुन्छन् । अस्पताल निर्माणका काम भए, विद्यालय भवन निर्माणका कामहरु भए । यस्ता थुप्रै कामहरुको मैले बाचा गरेको थिएँ । त्यो धेरै त पूरा भएसके । थोरै बाँकी छन् । काम गर्ने क्रममा शतप्रतिशत सबै हुन्छ भन्ने नहोला तर पनि कोशिस जारी छ ।
चुरेलाई निकासा गरेर सरकारले आम्दानीको स्रोत बनाउने भनेको छ । यसको संरक्षणको लागि कस्तो पहल गर्नुभएको छ ?
चुरेको सन्दर्भमा भन्नुपर्दा यसको निकासाको कारण प्राकृतिक अवस्था , जलवायु परिवर्तन, यसबाट हमीले भोग्ने हानीनोक्सानीहरुको विषयमा सोच्नैपर्छ । यसले देशको सम्रग विकासलाई नै क्षति पुर्याउँछ । आर्थिक लाभ लिने कुरा आउँदाऽ त्यो ठाउँमा कुनै न कुनै गिरोह आउँछ । सरकारले यसबाट आम्दानी त गर्ला तर यसको क्षति हामी स्वयंले नै व्यहोर्नुपर्छ । यसबाट लाखौँ आम्दानी पनि होला तर यसको परिणाम पछि नराम्रो नै हुन्छ । यसैले लाखौंको लोभमा करौँडौ नडुबाऊ । आम्दानीको स्रोत नै बनाउनको लागी अरु पनि थुप्रै विकल्पहरु छन् । जसले व्यापारघाटालाई परिपूर्ती गर्न सक्छ । चुरेलाई निकासा गर्नु भनेको यसको मारमा हामी नै पर्नु हो । यसर्थ यो विषयको घोर विरोध गर्नुपर्छ । यसको लागि आवश्यक परेमा म पनि आवाज उठाउँछु ।
स्थानीय तहमा बस्दा के-कस्ता चुनौतीहरुको सामाना गर्नुपर्दो रहेछ ?
राणाकाल, प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी अहिले संघीयतामा छौं । तर अझै पनि नेपाली जनतालाई हामीले उहाँहरु समक्ष संविधान पुर्याउन सकेका छैनौं । सबैमा पुरान सोंच र विचार, चालचलनहरु नै छन् । अहिले घरैपछि मेयर भेटिन्छन् । दुई चार जना प्रधानमन्त्रीहरु पनि भेटिन्छन् । मन्त्रीहरु त झन गल्ली गल्लीमा । अझ पनि मानिसहरु शिक्षित हुन सकेको छैनन् । यसकारण पनि विकास निर्माणका कामहरुमा होस् या अन्य योजनाहरु बनाउँदा केही न केही चुनौतीहरु आइलागिहाल्छन् । यसैले काम गर्न अलि जटिल छ । मानिसको सोंचमा , बुझ्ने क्षमतामा केही सुधार त आएको छ । तर पनि यसलाई अझ स्ष्ट पार्नको लागि पाँच बर्ष अझ लाग्ला । मानिसको सोचाइ फरक-फरक हुने भएको कारणले गर्दा पनि काम गर्न विभिन्न चुनौतीको सामान गर्नुपर्छ ।
प्रतिक्रिया