Logo

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा



लमजुङ : यहाँको दोर्दी गाउँपालिका-८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिएका छन् । 

 उनले भने, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्नुहन्छ, “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ । पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ । 

 त्यस्तै, पाँच÷छवटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए । ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ । स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ ।

स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०र१२ घरमा र फलेनी माविमा राखिएको छ । कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन् । बिजुली बत्तीसमेत छैन । खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन । “विगतमा पनि खोलामा बाढी नआएको  होइन तर यसरी आएको पहिलोचोटि नै हो”, वडाध्यक्षले भने । राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताएका छन् । 

प्रकाशित मिति : २ असार २०७८, बुधबार १८:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।