Logo

अनलाइनपाना बुलेटिन : देशभर कहाँ के भयो ?



देशभर बाढी पहिरोको वितण्डासँगै राजनीतिक दलहरुका गतिविधिले नै समाचारमा प्राथमिकता पाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन साउन १२ देखि नै सुरु हुने भएको छ । सर्वोच्च अदालतलाई राष्ट्रपति र प्रधानमन्त्रीले लिखित जवाफ पेश गरेका छन् ।

महाधिवेशनमा होमियो कांग्रेस, साउन १२ देखि वडा तहको अधिवेशन थालिने 

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आगामी साउन १२ गतेदेखि महाधिवेशनमा होमिने निर्णय गरेको छ । तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने गरि कांग्रेसले मिति तय गरेको हो  । यसअघि कांग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो । महाधिवेशन गर्नका लागि कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुंगो लगाउन चुनौती रहेको छ । यसअघि पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीले बुझाए सर्वोच्चलाई लिखित जवाफ, प्रधानमन्त्रीले भने –पञ्चायती निर्दलीयता फर्किन सक्छ 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका विषयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् । राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी गरेका शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैले संसदबाट विश्वासको मत पाउने नदेखिएको हुनाले प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको जवाफ दिएको छ । त्यसैगरि प्रधानमन्त्री ओलीले शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई फर्किनसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत रहेकोसमेत बताएका छन् । उनले मुलुकमा राजनीतिक स्थायीत्वका लागि निर्वाचनको विकल्प नभएको समेत जिकिर गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले संवैधानिक इजलासको आदेश अनुसार बीहीबार अदालतलाई लिखित जवाफ पेश गरेका हुन् । संसद् विघटनका मुद्दामा अब असार ७ गते सुुनुवाइ हुने भएको छ । 

मेलम्चीमा फेरि बाढीको चेतावनी, स्थानीयलाई सुरक्षित ठाउँमा जान आग्रह 

सिन्धुपाल्चोकको मेलम्चीमा बिहीबार फेरि बाढीको चेतावनी दिइएको छ । सोमबारदेखिको अविरल वर्षाका कारण आएको बाढीबाट ठूलो जनधनको क्षति पुर्‍याएकोमा फेरि बाढी आउनसक्ने चेतावनी दिइएको छ । बुधबार बेलुकादेखि पानीको सतह घट्दै गएको बिहीबार दिउँदेखि पानी सहत बढ्न थालेको हो । मेलम्चीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ जान आग्रह गरिरहेका छन् । मेलम्चीको नदीमा एक्कासि पानीको बहाव बढेपछि सुरक्षाकर्मीले सर्वसाधारणलाई बजार खाली गरेर सुरक्षित ठाउँतर्फ जान आग्रह गरेका हुन् । मंगलबार राति आएको बाढी विस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका हुन् । मंगलबारको बाढीले सात जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । 

असार २५ भित्रै कर तिर्न सरकारको ताकेता, यातायात व्यवसायीले भने – तिर्न सक्दैनौं 

सरकारले असार २५ गतेभित्रै कर तिर्न ताकेता गरे पनि यातायात व्यवसायी भने सम्भव नहुने बताएका छन् । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरि कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटैलाले भने यातायात क्षेत्रका व्यवसायीहरुले तत्काल कर तिर्न नसक्ने बताएका छन् । उनले अनलाइनपानासँगको कुराकानीमा यातायात क्षेत्र अझै चलायमान नभएको हुनाले सरकारले तोकेको मितिमा कर तिर्न नसकिने बताएका हुन् । सकारलाई कर नतिर्ने भन्ने नभइ लकडाउन खुकुलो भएको सात–आठ महिनापछि तिर्न सकिने उनले बताए ।  त्यसैगरि यातायात व्यवसायीहरुले मुलुकमा जनताको सरकार भएको अनुभूत नै नभएको अवस्थामा तत्काल कर तिर्न नसक्ने बताएका हुन् ।

प्राकृतिक विपत्तिको सामना गर्न सरकार गैरजिम्मेवार भएको विपक्षी गठबन्धनको आरोप

देशमा मनसुनको सुरु भएसँगै आएको वर्षाका कारण धनजन नष्ट हुँदा समेत सरकारले कुनै पूर्वतयारी नगरी गैरजिम्मेवार रहेको भन्दै पाँच वटा राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै सरकार गैरजिम्मेवार भएको बताएका हुन् । उनीहरूले वक्तव्यमार्फत बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरूका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचारलगायतका उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् । 

पछिल्लो २४ घण्टामा दुई हजार ६०७ कोरोना संक्रमित थपिए, दुई हजार १४१ संक्रमणमुक्त 

पछिल्लो २४ घन्टामा देशभर दुई हजार ६०७ कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामा २ हजार ६०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा दुई हजार १४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ ।

साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य करेक्शन, झन्डै ११ अर्बको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य करेक्शन देखिएको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से एक दशमलव ३० अंकले घटेर दुई हजार नौ सय ६८ दशमलव ४२ अंकको बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचकमा रातो पोतिएको दिन शेयर बजारका सम्पूर्ण परिसूचकहरु घटेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि शून्य दशमलव ५७ अंकले घटेर पाँच सय ४१ दशमलव १३ अंकको बिन्दुमा बन्द भएको हो । बिहीबार २ सय २३ कम्पनीको एक लाख २४ हजार ५६१ पटकको व्यापारमा दुई करोड तीन लाख ६५ हजार ६९९ कित्ताको कारबोर हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आफ्नै अन्तरीक्ष केन्द्र निर्माणका लागि चीनले पठायो तीन अन्तरीक्ष यात्रीसहित शेन्झाउ–१२ रकेट    

चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ । तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् । हाल संयुक्त राज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र छन्, जहाँ पृथ्वीबाट पठाइएका अन्तरीक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् । चीनले यसअघि पनि अन्तरीक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन । यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लागेका ४५ वर्षीय टाङ होङ्बो रहेका छन् । 

पाँच प्रदेशमा आज राति वर्षा हुने, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह 

देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सदूरपश्चिम प्रदेशको केहि भू–भागमा मेघगर्जन-चट्याङसहित भारि वर्षा हुने भएकोले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने हुँदा नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार २०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।