युरोकपको १६ औं संस्करणको फुटबलमा (आज) शनिबार पनि तीन खेलहरु रहेका छन् ।
युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह एफ मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १ – ० गोल अन्तरले हराएको थियो । फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३ – ० ले पराजित भएको थियो । हंगेरी समूहको अन्तिममा रहेको छ ।
दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३ – ० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १ – ० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन ।
आज हुने तेस्रो खेलमा स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र पोल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूह ई को स्पेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । स्पेन १ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।
पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २ – १ ले पराजित भएको थियो ।
















प्रतिक्रिया