Logo

अनलाइनपाना बुलेटिन : आज देश-विदेशमा कहाँ के भए ?



आजका मुख्य समाचारहरु :

कांग्रेस सभापति देउवाद्वारा आफू निकट केन्द्रीय सदस्यसँग छलफल, फेरि सभापति लड्ने तयारी 

83664756.jpg

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफ गरेका छन् । प्रदेश १ का केन्द्रीय सदस्यहरुसँगको छलफमा देउवाले आफू फेरि सभापतिका लागि लड्ने बताएका हुन् । उनले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले सभापतिमा दोहोरिने बताएका हुन् । उनले पहिलो कार्यकालमा धेरै काम गर्न नपाइएकोले अब पार्टीलाई देशकै ठूलो पार्टी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशनसमेत दिएका छन् । सभापति देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम राखेका छन् । कांग्रेसले साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने र भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । 

गण्डकीमा मन्त्रिपरिषद् विस्तारको तयारी, कांग्रेस र माओवादीको भागमा चार–चार मन्त्रालय 

83664756.jpg

गण्डकी प्रदेशमा शुक्रबार विश्वासको मत पाएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । तत्कालीन् विपक्षी गठबन्धनको तर्फबाट मन्त्री बन्ने सांसदहरुको टुंगो लगाएसँगै पोखरेलले मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारपछि नेपाली कांग्रेसले चार, माओवादी केन्द्रले चार र जनता समाजवादी पार्टीले दुई मन्त्री पाएको छ । मुख्यमन्त्री कार्यालयसहित ११ मन्त्रालय रहेको गण्डकीमा तत्कालीन् विपक्षी गठबन्धनले भागबण्डा मिलेको हो ।

नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् । सत्ता गठबन्धनको अर्को हिस्सेदार माओवादी केन्द्रबाट मधुमाया अधिकारी मन्त्री बनिसकेकी छन् । माओवादीबाट अब तीन मन्त्री थपिनेछन् । सभामुख नेत्रनाथ अधिकारीसहित १२ जना सांसद माओवादी केन्द्रका छन् । सभामुख अधिकारी र मन्त्रीको शपथ लिएकी अधिकारी बाहेक सबैले मन्त्रीको दाबी गरेका छन् । जसपाका हरिशरण आचार्य उक्त दलबाट मन्त्री बनिसकेका छन् । स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्रीको शपथ लिइसकेका छन् । भागबन्डामा संख्याको टुंगो लागे पनि कुन दललाई कुन मन्त्रालयको जिम्मेवारी दिनेमा निर्णय हुन सकेको छैन । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयसहित ४ मन्त्रालय माओवादीले दाबी गरेको छ । 

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

Tamakoshi1.jpg

पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । चीनको तिंग्री काउन्टीनजिकै खसेको पहिरोले रोङ्सी खोला थुनिएपछि ताल बनेको छ । चिनियाँ टोलीले यसलाई चरणबद्ध रुपमा खुलाउने प्रयास गरिरहेका दोलाखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले बताएका छन् ।

खोलाबाट बाढी आउन सक्ने आँकलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ ।

बाढी पहिरोले देशभरका १७ वटा राजमार्ग अवरुद्ध, १८ वटा सडक मर्मतपछि एकतर्फी खुला 

rajmarga-abrudha.jpg

बर्खा सुरु भएसँगै आएको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी–पहिरो जाँदा १७ वटा राजमार्ग अवरुद्ध भएका छन् । लगातारको वर्षाका कारण बाढी र पहिरोले १७ ठाउँका सडक बन्द छन् भने १८ वटा सडक भने मर्मतपछि एकतर्फी खुलेका छन् । यस्तै, ७ वटा सडक दुईतर्फी नै खुलेका छन् । बाढी र पहिरोका कारण अछाम, बाजुरा, बझाङ, दैलेख, धादिङ, सिन्धुपाल्चोक, रसुवा, मनाङलगायतका जिल्लाका सडकहरु अवरुद्ध भएका छन् ।  

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बाजुराको बार्जुगाड र हड्डेखोला, डुम्रे–बेंसीसहर–चामे सडकखण्ड अन्तर्गत मनाङको तिमाङ छहरा, पाँचखाल–मेलम्ची टिम्बु सडकमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको कचाली र तमैल सडक अझै पनि बन्द छन् । त्यस्तै, दैलेखको बान्द्रे, डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने तिमाङखोला, धारापानी र बगरछाप, डुम्रे–बेंसीसहर–चामे सडकमै पर्ने लमजुङको रामबजार, अर्खरे, च्याम्चे, खरखरे र घट्टेखोला सडक पनि बन्द  छ । त्यस्तै, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेँसी सडक, रसुवाको त्रिशूली खोलाको सडक पनि बन्द छ । यी राजमार्ग अन्तर्गत पर्ने सडक खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमु्खले गरे नेपालका स्वास्थ्यकर्मीको प्रशंसा, हिरोहरुलाई तत्काल खोप लगाउनुुपर्ने जिकिर 

who-chief.jpg

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेबे्रयसियसले नेपालका स्वास्थ्यकर्मीहरुको प्रशंसा गरेका छन् । मुस्ताङका स्वास्थ्यकर्मीहरुले बाढीका कारण खोप पु¥याउन समस्या भएपछि खोलामा पाइपमार्फत खोप ओसारेको भिडियो शेयर गर्दै स्वास्थयकर्मीको प्रशंसा गरेका हुन् । उनले ट्विट गर्दै स्वास्थ्यकर्मीले साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको भन्दै प्रशंसा गरेका हुन् । उनले कतिपय स्थानमा हिरोहरुले अझै खोप लगाउन नपाएका र त्यो जायज नभएकोसमेत बताएका छन् ।

डब्लूएचओ प्रमुखले स्वास्थ्यकर्मीहरुलाई तत्काल खोप लगाउन पाउनुपर्नेसमेत जिकिर गरेका छन् । नेपालमा हालसम्म करिब २४ लाखले पहिलो डोज खोप लगाएका छन् भने करिब ६ लाखले दोस्रो डोज खोप लगाएका छन् । दोस्रो डोज खोप लगाउन नपाएका करिब १४ लाख मानिसहरु जोखिममा परेको भन्दै एम्नेस्टी इन्टरनेशनलले शुक्रबार एक विज्ञप्ति जारी गरेको थियो ।

काठमाडौंमा खानेपानीको पाइप फुटेको एक वर्षसम्म पनि बनेन, पाइप नपाएको भन्दै पन्छिए खानेपानी अधिकारी 

Kalopool-water.jpg

काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कालो पुलमा राखिएको खानेपाीनको पाइप फुटेको एक वर्ष भइसक्दा पनि अझै बनाइएको छैन । पुलमा राखिएको खानेपानीको पाइप फुटेर दैनिक हजारौं लिटर पानी खेर जाँदासमेत वडा कार्यालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ध्यान दिन सकेको छैन । पाइप फुटेर सडकमा नै जम्ने गरेका कारण पैदलयात्री र मोटरसाइकल तथा साइकलयात्रीलाई समस्या भएको छ ।

पाइपबाट पानी चुहिन थालेपछि कार तथा ट्याक्सी चालकहरले पुलको मुनि नै गाडी धुने गरेका छन् । काठमाडौं महानगरपालिका – ७ का वडाध्यक्ष शुद्ध डंगोलले उक्त समस्याको समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरे पनि समस्याको समाधान नभएको भन्दै पन्छिएका छन् । त्यसैगरि केयूकेएलको महांकाल शाखा प्रमुख उमेश मरहट्ठाले पुरानो पाइप र पुल हल्लिने कारणले गर्दा समस्याको भएको र नयाँ पाइप फेर्नका लागि त्यो साइजको पाइप नै नपाएको बताएका छन् । 

पछिल्लो २४ घण्टामा दुई हजार ४०१ कोरोना संक्रमित थपिए, ३ हजार ६६० जना संक्रमणमुक्त 

Kalopool-water.jpg

पछिल्लो २४ घण्टा दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन हजार ६६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख १९ हजार ६३५ जनामा कोरोना संक्रमण भएको छ भने आठ हजार ६७५ जनाको मृत्यु भएको छ । देशभर ४४१ जना क्वारेन्टाइनमा छन् । 

सोमबारदेखि बैंकहरु पूर्णरुपमा खुला गर्ने बैंकर्स संघको निर्णय

Kalopool-water.jpg

कोरोना संक्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैंक तथा वित्तीय संस्थाको सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैंकर्स संघका कार्यसमितिको बैठकले बैङकिङ कारोबार खुला गर्ने सहमति गरेको हो । संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार स्थानीय प्रशासनको निर्देशनलाई हेरेर बैंकहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हो । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप  गरे पनि खुकुलो बनाएको छ ।  अहिले  निषेधाज्ञा  कारण  शाखाहरू  पनि  आलोपालो छ भने निक्षेप झिक्ने  र राख्ने सेवा मात्र छ ।

राष्ट्र संघद्वारा म्यानमार सेनालाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

_118986558_8f2563a3-fd68-4e6f-a664-34ca5937fbf4.jpg

संयुक्त राष्ट्र संघले म्यानमारमा गत फेब्रुअरी १ मा भएको सैन्य कू को प्रतिक्रिया स्वरुप त्यहाँको सेनामाथि हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघको महासभाले म्यानमारमा निर्वाचित सरकालाई अपदस्थ गर्दै सत्ताच्युत गर्ने सेनालाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । राष्ट्रसंघको प्रस्तावामा ११९ देशले समर्थन गरेका छन् भने बेलारुस विपक्षमा उभिएको हो । त्यसैगरि रुस र चीनसहितका ३६ राष्ट्रहरु मतदानमा सहभागी भएनन् ।

राष्ट्रसंघले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीसहितका राजनीतिक बन्दीलाई रिहा गर्न र शान्तिपूर्ण प्रदर्शनविरुद्धको हिंस्रक कदमलाई रोक्नसमेत आग्रह गरेको छ । म्यानमार सेनालाई राष्ट्रसंघको प्रस्ताव मान्न कानुनी बाध्यता नभए पनि राजनीतिक रुपमा यस निर्णयलाई महत्वपूर्ण मानिन्छ । म्यानमारका लागि राष्ट्रसंघीय विशेष दूत क्रिस्टिन श्राग्नरले म्यानमारमा गृहयुद्धको जोखिम रहेकोसमेत बताएकी छन् । 

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्हरुको भनाइ

Kalopool-water.jpg

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले बताएकी छन् ।

अबको केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहने उनले बताएकी हुन् । मनसुन सुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । आज राति प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ ।

 

प्रकाशित मिति : असार ५, २०७८ शनिबार  ७ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।