Logo

अझै खुल्न सकेन एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग



लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभिर, दहीखोला, घट्टेखोलालगायतका ठाँउमा परिरो झरेर सडक पुरिएको भए पनि पहिरो नहटाइँदा राजमार्ग सञ्चालना आउनसकेको छैन ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट खाद्यान्न लिएर गएका, यात्रुबाहक सवारी साधन र जुम्ला कालीकोट पुर्‍याएर सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारी साधन बाटोमै थुनिएका छन् भने यात्रा गर्ने सर्वसाधारण पैदलयात्रा गर्न बाध्य भएका छन् । सवारी साधन चल्न नसक्दा दैलेख, कालीकोटलगायतका सर्वसाधरणलाई पैदल हिँड्नुपर्ने बाध्यता आएको हो । राजमार्ग अवरुद्ध हुँदा लामो समय पैदल हिँडेर आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता आएपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ । 

अचानक कोही बिरामी परे उपचारका लागि कसरी सुर्खेत तथा बाहिर जिल्ला लैजाने भन्ने कुराले सताएको स्थानीयवासी भीम बुढाले चिन्ता व्यक्त गरे । एक हप्तादेखि राजमार्ग अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा बिरामी परे अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको उनले गुनासो गरेका छन् ।

अहिले राजमार्ग आसपासमा बसोबास गर्ने सबैलाई यो कुराको चिन्ताले भित्रभित्रै पिरोलेको छ । बारम्बार सडक निर्माण गरे पनि वर्षाले पहिरो गइरहने हुँदा राजमार्ग सञ्चालन गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । “निकै प्रयास गरिरहेका छौँ”, उनले भने । घट्टेखोलामा ठूलो पहिरो आउँदा समय लाग्ने र छिनछिनमा राजमार्गका विभिन्न ठाउँमा पहिरो झरिहाल्ने गरेकाले सडक सञ्चालनमा समस्या नै आएको उनको भनाइ थियो । उनले छिट्टै राजमार्ग खुलाउन प्रयत्नशील रहेको बताउनुभयो । यद्यपि राजमार्ग एक हप्तादेखि पहिराका कारण अवरुद्ध भए पनि हालसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ ।

त्यस्तै दैलेखका दर्जनौँ ग्रामीण सडक पनि अविरल वर्षाका कारण अवरुद्ध हुन पुगेका छन् । जिल्लाका ११ स्थानीय तहका केन्द्रमा पुग्ने सबै सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा पालिका केन्द्र र जिल्ला सदरमुकाम आउजाउमा निकै सास्ती भएको छ । सवारी साधन नचल्दा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएको छ । कच्ची सडकको निर्माण गरे पनि पक्की बनाउन सरोकारवाला निकायले पहलकदमी नगर्दा सबै सडक खोल्सीमा परिणत हुन पुगेको स्थानीयवासी बताउँछन् । वर्षाका कारण दैलेखका करिब एक दर्जन सडक खोल्सीमा परिणत हुँदा यातायातका साधन चल्न सकेका छैनन् । 

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  १२ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।