दलित थरकै कारण कोठा भाडामा नदिने घरबेटीलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । बबरमहलबाट प्रधान थरका घरबेटीलाई प्रहरीले आइतबार पक्राउ गरेको र सात दिनको लागि म्याद थप गर्न अदालतमा उपस्थित गराइएको थियो ।
तर, जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गर्दै अनुसन्धान गर्न आदेश दिएको दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराइलीले जानकारी दिएका छन् । उनले भेदभाव गर्नेलाई तीन दिन हिरासतमा राख्नु पनि ठूलो उपलब्धि भएको बताएका छन् ।
तनहुँकी रुपा सुनारले घरबेटीविरुद्ध गरेको उजुरीपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले बबरमहलकी प्रधान थरकी घरबेटीलाई पक्राउ गरेको हो । घरबेटीविरुद्धको उजुरीपछि शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका थिए ।
रुपाले थरकै कारण घरभाडामा नदिने घरबेटीविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसूर र सजाय ऐन २०६८ अनुसार कारबाहीको माग गर्दै जाहेरी दर्ता गराएकी थिइन् ।
रुपाका अनुसार प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भाडा दिन इन्कार गरेको रुपाले दर्ता गराएको जाहेरीमा उल्लेख छ ।















प्रतिक्रिया