काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप, निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु गरिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारीसाधन भने जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार असार ८ गतेदेखि लागु हुने गरि निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिने भएको हो । असार ८ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोरबिजोर प्रणालीमा चल्न पाउनेछ । यस्तै पसलहरु भने बार अनुसार सञ्चालन गर्न दिइनेछ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो ।
सातै प्रदेशका आन्तिरिक मामिलामन्त्री काठमाडौंमा, गृहमन्त्री अधिकारीद्वारा विपद् व्यवस्थापनबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरेको दुई दिनपछि सातै प्रदेशका आन्तिरिक मामिला तथा कानुनमन्त्री काठमाडौंमा भेला भएका छन् । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिलामन्त्रीलाई काठमाडौं बोलाएर छलफल गरेका हुन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका छन् ।
उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड–१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी भएको जनाइएको छ । प्रहरी समायोजनको काम छिट्टै सक्ने विषयमा पनि छलफल भएको बताइएको छ । सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले संघीय प्रहरी ऐन चाँडो ल्याउन गृहमन्त्री अधिकारीलाई आग्रह गरेका थिए । उक्त छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।
सभापतिमा दाबी गरेका देउवालाई शक्तिकेन्द्रबाट जोगिन कार्यकर्ताको सुझाव, निधिले पनि थाले तयारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पनि सभापतिको दाबी गरेका शेरबहादुर देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् । सभापति देउवाले शनिबार प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए भने आइतबार वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका हुन् । सभापति देउवालाई गण्डकी र बागमती प्रदेशका नेताहरुले शक्तिकेन्द्रबाट सतर्क रहन सुझाव दिएका छन् । सभापति देउवालाई उपसभापति विमलेन्द्र निधिले पनि आफू सभापतिमा उम्मेदवारी दिने बताएका छन् । जवाफमा सभापति देउवाले निधीलाई सबै केन्द्रीय सदस्यले नेतृत्वमा दाबी गर्ने अधिकार भएकोले दाबी गर्न सकिने बताएका हुन् । आइतबार वाग्मती र गण्डकी प्रदेशका नेताहरुले आगामी महाधिवेशनमा जित सुनिश्चित गर्न विमलेन्द्र निधिलाई सहमतिमा ल्याउन देउवालाई सुझाएका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ मा काठमाडौंमा हुने भएको छ । कांग्रेसको वडा तहको अधिवेशन साउन १२ गतेदेखि गरिने बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको थियो ।
गण्डकीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, सम्झौता कार्यान्वयन नभए सरकारबाट फिर्ता हुने जसपाको चेतावनी

गण्डकी प्रदेशमा मन्त्रिपरिष्द् विस्तारमा ढिलाइ भएको छ । जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण्चन्द्र नेपाली पोखरेलले दुई एक साताभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मुख्यमन्त्री नियुक्त भएकै दिन चारजनाले पनि शपथ ग्रहण गरेका थिए । नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद् दीपक मनाङेले मन्त्रीको शपथ ग्रहण गरे पनि कुन मन्त्रालय लिने भन्ने टुंंगो लाग्न सकेको छैन । यसअघि सरकारमा सहभागी चार दलले मन्त्रालय बाँडफाँट गरेका थिए । जसमा कांग्रेस र माओवादीले चार–चार र जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने सहमति भएको थियो ।
जसपाले अर्थसहित दुई मन्त्रालय दाबी गरिरहेको छ । मुख्यमन्त्रीमा विश्वासको मत लिनुअघि जसपासँग चार बुँदे सम्झौता भएको र उक्त सम्झौता अनुसार नै आफूहरुलाई मन्त्रालय दिनुपर्ने जसपा संसदीय दलका नेता हरिशरण आचार्यले बताएका छन् । मुख्यमन्त्री पोखरेल र जसपाका नेता आचार्यबीच प्रदेशसभामा कायम डबल थ्रेसहोल्ड खारेज गर्न दलीय मान्यता दिने व्यवस्था गर्ने, सरकारलाई निर्देशन गर्न सबै दलबाट २÷२ जना प्रतिनिधिसहितको संयन्त्र बनाउने, मन्त्रीमण्डलमा जसपालाई अर्थसहित दुई मन्त्रालय दिने र प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा दलीय सहमति कायम हुनुपर्ने चार बुँदे सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आचार्यको चेतावनी छ ।
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट निकाले उपचार गरिँदै

भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । उपचारमा संलग्न चिकित्सकलाई उदृद गर्दै खनालका स्वकीय सचिव कृष्ण भट्टराईले खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका हुन् । ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको उनल जानकारी दिएका छन् । अस्पतालमा भर्ना भएदेखि अक्सिजनको सपोर्टमा उपचार भइरहेको अहिले अक्सिजन सपोर्ट निकालेर उपचार थालिएको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्ने चिकित्सकले जनाएका छन् ।
विपक्षी दलद्वारा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध, सरकारको वैधतामाथि प्रश्न

लुम्बिनी प्रदेश सभाको बैठक विपक्षी दलहरुले अवरुद्ध गरेका छन् । बजेटमाथि आइतबारदेखि प्रदेश सभामा छलफलका लागि कार्यसूची तय भए पनि बैठकको सुरुमै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले बोलेपछि विपक्षी दलले बैठक बहिष्कार गरेका थिए । त्यसपछि ३ बजेसम्मका लागि स्थगित भएको बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित भएको जानकारी दिइएको हो । लप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको वैधतामाथि प्रश्न उठाएको थियो ।
प्रतिपक्षी दलका प्रमुख सचेतक फकरुद्धिन खानले राजीतिक रुपमा सरकारको वैधताको टुंगो नलाग्दासम्म र आवश्यकताभन्दा कार्यकर्ता र वितरणमुखी बजेट परिमार्जन नहुँदासम्म सदन चल्न नदिने निर्णय भएको बताएका हुन् । असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेका थिए । विपक्षी दलहरुले अल्पमतको सरकारले ल्याएको बजेटमा छलफल हुन नसक्ने बताएका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार ४४२ कोरोना संक्रमित थपिए, तीन हजार ४५६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा दुई हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ४२१ र चार हजार २४९ एन्टिजेन परीक्षणमा एक हजार २१ जना गरी दुई हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा देशभर कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । यसअघि शनिबार कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने शुक्रबार ४० जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा थप तीन हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । हालसम्म देशभर ६ लाख २१ हजार ५६ जनामा कोरोना संक्रमण भएको छ भने आठ हजार ७२६ जनाको मृत्यु भएको छ ।
साताको पहिलो कारोबार दिन नै नेप्से घट्यो, १२ अर्ब पनि भएन कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नै नेप्सेमा भिषण पहिरो गएको छ । नेप्से आज ६३ दशमलव २८ अंकले घटेर दुई हजार ९१४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६१ अंकले घटेर पाँच सय २८ दशमलव ५१ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको एक लाख २८ हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ७३ लाख ४४ हजार पाँच सय ११ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुई सय ८९ रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ३५ दशमलव ४२ अंकले घटेर १९ सय ३५ दशमलव ५४ अंकमा झरेकोमा निर्जिवन बीमा समूहको सूचक पनि दुई सय ७९ दशमलव २५ अंकले घटेर १४ हजार आठ सय ५५ दशमलव १८ अंकमा झरेको छ ।
इरानमा इब्राहिम रईसी राष्ट्रपति निर्वाचित हुँदा इजरायललाई तनाव

इरानमा कट्टरपन्थी नेता इब्राहिम रईसी राष्ट्रपति निर्वाचित भएका छन् । उनी राष्ट्रपति बन्दा इजरालयलाई भने तनाव बढेको छ । इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लियोर हाइयातले रईसी अहिलेसम्मकै सबैभन्दा कट्टरपन्थी राष्ट्रपति रहेको टिप्पणी गरेका छन् ।
रईसीले इरानमा परमाणु गतिविधिलाई बढावा दिने दाबी गरेका छन् । रईसी अगस्तबाट इरानको राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । वरिष्ठ न्यायाधीशसमेत रईसी रूढिवादी विचारधाराका व्यक्ति हुन् । राजनीतिक कैदीलाई मृत्युदण्डको सजायको फैसला पनि उनले गरेको दाबी गरिन्छ । उनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । इरान र इजरायलबीच लामो समयदेखि युद्ध चलिरहेको छ । यसमा दुबै देश एक अर्काविरुद्ध जवाफी कारबाही गर्दै आएका छन् । यद्यपि हालसम्म दुबै देश पूर्णकालीन युद्धबाट बच्दै आएका छन् । केही महिनाअघि मात्र यी दुबै देशबीच तनाव बढेको थियो ।
देशभर मनसुनी वायुको प्रभाव, प्रदेश १, २, लुम्बिनी र वाग्मतीका नदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, लुम्बिनि प्रदेश तथा बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, लुम्बिनि तथा वाग्मती प्रदेशका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।















प्रतिक्रिया