नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एस छोटो समयमै भताभूंग हुने अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र नेता झलनाथ खनालको सम्बन्ध नमज्जासँग चिसिएको खबर बाहिरिएको छ ।
पार्टीको सचिवालय बैठकबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री बनाउँने निर्णय कार्यान्वयन हुन नसके पछि नेकपा एस भित्र आन्तरिक बिवाद चुलिएको छ । पार्टीका नेता झलनाथ खनाल पार्टी अध्यक्ष माधव कुमार नेपालसँग फायर भएका छन् ।
पार्टीले निर्णय गरिसकेपछि कुनै पनी हालतमा व्याक हुने नहुने अडान खनालले राखेका छन् भने अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डसँग भेटपछी मन्त्री फेर्न प्रस्ताव कार्यान्वयन नगर्न सहमत भएका छन् । यहि कारण नेपाल र खनालको सम्बन्ध चिसीएको बताइन्छ ।
एस पार्टीको सचिवालय बैठकले मन्त्री फेर्ने भनेर गरेको निर्णय नेता झलनाथ खनालले बैठकबाट निस्कँदै गर्दा पत्रकारहरूसँग मन्त्री हेरफेरको निर्णय सार्वजनिक गरेका थिए । अहिले निर्णय परिपक्क नभइ किन सार्वजनिक गरेको भन्दै उल्टै माधव नेपाल निकटमा नेताहरुले उल्टै खनालको आलोचना गर्न थालेका छन् ।
खनालले सूचना चुहाएपछि अध्यक्ष नेपालले पनि ‘यो नियमित प्रक्रिया भएको’ भन्दै मन्त्री नियुक्ति गर्दा नै ‘६ महिनाका लागि’ भनिएको प्रष्टीकरण दिन थाले । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि सो पार्टीका केही मन्त्री भने आफ्नो कार्यकालको समीक्षा गर्न थाले । नयाँ नियुक्त भएका भनिएका मन्त्रीहरूले बधाई खान थाले । परिस्थिति यो हदसम्म अघि बढिसक्दा अध्यक्ष नेपाल भने यो निर्णयबाट पछि हट्न बाध्य बने । कारण थियो– गठबन्धनका अन्य दलहरूको असन्तुष्टि ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि मन्त्रालयगत छलफल जारी रहेको बेला मन्त्री फेरबदल गर्न नसकिने भन्दै नेपाललाई केही दिन कुर्न आग्रह गरे । गठबन्धनका अन्य दलले पनि मन्त्री हेरफेरमा हतार नगर्न आग्रह गरेपछि माधव नेपाल आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका थिए ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय गठबन्धनले उल्ट्याउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय पार्टीको सार्वभौम अधिकार रहेको भन्दै गठबन्धनले हस्तक्षेप गर्दा अध्यक्ष निरीह बनेको आरोप लगाएका छन् ।
उनले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै यसबाट दायाँबायाँ नहुने बताए । यो प्रकरणलाई लिएर नेपाल र खनालबीच असन्तुष्टि बढेको छ । खनालले अध्यक्ष नेपाललाई तत्काल पार्टीको निर्णय कार्यान्वयन गर्न दबाब दिएका छन् ।
त्यसो त खनाल पछिल्लो समय सत्ता गठबन्धनप्रति असन्तुष्ट रहँदै आएका छन् । एमसीसी प्रकरणपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट उनलाई चुनावी मतपरिणामले थप चिढ्याएको थियो । त्यसमाथि प्रधानमन्त्री देउवाकै बलबुताले आफ्नो पार्टीले नियुक्त गरेका मन्त्रीलाई शपथ खुवाउने प्रक्रिया नै रद्द भएपछि खनाल सत्ता गठबन्धनको विकल्प खोज्नुपर्ने बताउन थालेको उनी निकट स्रोतले बतायो । पछिल्लो समय खनालले वाम एकतामा पनि जोड दिने गरेका थिए ।




















प्रतिक्रिया