Logo

प्रमुख समाचार

कांग्रेसलाई भोट हालेका गोपाल हमालले देउवालाई भेटे



स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर बिजयी भएका तर जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई भोट हालेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

गृह प्रदेश भ्रमणका क्रममा धनगढी पुगेका प्रधानमन्त्री देउवालाई भेट्न समय लिएर उनी बसेकै होटलमा हमाल पुगेका थिए । भेटमा उनले धनगढीका समस्या र प्रधानमन्त्री देउवाले केन्द्र सरकारबाट गरिदिए हुने भनेर विभिन्न मागहरु पनि गरेको बताइएको छ ।

प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्र समेत पर्ने धनगढीमा विकासका लागि हमालले देउवा समक्ष विभिन्न योजनाहरु पनि सुनाएका थिए । भेटमा देउवासँग पत्नी राणा पनि सहभागी थिइन् । हमालले प्रधानमन्त्री देउवासँग सहकार्य गरेर जान आफूले चाहेको बताएका थिए ।

भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन् । ‘धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,’ मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्माणका लागि पनि बजेट माग गरेको छु ।’

भेटमा प्रधानमन्त्री देउवाले धनगढीका मेयर हमालले राखेका माग सम्बोधनका लागि संघीय सरकार पूर्णरुपमा सहयोग गर्ने बताएका छन् । देउवाले हमाललाई बधाइ सहित सफल कार्यकालको लागि शुभकामना पनि दिएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा गठबन्धनका उमेदवार हराउँदै हमालले स्वतन्त्र रुपमै धनगढी उपमहानगरपालिकाको मेयरमा बाजी मारेका थिए । जिल्ला समन्वय समितिको निर्वाचनमा भने कांग्रेस नेतृत्वको गठबन्धनलाई भोट दिएपछि उनको आलोचना भइरहेको छ । सुरुमा तटस्थ बस्छु भनेका हमाल निर्णायक अवस्थामा भने कांग्रेस तिर ढल्किएका थिए ।

प्रकाशित मिति : असार ४, २०७९ शनिबार  ३ : १५ बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।