Logo

टिप्पणी

आज दिनभरका खास खबर अनलाइनपाना बुलेटिनमा कहाँ के–के भए ?



कांग्रेसका तीन कोइरालाको लन्च मिटिङ्ग, को बन्ला सभापतिको साझा उम्मेदवार ?

१४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसको सभापतिमा आकांक्षी देखिएका कोइराला परिवारका तीन नेताले ‘लञ्च मिटिङ्ग’ गरेका छन् । महाराजगञ्जस्थित महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला पुगेका हुन् ।

कोइराला परिवारका तीन नेता एकै ठाउँमा जम्मा हुनुलाई कांग्रेस वृत्तमा महत्वका साथ हेरिएको छ । ‘खास केही योजना होइन, पारिवारिक भेटघाट हो । डा. शसांक कोइरालाको सचिवालयले भन्यो नियमित लन्च मिटिङ्गजस्तो मात्रै हो  ।

हाल महामन्त्री रहेको डा. शशाङ्क कांग्रेसका संस्थापक नेता बीपीका छोरा हुन् । डा. शेखर नोना कोइरालाका सुपुत्र हुन् भने सुजाता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । ‘आजै खास निर्णय हुने त कुरा होइन । तर, तीन नेता भेट हुँदा महाधिवेशनबारे छलफल हुने कुरा त सामान्य नै भयो,’ डा.शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भनेका छन् । संस्थापनइत्तर समूहबाट महाधिवेशन एकैजना उम्मेदवार बनाउने विषयमा छलफल भइरहेका बेला कोइराला परिवारका तीन आकांक्षी एकै ठाउँमा बसेर छलफल गर्न लागेका हुन् ।

महामन्त्री कोइराला आफूले मात्रै सभापति देउवालाई पराजित गर्न सक्ने बताउँदै आएका छन् भने केन्द्रीय सदस्य डा. शेखर कांग्रेसको रुपान्तरण र भविष्यका लागि आफू सक्षम रहेको दाबी गरिरहेका छन् । उनी १३ औँ महाधिवेशन लगत्तैदेखि नै सभापतिको तयारीमा जुटेका छन् । उनले एक कार्यकाल मात्र पार्टी हाँक्ने र प्रधानमन्त्री आफू नबन्ने घोषणा नै गरेका छन् ।

नेतृ कोइरालाले पनि अहिलेसम्म कांग्रेसको सभापतिमा महिला नचुनिएको भन्दै आफू सभापतिका लागि सक्षम रहेको दाबी गरिरहेकी छिन् । एकले अर्काको साथ खोजिरहेका बेला तीन नेता एकै ठाउँमा भेला भएका बखत कांग्रेसको नेतृत्वमा कोइराला विरासत उभ्याउने विषयमा छलफल हुने र एक जनामात्रै उम्मेदवार बन्नेबारे योजना बन्न सक्ने नेताहरुको भनाइ छ । एकै उम्मेदवार चयन गर्नै भनिएपनि कसले कसलाई सभापतिमा छोड्ने वा सघाउने भन्ने विषयमा सहमति गर्न भने सजिलो नभएको स्वयम् नेताहरुले नै स्वीकार्ने गरेका छन् ।

\यस्तै, हालै कांग्रेसको नेतृत्वमा बनेको सरकारमा आफ्नो समूहबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

यादव पक्षले जसपाको आधिकारिकता पाउने सम्भावना, ठाकुर समूहमा छटपटी

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र–बाबुराम समूहले पाउने देखिएको छ । पार्टीको कार्यकारिणी समितिमा कुल ५१ सदस्य मध्ये २६ सदस्य यो समूहसँग रहेको बताईन्छ । पार्टी विभाजन हुने अवस्था आएमा केन्द्रीय समिति र संसदीय दल दुवैमा बहुमत देखाउन सक्ने समूहले आधिकारिकता पाउने व्यवस्था राजनीतिक दल सम्बन्धी ऐनले गरेको छ भने अधिकतम ४० प्रतिशत सांसद र सदस्यहरुले चाहेमा छुट्टै दलको मान्यता पाउने व्यवस्था छ ।

केन्द्रीय कार्यकारिणी समितिमा बहुमत र्पुयाएको यो समूहले संसदीय दलमा समेत बुहमत र्पुयाउने देखिएको छ । निवर्तमान प्रधानमन्त्री केपी ओलीको समर्थन गरेको जसपाको महन्थ ठाकुर समूहमा पहिरो जान थालेपछि यादव समूहलाई चिट्ठा पर्ने देखिएको हो । 

ओलीको समर्थनमा बहुमत जुटाउन अग्रसर हुँदा ठाकुरलाई साथ दिएका सांसदहरुले ओली सरकार ढलेपछि ठाकुरको साथ छोड्न थालेका छन् । ओली नेतृत्वका सरकारमा थाकुर समूहबाट ९ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका थिए । मन्त्री बनाउँदा ठाकुर र राजेन्द्र महतोले एकलौटी गरेको भन्ने आरोप लागेको थियो ।

पार्टीमा योगदान दिएकालाई भन्दा आफ्नो वरिपरि घुम्ने नेताहरुलाई ठाकुर र महतोले पठाएको असन्तुष्टहरुको आरोप थियो । हाल लोकतान्त्रिक विधि र प्रक्रियाको पक्षमा लाग्ने भन्दै उनीहरुले ठाकुर समूहको साथ छोड्न थालेका छन् । 

जसपाका कुल ३२ सांसद मध्ये ठाकुर समूहमा २० सांसद रहेका थिए । उपेन्द्र–बाबुराम समूहमा १२ सांसद रहेकोमा शनिबार ४ सांसद यस समूहको बैठकमा सहभागी भएका छन् । यादव समूहको पार्टी कार्यालय बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद शाह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हन् ।

ठाकुर समूहबाट बिद्रोह गर्ने सांसद श्रोतका अनुसार अरु पनि ४ जना सांसदहरुले उक्त समूह छोड्ने तयारी गरेका छन् । रुही नाज र रामदुलारी खतवनी उपेन्द्र समूहमा आउने पक्कापक्की भएपनि अर्का २ सांसदको नाम भने खुल्न सकेको छैन । यसरी हेर्दा उपेन्द्र समूहमा १८ सांसद पक्का भईसकेका छन् भने अब २ जना आउँदा २० जना हुन्छन् । 

जसपाको आधिकारिकता कुन समूहलाई दिने भन्ने विषयमा फैसला गर्न श्रावण ३ गते आइतबार निर्वाचन आयोगको इजलास बस्ने तयारी भएको छ । त्यसको अघिल्लो दिन यति ठूलो संख्याका सांसदहरुले ठाकुरको साथ छोड्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाली कांग्रेस बैठकको निर्णय : तल्लो तहका महाधिवेशनको मिति हेरफेरबारे छलफल

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता, सदस्यता छानबिन समितिका सदस्यमाथि भएको हातपात, तल्ला तहका अधिवेशनहरुको मिति हेरफेर लगायत विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा केन्द्रीय महाधिवेशनको कार्यतालिका संशोधन नगरी तल्ला तहका अधिवेशनहरूको कार्यतालिका संशोधन गर्ने बारे पनि छलफल हुने महतले जानकारी दिए । तर कार्यतालिका हेरफेरबारे निर्णय भने केन्द्रीय कार्यसमितिले मात्र गर्न सक्नेछ । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको हातपातको सन्दर्भमा पनि छलफल हुनेछ । क्रियाशील सदस्यताको बारेमा असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले घिमिरेलाई शुक्रबार हातपात गरेका थिए ।

बैठकले शुक्रबार सह–महामन्त्री डा. महत र डा. मिनेन्द्र रिजाललाई दिइएको निर्वाचन निर्देशिकाको सन्दर्भमा पनि छलफल गरेर निर्णय लिनेछ । नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन गर्दैछ । यसअघि कांग्रेसले पार्टीको महाधिवेशन कार्यतालिका पटक–पटक संशोधन गर्दै आएको छ । डेढ महिनाभित्र कांग्रेसले महाधिवेशन नगरे पार्टीको अस्तित्व संकटमा पर्नेछ ।

फेरि जुट्यो विघटित एमाले कार्यदल, विष्ट भन्छन्–पार्टी एकता हाम्रो ‘प्राथमिकता’

एमालेको आन्तरिक समस्या समाधानका लागि भन्दै विघटित एमाले कार्यदल फेरि जुटेको छ । कार्यदलका १० सदस्यहरुबीच शनिबार(आज) पनि सिंहदरबारमा वार्ता भएको हो । नेता सुवासचन्द्र नेम्वाङ्गले भने— ‘१० बुँदे प्रस्तावनालाई पार्टीले अनुमोदन गरिसकेको अवस्थामा अब कसरी पार्टीलाई एकताबद्ध गर्न सकिन्छ भन्नेबारे हामीले छलफल गर्यौँ । यी १० बुँदालाई टेकेर कहाँनेर मिलन बन्दु भेटिन्छ भन्नेमा छलफल भयो । निष्कर्षमा पुग्न समय लाग्ला ।’

यसअघि शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले १० बुँदे प्रस्तावनालाई अनुमोदन गर्दै वार्ता टोलीलाई विघटन गरेको थियो । कार्यदल विघटन भएपनि सहमतिका लागि भन्दै सदस्यहरु पुनः जुटेका हुन् । नेता गोकर्ण विष्टले भने– ‘आजको हाम्रो गम्भीर सरोकारको विषयमा भनेको नै पार्टी एकता हो । यसकै विविध पक्षबारे हामीले छलफल गर्यौँ । १० बुँदे प्रस्तावनालाई नै टेकेर सहमति गरौँ, पार्टीलाई एक बनाएर अगाडि लैजाऔं भन्ने भयो । यही बारेमा हामीले थप छलफल पनि गर्नेछौँ ।’

वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय एमालेको सहयोगले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र थप संकट चुलिएको छ । यो अवस्थामा नेपाल पक्षले देउवालाई विश्वासको मत दिने बताउँदै आएको छ भने शुक्रबारको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

तर, नेता विरोध खतिवडा भने देउवालाई विश्वासको मत दिन पाउने जिकिर गर्छन्, भन्छन्- ‘सर्वोच्चले नै भनेको छ । हामीलाई कुनै ह्वीप पनि लाग्दैन । हामी देउवाजीलाई विश्वासको मत दिन्छौँ ।’

पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु 

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् ।

अत्याधिक वर्षाको कारण युरोपमा बाढी, १५३ को मृत्यु

अत्याधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।
जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ ।  यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । 

देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना
 
देशभर मनसुनी वायुको प्रभावले गर्दा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको  सम्भावना रहेको छ ।

यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा  प्रदेश १ का थोरै  स्थानहरुमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान शाखाले उल्लेख गरेको छ । 

 

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १९:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।