देशमा कारोना महामारीको दोश्रो लहर व्यापक बन्दै गर्दा सरकारले जनतालाई २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको थियो । क्याम्पस, विद्यालय, सभा-सम्मेलन स्थल, मनोरञ्जन स्थल तथा धार्मिक मठ मन्दिरहरु पूर्ण रुपमा बन्द भइसकेका थिए । जनतालाई लगभग ‘बन्धक’ दैनिकीमा राखेको सरकारका विशिष्ठहरुले भने सयौंलाई जम्मा पारेर त्यही बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरे ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले ९ तले धरहरा भत्काएको उक्त ठाउँमा निर्माण गरिएको २२ तले धरहरा तत्कालीन प्रधानमन्त्री ओलीले वैशाख ११ गते उद्घाटन गरे । ओलीले त्यसरी हतारमा उद्घाटन गरेको देख्दा धेरैले भूकम्प गएकै सम्झनाको दिन पारेर वैशाख १२ गतेदेखि धरहरा आरोहण गर्नको लागि सर्वसाधारणलाई खुला गरिने आशा गरेका थिए ।
प्रधानमन्त्रीले धरहरा उद्घाटन त गरे तर महामारी फेलिसक्यो, कहिलेदेखि चढ्न पाइएला ? यस्ता प्रश्नहरु सुनिने गरेका थिए । तर ओलीले धरहरा उद्घाटनमा समेत शक्तिको चरम दुरुपयोग गरेको खुलेको छ । आधा पनि निर्माण नसकिएको धरहरामा दुईवटा लिफ्ट राख्ने योजना भएपनि एउटा मात्र लिफ्ट २२ औं तलामा हतार-हतार पुर्याउन लगाएर ओली उक्त तलामा पुगेर उद्घाटनको नाटक मात्र गरिएको रहस्य खुलेको हो ।
निर्माण पूरा नगरिएको धरहरा सरकारलाई हस्तान्तरण गर्न २०७८ पुस १० गतेसम्मको म्याद थप गरिएको छ । त्यसपछि पनि ६ महिना थप गरिने धरहरा निर्माण श्रोतले बताएको छ । आफ्नो नाम नखुलाउने शर्तमा एक अधिकारीले प्रधानमन्त्रीले गैरजिम्मेवार तरिकाले निर्माण नसकिएको धरहरा उद्घाटन गरेको भन्दै यतिबेला चर्को आलोचना हुन थालेको छ ।
निर्माण नसकिँदै प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले मनलाग्दी उद्घाटन गरेपछि त्यतिबेलाका परियोजना प्रबन्धक श्याम श्रेष्ठ निर्माणको कामबाट बाहिरिएका थिए । हालका परियोजना प्रबन्धक सञ्जय नकर्मीले २०७८ पुस १० गतेसम्म म्याद भएको र सरकारको बजेटमै ६ महिना थप्न सकिने उल्लेख भएकोले करिब एक वर्ष धरहरा निर्माणको अवधि नै रहेको बताए । निर्माण नै नसकी किन उद्घाटन गर्न हतार गरेको त ? भन्ने अनलाइनपानाको प्रश्नमा नकर्मीले ‘प्रधानमन्त्रीको रहरले उद्घाटन गरिएको’ बताए । देशको कार्यकारी प्रधानमन्त्रीले गरेको कार्यमा आफूहरुले बोल्ने अधिकार नभएको तर्क नकर्मीको छ ।
ओलीले निर्माण सकियो भन्दै ३ महिना अघि उद्घाटन गरेको धरहराको हाल धमाधम निर्माण कार्य भइरहेको छ । हाल धरहरामा दैनिक २ सय ५० जना श्रमिकहरुले काम गरिरहेका छन् । धरहरामा हाल दुई वटै लिफ्ट निर्माणको काम करिब सकिएको छ ।
कोरोना संक्रमणको तेस्रो भेरियण्टको चर्चा चलिरहेको हुँदा यदि निर्माणमा अवरोध आएमा धरहरा निर्माणको सकिने मिति अनिश्चित छ भने कुनै अवरोध नभएमा पनि एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ ।
धरहरा निर्माण र प्रधानमन्त्रीको भ्रमपूर्ण उद्घाटनका बारेमा जानकारी लिन राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका प्रवक्ता तथा उपसचिव भगवान अर्याल र सहप्रवक्ता तथा सूचना अधिकारी रहेका उपसचिव मनोहर घिमिरेलाई पटक-पटक सम्पर्क गर्न खोज्दा दुबै जनाको फोन उठेन ।
धरहरा निर्माण भइरहेका तस्बिरहरु :





































तस्बिरहरु : दिनेश धिताल





















प्रतिक्रिया