Logo

अन्तर्वार्ता

संघको कानुनले स्थानीय सरकारको हात बाँधिएको छ : मनोजकुमार साह



देशका मुख्य धार्मिक केन्द्रहरुमध्येको एक जनकपुरधाम उपमहानगरपालिकामा मनोजकुमार साह पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उठेका थिए । स्वतन्त्रबाट जिते पनि आफूलाई काम गर्न कुनै गाह्रोहफ्ठ्यारो नरहेको साह बताउँछन् । नगरमा फोहोर व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिक वयवस्थापनलाई पहिलो प्रथामिकतामा राखेर काम अगाडि बढाएको उनको भनाइ छ । जनकपुरलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका साहसँग अनलाइनपानाका लागि रामनाथ कुँवरले गरेको कुराकानी :

यहाँले जनकपुरमा स्वतन्त्रबाट चुनाव जित्नुभयो । अरु जनप्रतिनिधि सबै दलबाट जितेर आएका छन् । अहिले काम गर्न कति सहज छ ?
मलाई काम गर्न धेरै सहज छ । नेपाली कांग्रेसका ११ साथीहरुले वडा अध्यक्ष जित्दा एमालेले ७ वटा वडा अध्यक्ष जितेको छ । त्यसैगरी जसपा र लोसपाले १÷१ वटा वडामा अध्यक्ष जितेका छन् । यसरी विभिन्न पार्टीबाट साथीहरु जितेर आएका छन् । म ३४ वर्ष नेपाली कांग्रेसभित्र रहेर काम गरेको छु । अहिले कांग्रेसबाट जितेका साथीहरुसँग हामी पहिले पनि संगठनमा बसेर काम गरिसकेका छौं । किनभने म नगरसभापति हुँदा उहाँहरु वडा सभापति हुनुहुन्थ्यो ।

संगठनात्मक दृष्टिकोणले उहाँहरु मबाट नै सञ्चिालित हुनुहुन्थ्यो । यसो हुनाले कांग्रेसबाट जितेका कुनै पनि साथीहरुले मलाई स्वतन्त्र ठान्दैनन् । उहाँहरुले नै मलाई साथ दिएर मत दिएर मलाई जिताएको हो । निर्वाचनमा हामीले गठबन्धनको विरोध गरेको हो । तर हामीलाई जसपाले प्रमुख नदिएपछि हामी कांग्रेसका सबै साथिहरु मिलेर मलाई जिताएकै हो । त्यसो हुनाले काम गर्न एकदम सहज छ ।

त्यसो त तपाईंलाई कांग्रेस नै हो भन्दा दुई मत नहोला !
हो । म त कांग्रेस नै हो ।

जनकपुरधाम उपमहानगरपालिकामा बाढी र डुवानको अवस्था कस्तो छ ?
हाम्रो जनकपुरधाम वडा नम्बर १७ मा कट्राइज टोल छ । त्यहाँ जलाद खोलाको ठर्की छ । त्यो भाँचिएको छ । बाढी आउनु अगावै त्यो हामीले बाँधेका छौं । त्यसले पुरै वडालाई बाढी र डुवानबाट जोगाउँछ । जनकपुर प्रवेश गरेर ८ किलोमिटर जति भित्र कट्राइज, मनोहर पुल, कनपट्टी र ओसरा पर्छ । त्यसमा जलाद खोलाको प्रभाव छ । त्यसयता पनि साना दुईटा नदी छ । हालसम्म ठूलो पानी नपरेकोले बाढी आएको छैन । पानीको बहाव बढ्दा भने किनाराको बस्तीहरु जोखिममा पर्छन् ।

यहाँ एक हप्ता अगाडि पानी नपरेकोले खेती लगाउन सकस भएको थियो । हामीले खेतमा सिचाइँ गर्न दुईओटा खोलामा बाँध नै बाँध्न प¥यो । कुलोहरुको पनि सुधार गरियो । यस अगाडि उपमहानगरमा यस्ता काम हुँदैनथे । तर हामी किसान नै भएकोले किसानको समस्या थाहा छ । हामीले विभिन्न उपाय लागाएर खेतमा सिचाइँ गरियो । सिचाइँकै लागि अरु धेरै योजनाहरु अगाडि सारेका छौं । त्यसो हुनाले हाम्रो नगरमा अहिलेसम्म बाढी पहिरोले खासै क्षति पु¥याएको छैन । १७ नम्बरको ठर्की भाँचिएर क्षति हुने अवस्थामा थियो । तर त्यसलाई हामीले पहिले नै मर्मत गरेर क्षति हुन नदिन सफल भएका छौं ।

यी यस्ता विपद् व्यवस्थापन गर्न हामीले तीनवटा बैठक बसिसक्यौं । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय एउटा समिति छ । त्यस्तै हाम्रो नगरस्तरीय पनि विपद् व्यवस्थापन समिति छ । तर हाम्रोमा बाढी पहिरोको जोखिम भन्दा बढी जनतालाई मलको चिन्ता छ । यसमा नेपाल सरकार चुकेको छ । किसानले समयमा मल नपाउँदा धेरै उत्पादन घट्ने र नोक्सान हुने अनुमान हामीले गरेका छौं ।

कार्यकालको प्रारम्भिक चरणमा हुनुहुन्छ । पालिकामा विषेश गरी कस्ता योजनाहरुलाई महत्व दिनुभएको छ ?
हाम्रो पहिलो प्रथामिकता जनकपुरलाई धर्मिक पर्यटकीय नगरी बनाउने हो । किनभने रामायण, सीता हामीसँग छ । हाम्रो परम्परा धेरै धनी छ । त्यसलाई शुव्यवस्थित गर्न हाम्रो पहल छ । त्यसमा फोहोर, महिला व्यवस्थापन गर्न धेरै चुनौतीको विषय थियो । फोहोर व्यवस्थमपन गर्न हामीले जग्गा छनोट गरिसकेका छौं । यहाँको फुटपाथ पनि व्यवस्थापन गर्नु पर्ने छ । फुटपाथ मान्छे हिँड्नका लागि हो, व्यापार गर्नका लागि हाइन् । त्यसको व्यवस्थापनका लागि पनि हामीले जग्गा छनोट गरेर काम अगाडि बढाएका छौं ।

त्यसैगरी छाडा चौपाय नियन्त्रण गर्नका लागि गौशाला निर्माण गर्न लागेका छौं । ट्राफिक व्यवस्थापनका लागि अब पार्कीङको व्यवस्था गर्नु पर्ने देखिएको छ । त्यसका लागि जग्गा छनोट गर्न हामी अगाडि बढेका छौं । यसमा गुठीबाट जग्गा लिनु पर्ने छ । भूमि आयोग, मालपोत सबैतिरबाट हामी पारदर्शी तरिकाले काम गर्नका लागि अहिले हामीलाई भ्याई—नभ्याई छ ।

यसरी हामीले भौतिक निमार्ण र पुर्वाधारका काममा क्रमबद्ध रुपमा भएका र तत्काल गर्नु पर्ने कामलाई, जनताको आवश्यक्तालाई ध्यान दिएर अगाडि बढेका छौं । त्यसैगरी अहिले संघ सरकारले पालिकामा कृषि क्षेत्र र गैरकृषि क्षेत्र छुट्टाउने जिम्मा पनि हामीलाई दिएको छ । त्यसमा पनि काम अगाडि बढेको छ । हामी उपमहानगरपालिकाको सबै स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर बनाउन लागेका छौं । त्यसो गर्दा आमा र बच्चा दुबैको जीवन जोगिन्छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मुख्य चुनौतीहरु के—के रहेछन् ?
फोहोर व्यवस्थापन गर्न निकै चुनौती थियो । त्यसमा हामीले व्यवस्थापन गर्दै आएका छौं । हाम्रो उपमहानगरपालिका धार्मिक क्षेत्र हो । यहाँ धेरै मेला, महोत्सवहरु प्राय लागिरन्छ । यसलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नु पर्ने दायित्व पालिकाकै हुन्छ । बर्खाको समय छ अगाडि तपाईँले भने जस्तै विभिन्न विपद्हरु आउँछन् । नगरवासीमा सचेतना जगाउनु छ । यी सबै पक्षलाई सच्याउँदै विकास गर्ने छौं । परिवर्तन गर्ने छौं ।

तपाईँसँग उपमहानगरका निमुखा वर्गको समस्या समाधानका लागि कस्ता योजना छन् ?
हामीले उपमहानगरको सम्पूर्ण क्षेत्रलाई समेटेर अगाडि बढ्ने छौं । सबैका माग र आवशयक्तालाई मध्यनजर गरेर काम गर्दै जाने छौं । जस्तो सामुदायिक विद्यालयको गुणस्तर कमजोर भएको छ । त्यहाँ सबैको बालबालिका पढेका हुन्छन् । त्यहाँको पठनपाठनको व्यवस्थापन र भौतिक संरचना दुबै सुधार्न पर्ने भएको छ । सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउँदा पनि नगरवासीको जीवनस्तरमा परिवर्तन आउँछ भन्ने हाम्रो बुझाइ छ । त्यसका लागि हामीले सबै विद्यालयका प्रधानध्यापकहरुलाई बोलाएर दुई पटक बैठक बसिसकेका छौं । हामी सामुदायिक विद्यालयको गुणस्तर बढाउन यो आर्थिक वर्षमा धेरै लगानी गर्दै छौं ।

त्यसैगरी हामी केही समय अगाडि कुलोको कामहरु गर्दा पनि धेरैलाई रोजगारीको अवसर प्रदान गरेको हो । त्यसैगरी हामीले कृषि क्षेत्रमा पनि किसानहरुको जीवनस्तर उकास्नेगरी योजनाहरु ल्याएका छौं । हामीले कृषिमा अनुदानको पनि व्यवस्था मिलाएका छौं । हामीले अब बाख्रा र कुखुरा पालनबाट मासु उत्पादन गर्ने र गाई, भैँसीबाट दुध उत्पादनलाई वृद्धि गर्ने योजना बनाएका छौं । त्यसैगरी खेती र तरकारी उत्पादनका यान्त्रीकरण र आधुनिकीकरण गर्न तालिम प्रदान गर्ने र औजारहरु अनुदानमा दिने योजना बनाएका छौं । यसरी हामी निमुखा गरिबहरुको जीवनस्तर उकास्न उत्पादन र रोजगारीलाई पनि एक साथ अगाडि बढाउँदै छौं ।

पालिका स्तरबाटै भ्रष्टचार मौलायो भन्ने जनगुनासो छ । जनकपुरधाममा भ्रष्टचार हुन नदिन के गर्नुहुन्छ ?
जनकपुरधाम उपमहानगरपालिकाले पहिले रातो किताब निकालेको थिएन । यसपाली हामीले पाँच दिनभित्र रेड बुक निकाल्यौं । यो स्थानीय तहको निर्वाचनबाट पहिलेको भन्दा केही राम्रा जनप्रतिनिधि जनताले चुनेको जस्तो लागेको छ । संघीयता अझ बलियो भएको छ । सबै पालिकाहरुमा राम्रो छ, म भन्दिन तर धेरै पालिकाहरुले पारदर्शी रुपमा काम गरेका छन् । हामी यो कार्यकालमा सबै काम नीति नियममा टिकेर पारदर्शी ढंगले गर्ने छौं । जनताले मत दिएर जिताएका हुन् । जनतलाई धोका कहिल्यै हुन्न ।

संघ र प्रदेशसँग कसरी समन्वय गरेर जानुहुन्छ ?
हामी यहाँको विकासका लागि प्रदेशसँग समन्वय गरिनै रहेका छौं । तर उहाँहरु निर्वाचन आउँदै गरेकोले हाम्रो कुरामा खासै ध्यान दिनुभएको छैन । हामीले संघ सरकारसँग पनि पहल गरिरहेका छौं । सहरी विकास मन्त्रालयको केही योजनाहरु हाम्रोमा कार्यन्वयनमा छ । सहरी विकास मन्त्री मेटमणि चौधरीसँग पनि हामीले भेटेरै यहाँको आवश्यक्ताहरु बताएका छौं । असोजसम्म हामी टेन्डर लगाइसक्छौं र जेठ सम्ममा योजना पुरा गर्ने छौं ।

संघीयतामा हामीले पाँच वर्ष अभ्यास गरिसकेका छौं । यो व्यवस्था खर्चिलो भयो भन्नेहरु पनि छन् । यसमा तपाईँको धाराणा के छ ?
यसमा मेरो स्पष्ट धाराणा छ । संघीयता रहनु पर्छ । हामीले ल्याएको यो व्यवस्था एक दमै राम्रो हो । संघीयता सफल र बलियो नहुँदासम्म देशको विकास हुन सक्दैन । विकेन्द्रीकरण प्रणाली अन्तरगत केन्द्र सरकारले अधिकारहरु प्रदेश सरकारलाई अझै दिनु पर्छ । प्रहरी प्रसाशन, कर्मचारी तन्त्र सबै संघले चलाएको छ । त्यसले गाह्रो भएको छ । प्रदेश र स्थानीय तहको कर्मचारी संघले सरुवा गरिदिन्छ । यसो गर्दा देशलाई कमजोर बनाउने काम संघीय सरकारले गरेको छ । संघ सरकारले ७० प्रतिशत बजेट आफू चलाउँछ र ३० प्रतिशत प्रदेश र स्थानीय तहलाई दिन्छ । आन्तरिक आयस्रोत कसैको राम्रो हुन्छ । कसैको हुँदैन ।

त्यसो हुनाले ७० प्रतिशत बजेट संघले चलाउने भ्रष्टचार गर्ने आरोप प्रदेश र स्थानीयलाई लगाउने उल्टो भएको छ । त्यसो हुनाले संघीयतालाई कमजोर बनाउने काम सघं सरकारले गरिरहेको छ । हामी बहुदल र विकन्द्रीकरण नीतिमा विश्वास गर्दै जबसम्म तल्लो तहहरुमा आवश्यक बजेट दिँदैन । तबसम्म संघीयता सफल हुँदैन । अहिले प्रदेशको भूमिका देखिएन भन्ने छ । यस्तो हुनुमा संघ नै जिम्मेवार छ । प्रदेशमा कति खर्च भयो भन्ने मात्रै हामीले हेरियो, कति अधिकार दिएको छ । त्यो हेरेनौं । संघीय सरकारको कानुनले गर्दा प्रदेश र स्थानीय सरकारको हात बाँधिएको छ । संघीय सरकारले अधिकारको विकेन्द्रीकरण गर्नु जरुरी छ । संघीय सरकारको कानुनले गर्दा संघीयता धरापमा परेको छ । संघीयतालाई सफल बनाउन प्रदेश पनि हुनै पर्छ ।

अन्त्यमा केही भन्नु छ ?
हामी नगरवासीलाई आग्रह गर्न चाहान्छौं । जनकपुरधाम उपमहानगरपालिकाभित्र हामीले फोहोर व्यवस्थापन राम्रोसँग गर्ने योजना बनाएका छौ । म अनलाइनपाना मार्फत नगरवासीलाई यो आग्रह गर्छु कि, तपाईँको घरको फोहोर बाटोमा ननिकाल्नुस् । बोरामा राखेर नगरपालिकाको गाडी जाँदा दिनुस । फुटपाथमा व्यापार नगर्नुस् । चौपाय छाडा नछाड्नुस् । आफूले दुध खाएर गाईलाई सडकमा छाड्नु मानवता होइन । यी सबै काममा नगरपालिकालाई सहयोग गर्न आग्रह गर्छु ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ४ : ५७ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।