Logo

सुदूरपश्चिम प्रदेश

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार



यहाँका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको सिगास गाउँपालिकाको एक विद्यालयका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो ।

शिक्षकद्वयद्ले बलात्कार गरेकी पीडित किशोरी बलात्करपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि घटना बाहिर आएको हो । सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई विद्यालयका शिक्षकहरु खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले बलात्कार गरेको आरोप लागेको हो ।

छात्राका आफन्तले तीनै जनाले छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य बनाएको आरोप लगाएका छन् । ६ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिले बलात्कार गरेको किशोरीले बताएको एक आफन्तले जानकारी दिए । ति आफन्तले भने, ‘घटना पुरानो भन्दै गाउँमै मिलाउने धेरै प्रयास गरे तर अहिले कुरा बाहिर आएपछि विभिन्न खेल भइरहेका छन् ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको र किशोरीसँगको बयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्म रूपमा अध्ययन गरिरहेका छौँ । सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरिरहेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।’ किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीको भनाइ छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

बलात्कारको आरोप लागेका शिक्षक लगायतलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आफन्तले आरोप लागेकाहरुलाई हालसम्म सोधपुछसमेत नगरेको गुनासो गरिरहेका छन् । रासस

प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार  ९ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।